विवाह होस् त यस्तो, जसले सामाजिक कुरीति तोड्न सकोस्, विभेदको पर्खाल नाघ्न सकोस्

विवाह होस् त यस्तो, जसले सामाजिक कुरीति तोड्न सकोस्, विभेदको पर्खाल नाघ्न सकोस्

चितवन, तथाकथित दलित र गैरदलितबीचको प्रेम र विवाहलाई अझै पनि हाम्रो समाजमा पचाउन गाह्रो छ । मान्छे सबै एउटै भएपनि नामको पछाडि लेखिने थरकै आधारमा दलित–गैरदलित भनी छुट्याइएको छ । दलितलाई सानोजात र अछूत भन्दै जमानादेखि अवहेलना र थिचोमिचो गरिँदै आएको अवस्थामा पछिल्लो समय छूवाछूत र छिःछिः–दूरदू्रको स्थितिमा केही कमी आएको भएपनि दलितसँगको प्रेम र बिहेबारीलाई अहिलेपनि धेरै गैरदलितहरुले स्वीकार्न सकेका छैनन् । यस्तोमा गाउँ–ठाउँबाटै विस्थापित हुनुपर्ने, कुटिनु–मारिनुपर्ने स्थिति विद्यमान छ ।

तैपनि आँट गरेर यो सामाजिक कुप्रथाको पर्खाल नाघ्दै वैवाहिक सम्बन्धमा जोडिन पवित्र प्रेमजोडीहरु कहिल्यै हार मान्ने छैनन् । चितवनको भरतपुर महानगरपालिकाले गत बिहीबार यसरी अन्तरजातीय विवाह गरेका भर्खरका तीनजोडी नवदम्पतिहरुलाई एक कार्यक्रमकै आयोजना गरी सम्मान गरेको छ । महानगरपालिकाले समाजमा अन्तरजातीय विवाहको प्रोत्साहन तथा अन्तरजातीय विवाह गर्ने जोडीहरुको संरक्षणका लागि ती प्रत्येक जोडीलाई एक–एकलाख रुपैयाँ पनि प्रदान ग¥यो ।

भरतपुर–१८ घर भई हाल भरतपुर–११ मा बस्ने ३० वर्षीय सुरज परियार र भरतपुर–११ की २१ वर्षीया अनुमाया कुमालले गत मंसिरमा बिहे गरेका हुन् । ‘मान्छेको दुईवटा मात्र जात छ, एउटा महिला अर्काे पुरुष, त्यो भन्दा अर्काे मान्छेको जात हुँदैन, मान्छे सानो–ठूलो त उसको सोचविचार र बानीव्यवहारले हुने हो’, अनुमाया भन्छिन्, ‘उहाँसँग बिहे गरेर म एकदम खुशी छु । सायद परिवारले खोजेर अर्काे बिहे गरेको भए यत्तिको श्रीमान पाउँदिन थिएँ ।

अन्तरजातीय विवाह गर्दा पनि यति धेरै खुशी मिल्दो रहेछ । उहाँ र उहाँको परिवारले एकदम माया गर्नुहुन्छ । मेरो परिवारले पनि एकदिन अपनाउनुहुन्छ भन्ने विश्वास छ ।’ आफ्नो लागि घरपरिवार त्यागेर आएकी अनुको सम्पूर्ण कुराको जिम्मेवारी लिएर उनलाई कुनै दुःख हुन नदिने, दुःख परेपनि साथ नछोड्ने सुरजले बताए । भरतपुर महानगरपालिकाले गरेको यो सम्मानले समाजमा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने र जातीय विभेदको खाडल कम हुँदै जाने उनी बताउँछन् ।

भरतपुर–१३ का २७ वर्षीय राजेश विक र भरतपुर–६ की २१ वर्षीया सन्ध्या तामाङ पनि गत मंसिरमै वैवाहिक सम्बन्धमा गाँसिएका हुन् । राजेश आर्मी बन्ने धुनमा रनिङ गर्न जान्थे, सन्ध्या स्कूल पढ्दै थिइन् । यही क्रममा आउँदाजाँदा बाटोमा देखभेट भएर उनीहरुले एक–अर्कालाई मन पराउन थालेका थिए । राजेशसँगको प्रेम सम्बन्धबारे थाहा पाएपछि सन्ध्यालाई उनको परिवारजनले गाली र कुटपिट गरे, ऊसित गइस् भने मरिस् पनि भने । तर डराइनन् सन्ध्या । जातीय अन्धविश्वासको तगारो तोडेरै अगाडि बढ्ने हिम्मत गरिन् र राजेशसँग बिहे गरेरै छाडिन् ।

राजेश देवचुली, दलदलेमा सुन पसलमा काम गर्छन् ।  अहिले उनीहरु दुवैजना उतै बस्छन् । सन्ध्या भन्छिन्, ‘जात हेर्ने होइन, विवाहको लागि मान्छेको सोच–व्यवहार र आनीबानी हेर्ने हो ।’ जातीय विभेदको पुरानो सोचलाई नयाँ पुस्ताले तोड्दै जानुपर्ने राजेशले बताए । ‘उनको परिवारले अपनाइरहेको छैन । मेरो घरमा त राम्रै छ । आउजाउ भइराछ’, राजेशले भने, ‘जातीय विभेद रोक्ने मुख्य कुरा कानुन नै हो । अहिले कानुन बनेपनि राम्ररी कार्यान्वयन भइरहेको छैन । कानुनलाई नै बलियो बनाएर कडाइकासाथ कार्यान्वयन गरिनुपर्छ ।’

अन्तरजातीय विवाह गरेर हिजो भरतपुर महानगरपालिकामा सम्मानित हुने अर्का जोडी हुन्, बद्री बोहरा र सिर्जना विश्वकर्मा । भरतपुर–२ का बद्री र खोटाङ घर भई काठमाडौंमा बस्ने सिर्जनाबीच त गत फागुनमा पारिवारिक सहमतिमा मागेरै बिहे भएको बताइन्छ । दिदीको बिहेमा सिर्जना भरतपुर आउँदा बद्रीसँग चिनजान भएको र फेसबुकमार्फत् सम्बन्ध अगाडि बढेको उनीहरुले बताए ।

‘मान्छे सबै बराबर हो, जातको आधारमा कोही सानो र ठूलो हुँदैन’, बद्रीले भने, ‘मेरो ममी एकदम खुशी हुनुहुन्छ उनीप्रति । यस्तो बुहारी पाएर भाग्यमानी भएँ भन्नुहुन्छ ।’ थरको आधारमा मान्छेलाई दलित र गैरदलित भनी छुट्याइनु नै गलत भइरहेको बताउँदै बद्री भन्छन्, ‘यसरी राज्यबाटै विभेद भइरहेको छ भने समाजमा किन नहोस् ?’

भरतपुर महानगरपालिकामा गठन भएको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिका संयोजक चक्र रुचालले नेपालमा विद्यमान जातीय द्वन्द्व आपसी संघर्षले मात्र समाधान हुन नसक्ने र एकापसमा घुलमिलकै आवश्यकता भएको भन्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन र संरक्षण गनुपर्ने बताए । ‘अन्तरजातीय विवाहले सबै खालका जातजातिबीच घुलमिलको अवस्था बन्ने हुनाले यो महत्वपूर्ण छ’, उनले भने, ‘यसलाई प्रोत्साहन र सुरक्षा दिने दायित्व राज्यको हो ।’

केही वर्ष पहिले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने व्यवस्था राज्यले नै गरेपनि त्यो बीचमै रोकियो । भरतपुर महानगरपालिकामा दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिको आग्रहमा गत वर्षदेखि एकलाख रुपैयाँ दिन थालिएको रुचालले बताए । ‘गत वर्ष पनि ३/४ जोडीलाई सम्मान ग¥यौं’, उनले भने, ‘यो व्यवस्था देशैभरि हुनुपर्छ । पालिका भन्दा पनि राज्यले नै यो काम गर्नुपर्छ ।’

अलिकति पानी खाइदिएर, घरमा एकछिन सँगै बसिदिएर केही नहुने बताउँछन्, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समितिका पूर्वकार्यकारी निर्देशक डा. बुद्धि नेपाली । उनी भन्छन्, ‘रगतबीचको अन्तरघुलनले मात्रै यो जात व्यवस्थाले पैदा गरेको विभेद हल गर्न सक्छौं ।’ आर्थिक, सामाजिक, सांस्कृतिक सराबरी नभई समतामूलक समाजको लक्ष्यमा पुग्न नसकिने भन्दै उनले भने, ‘प्रचण्डले समतामूलक समाजको परिकल्पना गरिरहँदा अब रेनु दाहालको छोरी बुद्धि नेपालीको छोराले मागेर बिहे गर्न पाउने कि नपाउने ?’

जातीय विभेद तथा छुवाछूतमुक्त महानगरको परिकल्पना गरेर भरतपुर अगाडि बढिरहेको र सोही अनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई यो सम्मान कार्यक्रमको आयोजना गरिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । भने, ‘अन्तरजातीय विवाहले जातीय अन्तरघुलन बढाउँछ । विभेदलाई जरैदेखि हटाउन मद्दत गर्छ ।’

यो अन्धविश्वासको अन्त्यका लागि हाम्रो धार्मिक मूल्य–मान्यतामै रुपान्तरण जरुरी देखिएको बताउँदै उनी भन्छन्, ‘धर्मगुरु वा पण्डितहरुले जातीय प्रथा, छाउपडी प्रथा गलत हो, जसले गर्छ, देउता रिसाउनुहुन्छ भनिदिनुभयो भने यो समस्या हराएर जान्छ ।’ विद्यमान परिस्थितिमा पनि आँट गरेर अन्तरजातीय विवाह गर्न सफल भएका ती जोडीलाई सम्मान गर्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘बोल्नु र गर्नु फरक हुन्छ । यहाँहरु समाज रुपान्तरणको अभियन्ता पनि हो । तपाईंहरुलाई हेरेर, तपाईंहरुको सफल दाम्पत्य देखेर अरुपनि अन्तरजातीय विवाहप्रति आकर्षित होऊन्, भोलिका दिनमा अझ धेरै भन्दा धेरै जोडीलाई सम्मान गर्न पाइयोस् ।’

मान्छेको जात महिला र पुरुष गरी दुईवटा मात्रै भएको प्रस्ट्याउँदै भरतपुर महानगरपालिकाकी कार्यबाहक मेयर पार्वती शाह ठकुरीले समाज परिवर्तन गरेर सुन्दर समतामूलक महानगर बनाउन भरतपुर महानगरपालिकाले नमूना काम गरिरहेको बताइन् । ‘हामीले सुरुवात् गरेका छौं, सबै पालिकामा यो कार्यक्रम लागू हुन सकोस्’ उनले भनिन् ।

सम्मानित जोडीहरुलाई उनी भन्छिन्, ‘यहाँहरुले समाजको कुरीति, कुसंस्कार विरुद्ध लड्दै विवाह गर्ने जुन आँट गर्नुभएको छ, अब परिवारलाई पनि सफल बनाउनुस्, परिवर्तनका लागि अझ उदाहरणीय काम गरेर आफ्नो भविष्य उज्ज्वल बनाउन सक्नुस् ।’ कार्यक्रममा भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल लगायत दलित अधिकारकर्मी र केही सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

टिप्पणीहरू