वीरमान मगर बने बेल्जियमका नेपाली आदिबासी नेता
-केजिन राई
विश्व आदिवासी दिवसको अवसर पारेर आदिवासी जनजाती महासंघ बेल्जियमले शैक्षिक शहर लुबेनमा आइतबार अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले वीरमान घर्तिमगरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिका उपाध्यक्षहरुमा श्रीमती मुना राई, होम तमु, सूर्यनारायण श्रेष्ठ चयन भएका छन् भने महासचिव पेम्बा गेलु शेर्पा सर्वसम्मत भएका छन् ।
त्यसैगरी सचिवमा रबिन राई र श्रीमती यमकुमारी तमुस्यो (उमा) लाई राखिएको छ भने कोषाध्यक्षमा कविता सावदेन (लिम्बु) र सह–कोषाध्यक्षमा कान्छा शेर्पा रहेका छन् ।
सदस्यहरुमा सूर्यबहादुर तमु, श्रीमती निता पुन, ललित पुन, झोरमान तामाङ्ग, सुश्री कला लिम्बु, शेरबहादुर छन्त्याल, लाल तामाङलाई चयन गरिएको छ । बाँकी पाँच जना सदस्य कार्यसमितिले पछि मनोनीत गर्ने बताइएको छ । संस्थापक अध्यक्ष पीजी शेर्पाको प्रमुख अतिथ्यमा सम्पन्न भएको अधिवेशनमा प्रमुख उपस्थित सबै जनालाई वरिष्ठ उपाध्यक्ष श्रीमती मुना राईले स्वागत गरेकी थिइन् । आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको शुभकामना मन्तव्यलाई महासचिव नन्दराज घलेले पढेर सुनाएका थिए ।
कार्यक्रममा शेर्पा किदुङ्ग बेल्जियमका अध्यक्ष सोनाम शेर्पा, तमु समाज बेल्जियमका अध्यक्ष ओमराज तमु, विश्व मगर समाज बेल्जियमका अध्यक्ष लोक रानामगर, तामाङ्ग समाजका अध्यक्ष राम लामा, संयुक्त किराँत समाजका कार्यवाहक अध्यक्ष श्रीमती इन्दिरा चाम्लिङ्ग, प्रथम उपाध्यक्ष कविता सावदेन, थकाली समाजका अध्यक्ष सरोज गौचनलगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए । विश्व आदिवासी आन्दोलनबारे उपाध्यक्ष होम तमुले संक्षिप्त विचार राखेका थिए ।
गत वर्ष कोरोना प्रभावित क्षेत्रमा छ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका सात जातीय समाजलाई प्रमुख अतिथिले प्रशंसापत्र प्रदान गरेका थिए । महासचिवले प्रगति प्रतिवेदन, विधान मस्यौदा समितिका संयोजक होम तमुले विधान मस्यौदा प्रस्तुत गेका थिए ।बन्दसत्रमा नन्दराज घलेको संयोजकत्वमा अनिता लामा र नेत्रबहादुर मगर सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डलले अगामी २०२२–२०२५ कार्यकालको लागि प्रस्तुत गरेको २१ सदस्यीय कार्य समितिलाई सर्वसम्मत रुपमा पारित गरेको थियो ।
नवनिर्वाचित कार्य समितिका सदस्यहरुलाई अध्यक्ष मण्डलका सदस्य अनिता लामाद्वारा सपथ गराइएको थियो भने नि–वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष डिल्ली सुब्बाले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष वीरमान घर्तीमगरले आफ्नो कार्यकालमा आदिवासी जनजाती महासंघ बेल्जियमलाई बेल्जियमको नेपाली समुदायबीच एउटा सशक्त समाजको रुपमा स्थापित गराउने बताउँदै आदिवासीको मूल मुद्दालाई सँधै बोकिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
टिप्पणीहरू