पद छाड्दिन भन्नुभयो प्रधानमन्त्रीले

पद छाड्दिन भन्नुभयो प्रधानमन्त्रीले

प्रधानमन्त्रीले फेरि थप्नुभयो– ‘कार्यकाल आधा आधा गर्ने सहमतिबाट पछि हटेर पाँच बर्ष तपाईंले नै चलाउनुस् भनेर मलाई छाडेको होइन ? अहिले मैले किन छाड्ने ?

प्रधानमन्त्री तथा एक नम्बरका अध्यक्ष केपी शर्मा ओलीले हिजो दिउँसो बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले दुबै पद नछाड्ने जनाउ दिदै भन्नुभएको छ, ‘किन छाड्ने ?’

प्रधानमन्त्रीले फेरि थप्नुभयो– ‘कार्यकाल आधा आधा गर्ने सहमतिबाट पछि हटेर पाँच बर्ष तपाईंले नै चलाउनुस् भनेर मलाई छाडेको होइन ? अहिले मैले किन छाड्ने ? के बिराएको छु ?’

प्रधानमन्त्रीले हिजो उठाउनु भएका ती प्रश्न र अस्तिको सचिवालय बैठकमा राखिएको प्रस्तावले नेकपाको आन्तरिक राजनीतिमा कायम रहेको द्वन्द्व र धु्रवीकरणलाई थप बल पुग्ने निश्चित छ । कार्यान्वयन हुन नसक्ने तीनजना अध्यक्षको प्रस्ताव पछिल्लो उदाहरण हो । यसअघि वामदेव गौतमलाई विधान संशोधन गरी पार्टीको उपाध्यक्ष र संगठन विभाग प्रमुख बनाएदेखि नै विवाद शुरु भएको थियो । कुनैपनि नेतालाई पद दिएर मात्रै पुग्दैन । त्यसअनुरुपको जिम्मेवारी पनि दिनुपर्यो । त्यसैको लागि पुनः विधान संशोधन गरियो । त्यसपछि कायम रहेको विवाद हो ‘एउटा व्यक्तिको लागि पार्टीले कतिसम्म गर्ने,अनि केसम्म गर्ने ?’

वामदेवसँग जोडिएको विवाद कायम रहिरहेकै बेला अब फेरि माधव नेपाललाई पनि विधान संशोधन गरेरै पार्टी अध्यक्ष बनाउनुपर्ने अवस्थाको सिर्जना किन गरिँदैछ ? प्रधानमन्त्रीको उक्त प्रस्ताव सबैले माने पनि स्वतः लागू हुनसक्दैन, किनकि पार्टी विधानमा दुईजना अध्यक्षको मात्र व्यवस्था छ ।

तीन जना अध्यक्ष बनाउदा अहिलेको समस्याको दीर्घकालीन समाधान होला त ? अहँ, हुँदैन ।  दुईजना अध्यक्षको व्यवस्थामा त यो रडाको र गाईजात्रा मच्चिरहेको छ । एउटा अध्यक्षले अर्कोलाई कार्यकारीको जामा भिराइदिएको छ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन । यस्तो अवस्थामा एकीकृत पार्टीभित्र एउटै समूहका दुईजना अध्यक्ष भएपछि सबैभन्दा अघिल्लो नं.को अध्यक्षले अहिले जति पनि एकलौटी गर्न सक्दैन,त्यो पक्का छ ।

तीन जना अध्यक्ष बनाउदा अहिलेको समस्याको दीर्घकालीन समाधान होला त ?  दुईजना अध्यक्षको व्यवस्थामा त यो रडाको र गाईजात्रा मच्चिरहेको छ ।

मानिलिउँ, माधव नेपाललाई तीन नं. कै अध्यक्ष बनाइयो भनेपनि स्वभावतः उनलाई पनि जिम्मेवारी दिइन्छ । त्यसपछि भोलिका दिनमा आफ्ना मान्छेलाई पार्टीमा अझ बढी व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी उनीमाथि स्वतः थपिन्छ । त्यसैगरी स्वामित्वको कुरा पनि आउँछ । यस्तो अवस्थामा तीनजना अध्यक्षको व्यवस्था गरिएपछि बाह्रैमास अहिलेकोभन्दा ठूलो बवण्डर र महाभारत भइरहन्छ ।

यसबीच शुभेच्छा राख्ने नाममा एकथरी विदेशी मित्रहरुले  नेकपाको नेतृत्व एकमुखे अँगेनोको सट्टा तीनखुट्टे ओदान बनोस् भन्ने भावनाबाट सुझाव दिएको देखिन्छ । नेकपा,मुलुक र कार्यकर्ता हितको लागि पनि पार्टीमा तीनवटै शक्तिकेन्द्रको समान अस्तित्व उत्कृष्ट हुने उनीहरुको सुझाव हो । उनीहरुले अथ्र्याएका छन् ‘राजधानीबाट केही समयअघि विस्थापित तीन पाँङ्ग्रे कालो टेम्पो (अटो) जस्तो पार्टी नेतृत्व हुनुपर्छ । त्यसोभएमा कथम्कदाचित् एउटा चक्का पड्किए पनि दुईवटाले अड्याउँछ ।’

विदेशी मित्रहरुले  नेकपाको नेतृत्व एकमुखे अँगेनोको सट्टा तीनखुट्टे ओदान बनोस् भन्ने भावनाबाट सुझाव दिएको देखिन्छ ।

महासचिव विष्णु पौडेलले पनि भन्दै आएको विषय हो– ‘माधव कमरेड एक दशकदेखि पार्टी नेतृत्वमा हुनुहुन्न । पछिल्लो प्रस्तावले वहाँलाई पनि पावर एक्सरसाइजको मार्ग प्रशस्त गर्छ । त्यसैले,वहाँ अध्यक्ष हुँदा केही फरक पर्दैन,यो राम्रो अवसर हो ।’तर पर्दापछाडिको सबै खेल बुझेर नेपाल स्वयंले आफू तेश्रो अध्यक्ष नहुने बताइसक्नुभएको छ !

पछिल्लो समय नेतृत्वले आफू अनुकूल हुँदा नेपालको वरिष्ठ नेताको पद खुस्काएकै हो । अनि प्रतिकूल अवस्थामा चाँहि पार्टी पध्दति विपरित पनि आफूसरहको अध्यक्षको प्रस्ताव गर्न पछि नपर्ने चाललाई कुन विशेषण पहिर्याइदिने ? तसर्थ,आवश्यकताको सिद्धान्तलाई अंगाल्दै, दोहोरो,तेहोरो मापदण्ड अपनाउँदै गरिएको पार्टी र राज्य सञ्चालनले नेकपाभित्रको विवादलाई साम्ये होइन,भुसको आगो बनाउने पक्का छ ।

टिप्पणीहरू