नेपालबाटै पुष्टि भयो, कोरोनापछिको शक्ति सन्तुलन

नेपालबाटै पुष्टि भयो, कोरोनापछिको शक्ति सन्तुलन

चीनको चासो बढिरहँदा भारतीय राजदूत विनयमोहन कहाँ–कहाँ पुगे ? दूतावासमा क–कसलाई बोलाएर परामर्श गरे ? केही पत्तो छैन ।

जारी कोरोना संक्रमणले विश्व राजनीतिक रंगमञ्चको परिदृश्यलाई बदल्छ,विद्यमान शक्ति केन्द्र वा  शक्ति राष्ट्रहरुको हैकम अकल्पनीय रुपमा समाप्त हुन्छ भन्ने बहस अहिले विश्वव्यापी छ । यसको पुष्टिचाहिँ एक सातायता नेपालमा विकसित राजनीतिक घटनाक्रममार्फत भएको छ ।

केपी ओलीको सत्तायात्रा रक्षात्मक चरणमा प्रवेश गरिरहँदा नेपालमा सम्भावित राजनीतिक परिवर्तनसँग सबभन्दा चासो हुनुपर्ने थियो, भारतीय दूतावासलाई तर अहिले भारत कहाँ छ ? त्यहाँका काठमाडौंस्थित नवनियुक्त राजदूत विनयमोहन क्वात्रा के गर्दैछन् ? कुनै चर्चा छैन । चिनियाँ राजदूत होउ यान्छी भने प्रधानमन्त्री केपी ओलीसहित प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसँग पालैपालो भेटिरहेकी छन् । जबकि, यसअघिका प्रत्येक राजनीतिक घटनाक्रम विकास हुनासाथ लैनचौर दूतावास नेपाली नेताका दैलोमा घण्टी बजाउन पुगिहाल्थ्यो ।

कोरोना भाइरसको संक्रमणबाट फैलिएको कोभिड– १९ ले युरोप र अमेरिकालाई सुताइरहेको छ । विश्वका सबैजसो मुलुक लकडाउनले ठप्प छन्। तर, चीन त्यो संक्रमणबाट बौरिएको मात्रै छैन, ऊ आर्थिक, राजनीतिक र सामरिक शक्तिकेन्द्रका रुपमा उदय हुँदै ती मामिलामा केन्द्रित हुन थालिसक्यो भन्ने कुरा नेपालकी राजदूतको सक्रियताले पनि बुझाउँछ । किनभने कुनै पनि शक्तिराष्ट्रका लागि विश्व दृष्टिकोण र भूमिका तय गर्नुअघि सघन छिमेकीलाई दुरुस्त राख्नु पहिलो कर्तव्य हुन आउँछ । त्यसमाथि नेपाल आर्थिक, राजनीतिक दृष्टिले कमजोर मुलुक ।

युरोपेलीदेखि भारतीयसम्मले समय–समयमा चीनविरोधी स्वार्थसिद्ध गर्दैै आएको पृष्ठभूमि । अनि, आधा भूभाग तिब्बतसँग सर्लक्कै जोडिएको मुलुक । नेपालसँग यस्तै भूभागदेखि सामाजिक र सांस्कृतिक स्थिति भारतको पनि हो । यसकारण यहाँको राजनीतिक उथलपुथलसँग ती दुई देशको सरोकार हुनुलाई  आश्चर्य मान्नु हुँदैन । तर, शान्त स्वभावको मानिने चिनियाँ कूटनीति अहिले एकाएक यसरी सक्रिय भयो कि, उसलाई नेपालको सानोभन्दा सानो मामिलासँग पनि निकै ठूलो चासो हुन थाल्यो ।

यो ‘पिन ड्रप साइलेन्स’, अर्थात् एउटा सानो त्यान्द्रो भुइँमा झर्दाको शून्य आवाजजस्तै स्थितिलाई पनि सुन्न सक्ने सामथ्र्य चीनले राख्न थालेको रहेछ भनेर बुझ्न सकिन्छ । किनभने, नेपालको अहिलेको राजनीतिक तरंगको आखिरी परिणाम कुनै प्रतिपक्षी वा गैरनेकपाको पक्षमा जाँदैन । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा आएको सामान्य उतारचढाव हो । प्रचण्ड, झलनाथ, माधव, वामदेव– जो प्रधानमन्त्री भएछन् भने पनि चीनलाई आपत्ति हुनुपर्ने स्थिति होइन । तर,चासोचाहिँ बढेको छ । चीनको चासो बढिरहँदा भारतीय राजदूत विनयमोहन कहाँ–कहाँ पुगे ? दूतावासमा क–कसलाई बोलाएर परामर्श गरे ? केही पत्तो छैन । भारतभन्दा ठीक उल्टो, अर्थात् केही काम गरिहाले पनि प्रचारभन्दा टाढै रहने चिनियाँ स्वभाव यतिबेला उल्टो रुपमा प्रस्तुत हुँदैछ ।

यसबाट भन्न सकिन्छ,साँच्चै नै कोरोनाले विश्व व्यवस्था बद्लिसकेछ ।

टिप्पणीहरू