यस्तो छ खनाल र नेम्वाङको ठाउँको खबर

यस्तो छ खनाल र नेम्वाङको ठाउँको खबर

दुई हेभीवेटको जिल्ला इलाममा निर्वाचनको मत परिणाम मिश्रित रूपमा आइरहेको छ । तीन पालिकाको परिणाम आउँदा कांग्रेस अगाडि देखिन्छ । दुई पालिकामा गठबन्धनसहित कांग्रेस र एक पालिका एमालेले हात पारेको छ । मतपरिणाम आउन बाँकीमध्ये दुई पालिकामा गठबन्धनले अग्रता लिइरहेको छ भने पाँच वटामा एमाले अगाडि छ ।

नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग जोडेर यहाँको मतपरिणामलाई हेर्ने गरिएको छ । निर्वाचनपूर्व यी दुवै नेताले मतपरिणाम आफ्नो पक्षमा पार्न ठूलै कसरत गरेका थिए । यसैले यहाँको मतपरिणामलाई यी हेभीवेट नेताहरूको साखसँग जोडेर चर्चा गरिन्छ ।

चुलाचुली गाउँपालिकामा कांग्रेसका राजेन्द्र केरुङले अध्यक्ष जितेका छन् । उपाध्यक्षमा भने एमालेकी दिलकुमारी लिम्बू विजयी भइन् । यता माङसेबुङ गाउँपालिकाको अध्यक्ष एमालेका हेमन्त राईले जितेका छन् । उपाध्यक्ष भने गठबन्धनको तर्फबाट जसपाका विनोद नेम्वाङले जितेका छन् ।

सन्दकपुर गाउँपालिका अध्यक्ष गठबन्धनको तर्फबाट कांग्रेसका तुलाराम गुरुङले जितेका छन् । भने उपाध्यक्षमा नेकपा एसका हरि लुङ्गेलीले जितेका छन् । इलाम नगरपालिकामा एमाले उम्मेदवार तथा पुराना पत्रकार धिरेन चेम्जोङलाई पछि पार्दै कांग्रेसका केदार थापा जितको नजिक छन् ।

उपमेयरमा पनि कांग्रेसकी विष्णु लिम्बूले जित्दै छिन् । सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एसका रणबहादुर राई र उपमेयरमा कांग्रेसका दुर्गा बरालको अग्रता छ । माई नगरपालिकाको मेयरमा खम्बासिंह लिम्बू र उपमेयरमा एमालेकै हिमा भण्डारीले अग्रता कायम गरेका छन् ।

देउमाई नगरपालिकाको प्रमुखमा एमालेका सूर्य पोख्रेल र उपमेयरमा एमालेकै पविमाया राईले अग्रता कायम गरेका छन् । फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा एमालेकै कल्पना राईले अग्रता लिइरहेका छन् ।

माईजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका कुशबहादुर लिम्बूले नेकपा एसका जितबहादुर राईलाई पार्दै अग्रता कायम गरेका छन् । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेसका प्रविना राईको अग्रता छ ।

रोङ गाउँपालिकाको अध्यक्षमा एमालेका मेहेरमान तामाङले अग्रता लिइरहेका छन् भने उपाध्यक्षमा पनि एमालेकी विष्णुमाया खवासले अग्रता कायम गरेकी छन् । हालसम्म घोषित परिणाममा जिल्लाका ८१ वडामध्ये बहुमत गठबन्धनले जित हात पारेको छ ।

लेप्चा वडाध्यक्ष

रोङ गाउँपालिका–४ मा राजकुमार लेप्चा विजयी भएका छन् । एमालेका तर्फबाट विजयी उनी लोपोन्मुख लेप्चा जातिको पहिलो र एक मात्र वडाध्यक्ष हुन् । स्वतन्त्रका उम्मेदवार सूर्य राईलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका लाप्चाले ४१० मत र राईले ३५७ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवारले भने ६१ मत मात्र प्राप्त गरेका थिए । वडामा कांग्रेसको क्रियाशील सदस्य नै २०० रहेको बताइन्छ ।

माईजोगमाई गाउँपालिकामा भने एउटा मात्र वडाको मतगणना गर्न बाँकी रहँदा मतगणना स्थगित भएको छ । एमालेका कुशबहादुर लिम्बूले अग्रता लिइरहँदा गठबन्धनले मतगणना रोक्न निवेदन दिएको हो । वडा नं. १ को अध्यक्षमा एमाले र कांग्रेसको मत १०८४ बराबर भएको थियो ।

नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको जन्मघर इलाम नगरपालिका वडा नं. १ साँखेजुङ हो । उक्त वडामा कांग्रेसका वडाध्यक्ष गायत्री बस्नेतको टिमले जित हात पा¥यो । नेकपा एससँग गठबन्धन भएको उक्त ठाउँमा कलम चिह्न लिएका वडा सदस्यले भने हार व्यहोरेका छन् ।

सदस्य भए पनि खनालकै जन्मठाउँमा गठबन्धनबाट कलमबाहक उम्मेदवारको हारलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपा एसका उम्मेदवार इन्द्रबहादुर कटवाललाई एमालेका डम्बरबहादुर गुरुङले जितेका छन् ।

– सटेन्द्र जबेगुबाट

टिप्पणीहरू