तनहुँका काँग्रेसीहरुको राजीनामाको ओइरो’

तनहुँका काँग्रेसीहरुको राजीनामाको ओइरो’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा काँग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् ।

दमौलीमा आज पत्रकार सम्मेलन गर्दै व्यास नगरपालिकाको मेयरका आकांक्षी भए पनि टिकट नपाएका काँग्रेस तनहुँ जिल्ला कार्यसमितिका पूर्वसचिव विश्व बास्तोलासहित सात जनाले राजीनामा दिएका छन् ।

शुक्लागण्डकी नगरपालिकाको मेयरका आकांक्षी महेश्वर भट्टराईले पनि राजीनामा दिएका छन् । उनी महासमिति सदस्य समेत हुन् । उनले हिजो शुक्लागण्डकीको मेयरमा बागी उम्मेद्वारीसमेत दिएका छन् ।

यस्तै शुक्लागण्डकीकै काँग्रेस नेता दिपेन्द्र पौडेल, ऋषिराम महतसहित व्यासका चुडामणि दाहाल, दीर्घा थापा र बाबुराम बगालेले पनि आज दमौलीमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।

पौडेलले शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा, महतले वडा नम्बर ८ को वडाध्यक्षमा, दाहालले व्यास नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा र थापाले वडा नम्बर २ को वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएका छन् ।

व्यासको मेयरमा पुराना काँग्रेसी नेता वषराज श्रेष्ठको पनि बागी उम्मेदवारी परेको छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा काँग्रेस नेता मानकाजी श्रेष्ठले बागी उम्मेदवारी दिएका हुन् । तनहुँका काँग्रेसी कार्यकर्ताले मोटो रकम लिएर टिकट वितरण गरिएको आरोप लगाएका छन् ।

टिप्पणीहरू