घरमै पुगेर भयंकर घनचक्कर

घरमै पुगेर भयंकर घनचक्कर

स्थानीय निर्वाचन नजिकिंदै गर्दा कांग्रेसका बागी उम्मेदवारको कारण तनाव झेलेको लमजुङको चारदलीय गठबन्धनले अनेक निर्देशन दिएसँगै बागीहरू धमाधम उम्मेदवारी फिर्ता लिन थालेका छन् ।

दूधपोखरी गाउँपालिकामा नेपाली कांग्रेसका खुशीमान गुरुङ अध्यक्षमा बागी उठेका थिए तर उनको घरैमा पुगेर गत २१ राति माओवादी केन्द्रका नेता तथा लमजुङका संघीय सांसद, गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री तथा लमजुङ माओवादीकी प्रमुख मधुमाया अधिकारी, कांग्रेस सभापति टकराज गुरुङसहितले आगामी संघीय चुनावमा समानुपातिक सांसद बनाउने लिखित प्रतिबद्धता जनाएपछि २२ गते उनले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता गराउन घर पुगेका कांग्रेस, माओवादीलाई गुरुङका श्रीमतीले भन्नु नभन्नु त भनेकै थिइन् श्रीमानलाई समेत नामर्द भन्दै मुखैमा थुकिन् । सो पालिकामा कांग्रेसका अध्यक्ष र माओवादीका उपाध्यक्ष उठेका छन् ।

०७४ मा मेयर मात्र जित्न सफल एमालेका सिंहबहादुर थापालाई राइनास नगरपालिकामा अहिले झन सहज बनेको बताइन्छ । कांग्रेसभित्रैको अन्तरकलह, माओवादीबाट उम्मेदवार बनेकाहरू जनतामा नरुचाइएका पात्र भएको कारण फेरि पनि दुवै हातमा लड्डु पर्लाजस्तो छ । मध्यनेपालमा साविककै मेयर कांग्रेसका रमेश पाँडे गठबन्धनबाट र उपमेयर राजकुमार श्रेष्ठबीच प्रतिस्पर्धा चर्कै पर्ने देखिएपनि पाण्डेसँग असन्तुष्ट कांग्रेसले धोका नदिएको खण्डमा एमालेलाई त्यहाँ जित्न मुश्किल छ । माओवादी केन्द्रको राम्रै प्रभाव, नेकपा एकीकृत समाजवादीको पनि निर्णायक मत भएकाले गठबन्धन बलियो देखिएको छ । तर एमालेका उम्मेदवार श्रेष्ठ निकै शालीन, इमान्दार स्वच्छ छविका कारण मतदातालाई कति प्रभाव पार्छ जित–हार त्यसमा निर्भर पर्छ ।

सुन्दरबजार नगरपालिकामा गठबन्धनका कृष्णप्रसाद कोइराला नेपाली कांग्रेसकै पूर्वसभापति चन्द्रबहादुर कुँवर र मेयरका दाबेदार बद्रीमान श्रेष्ठले दायाँबायाँ नगरे मेयरमा जित्ने अनुमान लगाउन सकिन्छ । बेसीशहर –१० मा बाउँठिएर वडा अध्यक्षको उम्मेदवार बनेका एमालेका चिरपरिचित रमेश घलेलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लाइनमा ल्याएका छन् । घलेले गुरुङको आश्वासन पाएपछि विज्ञप्तिमार्फत २५ गते उम्मेदवारी फिर्ता लिएका छन् ।

बेसीशहर नगरपालिकामा यसपटक गुमानसिंह अर्याललाई पछार्न गठबन्धन दिलोज्यान लगाएर लागेको छ । कांग्रेस अहिले एकढिक्का जस्तै देखिएको पनि छ ।

– अञ्जनकुमार हिमाली

टिप्पणीहरू