केपी ओलीले भोट माग्ने आधार गुमाइसकेको दाबी

केपी ओलीले भोट माग्ने आधार गुमाइसकेको दाबी

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

पछिल्लो पाँच वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेका कामको बारेमा जनतालाई जानकारी गराउनुपर्ने पनि बताए । महामन्त्री थापाले २०७४ सालयताको पाँच वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोप पनि लगाए ।

अबको पाँच वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बताउँदै महामन्त्री थापाले भने, ’समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली काँग्रेसँग मात्र छ । त्यसैले अबको पाँच वर्ष काँग्रेसले खेर फाल्न चाहेको छैन् ।’

यसपटकको स्थानीय निर्वाचनमा काँग्रेसबाट जित्ने सदस्यहरुले श्रोत, साधनको अपचलन नगर्ने उनको दाबी छ । थापाले कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी श्रोत, साधनको दुरुपयोग नगर्न पनि आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

‘यो पटक हामीले काँग्रेसका साथीहरुलाई भनेका छौँ, जो वडामा लड्दै हुनुहुन्छ, जो नगरमा लड्दै हुनुहुन्छ, उहाँहरुले चुनावमा आफ्नो श्रोत साधन प्रयोग गर्दा याद गर्नुहोला, अबको पाँच वर्ष गएको पाँच वर्ष जस्तो हुँदैन’, थापाले भने, ‘कुनै पनि नेपाली काँग्रेसबाट निर्वाचित भएर आएको साथीले एउटा श्रोत साधन पनि तपाईले अपचलन गर्न पाउनुहुन्न ।’

टिप्पणीहरू