यिनलार्ई कसरी दिइरहने पत्नीको दर्जा ?

यिनलार्ई कसरी दिइरहने पत्नीको दर्जा ?

प्रेमी वा प्रेमिकाले धोका दिएर अरुसँगै प्रेम वा यौन साइनो जोड्छन् भने पहिलेको प्रेम सम्बन्ध स्वतः टुटेर जान्छ । बिहेमा यस्तो हुने कि नहुने ? विवाह पनि त विश्वास र प्रेमले नै टिक्ने सम्बन्ध हो । अझ हो यौन बन्धन पनि ।

आफ्नी श्रीमती कुनै परपुरुषसँग प्रेम र यौनमा लिप्त हुन्छे भने श्रीमान््ले उसलाई आफ्नी श्रीमती होइन भन्न पाउने कि नपाउने ? अरुसितैको प्रेम र सहवासमा रमाउने आइमाईलाई कसरी आफ्नी पत्नीको दर्जा दिइरहन सकिएला र ? अझ यहाँ महिलाले नाठोबाट सन्तानसमेत जन्माएकी बताइन्छ । यतिविघ्न भएर पनि महिलाले श्रीमान््बाट अंश लिन बल गरिरहेकी छिन् । अदालतमा अनेक मुद्दा हालेकी छन् ।

चितवनको राप्ती नगरपालिका बस्ने कृष्ण अधिकारी (परिवर्तित नाम) र राधा सेढाईं (परिवर्तित नाम) बीच २०५८ सालमा बिहे भएको हो । एउटा छोरा जन्मिएपश्चात् पति सन् २००७ मा वैदेशिक रोजगारीको सिलसिलामा दुबई जान्छन् । २००९ मा फर्किंदासम्म श्रीमतीसँगको सम्बन्ध सुमधुर नै थियो । पति फेरि २०१२ मा कतार गए । त्यसपछि भने श्रीमतीको बानीमा परिवर्तन हुन थाल्यो । श्रीमान््को फोन नउठाउने, उठाएपनि रिसाएर कुरा गर्ने, अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने र अब मलाई फोन नगर भन्न थालियो ।

कारण, अर्कै पुरुषलाई महिलाले उपपति बनाएकी हुन्छे । राप्तीकै उप्रेती थरका एक पुरुषसित श्रीमती नाजायज सम्बन्धमा छिन् भन्ने विदेशमै सुन्नमा आएपछि कृष्ण कामधन्दा छोडी सन् २०१९ मा नेपाल आए । १९ सेप्टेम्बरमा घर आइपुग्दा श्रीमती घरमा थिइनन् । भोलिपल्ट मात्र घर आएकी पत्नीसँग किन यस्तो गरेको भनी पतिले सोधखोज गर्ने नै भए । त्यसो गर्दा राधाले उल्टै अश्लिल शब्दमा गालीगलौज गर्दै सिसाको गिलास फुटाएर हिर्काइन् । सो क्रममा गुण्डा लगाई तँ र तेरो परिवारको ज्यान लिन्छु भन्ने धम्कीसमेत राधाले दिएको कृष्ण बताउँछन् ।

‘खर्च कटाएर विदेशमा मासिक तीनलाख कमाउँथें,’ कृष्ण भन्छन्, ‘कमाएको पैसा घर परिवारका अरुलाई नपठाएर राधालाई नै पठाउने गर्थें । यता राधाचाहिँ उप्रेतीसँग मोजमस्ती गर्दै हिँडेको देख्ने प्रत्यक्षदर्शी छन् ।’ ती उप्रेती युवक र राधाले सँगै खिचेका फोटो र उनीहरूबीच म्यासेन्जरमा भएको कुराकानीसमेत भेटिएको छ, जसमा एकार्कालाई मेरो बूढो, मेरी बूढी भन्दै कृष्णको ज्यान लिनेसम्मको कुरा भएको देखिन्छ ।

महिलाले यसै वर्ष अदालतमा आफूविरुद्ध अंश र जालसाजी मुद्दा हालेपछि कृष्णले प्रतिउत्तर लेखेर दिइसकेका छन् । महिला र उप्रेतीले सँगै खिचेका फोटो र उनीहरूबीच म्यासेञ्जरमा भएको कुराकानीको प्रिन्टसमेत प्रमाणको रूपमा पेश गरिएको छ । यसरी आफूलाई छल गरी नाठो राखेर हिँड्ने महिला अब आफ्नी श्रीमती नहुने कृष्णको तर्क छ । चितवन जिल्ला अदालतमा अहिले यो मुद्दा विचाराधीन अवस्थामा छ । हेरौं, श्रीमान्बाट कस्तो न्याय हुने हो ?

सम्पूर्ण महिलाहरूको संरक्षणको लागि नेपालको कानुनी व्यवस्थाले महिलाहरूलाई बढी अधिकार दिएको अवस्थामा त्यसको सदुपयोग गर्नुपर्नेमा केही महिलाहरूबाट दुरूपयोग भइरहेको अर्थात् दुष्कर्म तथा विसंगतिमा लागेर उनीहरूले आफ्नो घरपरिवारलाई नै ध्वस्त बनाइरहेको अधिवक्ता रामकृष्ण अधिकारी बताउँछन् । त्यसैले यस्ता मुद्दा दर्ता गर्नुभन्दा पहिले नै महिलाको विषयमा अनुसन्धान गर्न आवश्यक रहेको अधिवक्ता अधिकारीको भनाइ छ ।

टिप्पणीहरू