मोरङमा गठबन्धनलाई उम्मेदवार टुंग्याउनै सकस

मोरङमा सत्तारुढ गठबन्धन भागबण्डा नमिलेका कारण उम्मेदवार टुंगो लाग्न सकेको छैन । गत चुनावमा मोरङका १७ स्थानीय तहमध्ये १० वटामा आफ्नो पार्टीले जितेकाले बाँकी सात वटामा मात्रै गठबन्धन हुने काँग्रेसको अडान छ ।

माओवादी केन्द्रले भने राजमार्ग क्षेत्रमा रहेका पथरी–शनिश्चरे र बेलबारी नगरपालिकाका साथै कटहरी, जहदा, धनपालथान र मिक्लाजुङ गाउँपालिका आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।

दक्षिणतर्फका रंगेली र सुनवर्षी नगरपालिकाको साथै जहदा, धनपालथान र कटहरी गाउँपालिकामा आफ्नो पकड राम्रो भएको दाबी जनता समाजवादीको छ । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने हालसम्म खुलेर माग गरेको छैन ।

प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुवै पद लिने र गठबन्धन नगर्ने काँग्रेसको दाउ छ । तर, केन्द्रीय तहमै भरतपुर माओवादी र विराटनगर काँग्रेसलाई दिने सहमति भइसकेकाले विराटनगरको उपमेयर जनता समाजवादीको पोल्टामा जाने स्थति बनेको छ ।

तर, आफनो पकड राम्रो भएको दाबी गरिरहेको जसपाले नमानेको खण्डमा विराटनगरको चुनावी प्रतिस्पर्धा रोचक हुनेछ । किनभने अघिल्लो निर्वाचनमा विराटनगरमा काँग्रेस पहिलो, एमाले दोस्रो, जसपा तेस्रो र माओवादी चौथो भएको थियो ।

यसैबीच बिहीबार बसेको गठबन्धनको जिल्लास्तरीय बैठकले पालिका भागबण्डा गर्न कार्यदल गठन गरेको छ । कार्यदलमा काँग्रेस मोरङ उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रका संयोजक विजय विश्वास, जनता समाजवादीका अध्यक्ष राजकुमार यादव र एकीकृत समाजवादीबाट उद्धव पोखरेल छन् ।

कार्यदलले दुई दिनभित्र सबै पालिकाको वस्तुस्थिति अध्ययन गरेर आ–आफ्नो दाबीसहितको प्रतिवेदन दिनेछ । त्यसैका आधारमा गठबन्धनको माथिल्लो संयन्त्रले पालिका भागबण्डा गर्ने बताइएको छ ।

टिप्पणीहरू