काँग्रेस र एमालेले हेडसरहरुलाई चुनावी मैदानमा उतार्यो
खोटाङको बराहपोखरी गाउँपालिकामा दुई जना पूर्वप्रधानाध्यापक वडाध्यक्षको उम्मेदवार बनेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका पूर्वप्रध्यानाध्यापक ढकबहादुर कार्की र शिवकुमार श्रेष्ठ वडाध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
डाँडाखर्क आधारभूत विद्यालयका प्रधानाध्यापक रहिसकेका कार्कीलाई नेपाली काँग्रेस र शंखेश्वरी माविका श्रेष्ठलाई एमालेले वडाध्यक्षको उम्मेदवार बनाएर प्रतिस्पर्धामा उतारेको हो ।
कार्की र श्रेष्ठ एउटै गाउँका बासिन्दा पनि हुन् । कार्कीसँग २७ वर्ष र श्रेष्ठसँग ३९ वर्ष शिक्षण गरेको अनुभव छ । कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका टंककुमार मगरसँग ९३ मतले पराजित भएका थिए ।
कार्की २०७४ सालमा प्रअबाट राजीनामा दिएर वडाध्यक्षका उम्मेदवार बनेका थिए । काँग्रेसले उनलाई पुनः वडाध्यक्षको टिकट दिएको हो । कार्की वडाध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने घोषणासहित चुनावी अभियानमा निस्किएका छन् ।
श्रेष्ठ भने अवकाशको समय नजिकिँदै गर्दा शिक्षण पेशा त्यागेर पहिलोपटक राजनीतिमा हाम फालेका हुन् । एकै गाउँका दुई पूर्वप्रधानाध्यापक बीचको निर्वाचन परिणामबारे अनेक आकलन भइरहेको छ । तर त्यसको छिनोफानोका लागि ३० वैशाखसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
टिप्पणीहरू