कागजमा सीमित निर्वाचन आयोगको पछिल्लो ध्यानाकर्षण

कागजमा सीमित निर्वाचन आयोगको पछिल्लो ध्यानाकर्षण

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई बैंकमार्फत् मात्र खर्च गर्न निर्देशन दिएको छ । उम्मेदवारले निर्वाचनको क्रममा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोलेर सो मार्फत् मात्र गर्नुपर्ने प्रावधानबारे आयोगले सचेत गराएको हो ।

 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा ‘निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको र आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचन सम्बन्धमा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोलेर सो मार्फत् मात्र गर्नुपर्ने,’ उल्लेख गरिएको छ ।

उम्मेदवारले त्यस्तो खर्च गर्दा खर्च गर्ने जिम्मेवार व्यक्ति तोक्नुपर्ने र तोकिएका पदाधिकारीको नाम र विवरण निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने भनिएको छ । राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्ने छ ।

 

२५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा बैंक वा वित्तीय संस्था मार्फत गर्नु पर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्ने, त्यसरी प्राप्त रकम उम्मेदवार वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्नेलगायतका विषयमा जानकारी गराइएको छ ।

 

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्नपछि सार्वजनिक गरी आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

टिप्पणीहरू