चुनावमा भोट हाल्न नसक्नेलाई अर्कै व्यवस्था
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफैं मत हाल्न नसक्ने अशक्त मतदाताले आफ्नो एकाघरका सदस्यलाई जिम्मा लगाउन पाउने भएका छन् । निर्वाचन आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताका हकमा यस्तो व्यवस्था गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले आफैं मत संकेत गर्न नसक्ने त्यस्ता मतदाताले आफ्नो साथमा आएका एकाघरको परिवारका सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले अनुमति दिनुपर्ने प्रावधान रहेको जानकारी दिए ।
दृष्टिविहीन वा शारीरिक अशक्त मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो वा होइन एकीन गरी अनुमति दिनुपर्ने आयोगले जनाएको छ ।
दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भनेबमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।
कुनै मतदाताको एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगीमात्र भएको प्रवक्ता पौडेलको भनाइ छ ।
टिप्पणीहरू