हटाउन थालियो चुनावी प्रचार सामाग्री

हटाउन थालियो चुनावी प्रचार सामाग्री

सिन्धुपाल्चोकमा पनि निर्वाचन आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन सुरू गरिएको छ । स्थानीय तह निर्वाचनको मतदानको दिन आउन चार दिन मात्र बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाइका साथ लागु गर्न थालेको हो ।

निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न आजदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्धव पुडासैनीसहितको टोली, सुरक्षाकर्मीलगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँका भागमा दलहरूले राखेका पार्टीका झण्डा तथा चुनाव चिह्न हटाउन सुरू गरिएको हो ।

सार्वजानिक तथा निजी सवारी साधनमा राखिएको झण्डा तथा सार्वजानिक घर विद्युतको पोललगायत स्थानमा राखिएका त्यस्ता सामाग्री हटाइएको छ । निर्वाचन आचारसंहितामा सार्वजानिक स्थानमा झण्डा, पोष्टर, निर्वाचन चिन्ह टाँस्न नपाइने व्यवस्था भएकाले सुरक्षाकर्मी परिचालन गरेर हटाउन थालिएको मुख्य निर्वाचन अधिकृत विकास शर्मा रिजालले जानकारी दिए ।

जिल्लामा क्रियाशील राजनीतिक दलहरूसँग बसेर निर्वाचन आचारसंहितासम्बन्धी छलफल समेत गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पटक पटक निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलहरूलाई ताकेता गरे पनि कार्यान्वयन नभएको आयोगले बताउँदै आएको छ ।

बजार क्षेत्रलगायतका सार्वजानिकस्थलमा राखिएको झण्डा र ब्यानर हटाइएको छ । यस्तै, सार्वजनिक तथा निजी गाडीमा राखिएको झण्डासमेत प्रहरीले निकाल्न लगाएको छ ।

टिप्पणीहरू