कमल थापाका कार्यकर्ताको घरमा तोडफोड

कमल थापाका कार्यकर्ताको घरमा तोडफोड

नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने तयारीमा रहेको राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित खरालको घरमा हिजोराति आक्रमण भएको हो ।

खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको राप्रपा चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उनले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारबाही गर्न उनले माग गरेका छन् ।

‘स्थानीय प्रशासनले घटनाको तत्काल छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गरोस् । राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ’, उनले भनेका छन् ।

घटनाको जानकारी आएपछि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् । ‘हामीले अनुसन्धान शुरु गरेका छौँ । शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरेका छौँ । अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन’, उनले भने ।

टिप्पणीहरू