उम्मेदवार चयनमा एमालेभित्र लफडा, नेताले विधि मिचेको आरोप

उम्मेदवार चयनमा एमालेभित्र लफडा, नेताले विधि मिचेको आरोप

महोत्तरीको बर्दिबास नगरपालिकामा मेयरको उम्मेदवार छनोटलाई लिएर नेकपा एमालेमा विवाद देखिएको छ । पार्टीको नगर कमिटीका केही नेताले आफू निकटहरुलाई टिकट दिलाउन एकलौटीरुपमा उम्मेदवार सिफारिस गरेको भन्दै अन्य दाबेदारहरूले असन्तुष्टि जनाएपछि विवाद बाहिर आएको हो ।

एमाले नेता गुन्ज खड्काले नगर कमिटीले कार्यकर्ताको भावनाअनुसार निर्णय गर्न नसकेको बताए । नगर कमिटीबाट सिफारिस भएका नाम पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार नभएको उनको आरोप छ । खड्का एमालेमा मेयरको उम्मेदवारका लागि बलियो दाबेदार मानिएका थिए । उनी एमालेका जिल्ला नेताहरुमा तुलनात्मकरुपमा लोकप्रिय पनि छन् ।

‘उम्मेदवारहरूको मूल्याङ्कन तल्लोस्तरको कार्यकर्तालाई जिम्मा दिनुपर्ने हो तर यहाँ त नगर कमिटीले आफूखुशी निर्णय गरियो,’ खड्काले भने । सर्वसम्मतिबाट टुंगिएको वडाध्यक्ष उम्मेदवारको नामलाई पुनः नगर प्रमुखमा समेत सिफारिस गरेर पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई ध्वस्त पारिएको उनको आरोप छ ।

नगरभित्र टेकबहादुर बलाम्पाकी, फाल्गुन सुस्लिङ मगर, चन्द्रलाल क्यापछाकी, केदारबहादुर बस्नेत, कुमार भण्डारी, शारदादेवी थापा, शरद पोखरेललगायतले मेयरका लागि दाबी गरेका छन् । तर, जनाधार भएको र कार्यकर्तामाझ लोकप्रिय नेतालाईभन्दा नेतृत्वले मन पराएका व्यक्तिले टिकट पाउने अवस्था बनेको कार्यकर्ताको गुनासो छ ।

‘यदि पार्टीले मूल्याङ्कन गर्ने हो भने गुन्ज खड्कालाई मूल्याङ्कन गर्नुपर्छ, अनि पार्टीमात्र हैन नगर नै समृद्ध बन्छ,’ बर्दिबास–३ का उमेश खड्का भन्छन् । तीन दशकदेखि राजनीतिमा सक्रिय खड्काले एमालेको सांगठनिक निर्माणमा निक्कै ठूलो भूमिका खेलेका छन् ।

टिप्पणीहरू