‘बिकज प्यासेन्ट इज फ्रम उदयपुर’ भनेपछि…

‘बिकज प्यासेन्ट इज फ्रम उदयपुर’ भनेपछि…

उदयपुरबासीहरु नेतादेखि कार्यकर्ता सबै विराटनगरस्थित नोबेल अस्पतालको व्यवहारदेखि अत्यन्त्यै क्षुब्ध र क्रुद्ध बनेका छन् । उदयपुरबाट आएको जुनसुकै रोगको विरामी भए पनि प्रदेश नम्बर १ को चर्चित नोबेल अस्पतालले उपचार गर्न अस्वीकार गरेको घटना बाहिरिएपछि यस्तो अवस्था देखिएको हो ।

यसरी आक्रोश व्यक्त गर्नेहरुमा प्रदेश सभासद विमल कार्की, सभासद नारायणबहादुर बुर्जामगर, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी छन भने नागरिक समाजको तर्फबाट पत्रकार महासंघ उदयपुरका भरत खडकालगायत सर्वसाधारणहरु देखिन्छन् । उनीहरुले आज एक पत्रकार सम्मेलन गरी उदयपुरेहरुविरुद्ध नोबेल अस्पताल विराटनगरले घृणा फैलाएको आरोप लगाउँदै उपचारको हकबाट बञ्चित गरिएको यो घटना छानवीन गरी कारवाही गर्न माग पनि गरेका छन् ।

सम्मेलनमा उदयपुरमा नोबेल अस्पतालको विज्ञापन हुने प्रवद्र्धनात्मक कार्यक्रमहरु एक वर्षका लागि निषेध गर्न सम्पूर्ण स्थानीय सरकार, सबैखाले अन्य स्वास्थ्य संस्थाहरु र सम्वन्धित सबैलाई अपिल गर्दै विपदको बेला उपचार गर्न अस्वीकार गर्ने नोबेल अस्पतालमा आफ्नो विरामी लगेर दुःख सास्ती नखेप्न उदयपुरे आव्हान समेत गरेका छन् ।

सो अस्पतालले त्रियुगा नगरपालिका वडा नम्बर ११ का २९ वर्षीया सरस्वती रौनियारलाई एक्कासी सुत्केरी सेवाबाट बञ्चित गरेका थिए । उनलाई नोबेल मेडिकल अस्पतालले तत्कालै रेफर गरी कोशी अञ्चल अस्पतालमा पठाएको थियो । नोबेल अस्पतालले रेफर लेखेको पत्रमा उल्लेख छ, ‘Reffered to Koshi Zone hospital because Pt. (patient) is from Udayapur.’ सो पत्रमा रेजिडेन्ट डाक्टर अमनले हस्ताक्षरसमेत गरेका छन् ।

नोबेल अस्पतालका कर्मचारीहरुले कोरोनाबाट संक्रमित उदयपुरको विरामी भएकोले उपचार गर्न नसकिने बताएका थिए । र, उनीहरुले सुत्केरी महिलालाई कोशी अञ्चल अस्पताल लैजान सहयोग गर्नुको बदला रुखो व्यवहार गरेको प्रकाश रौनियारले बताए । रौनियारका अनुसार उदयपुर भन्ने चालपाएपछि कोशी अस्पतालबाट कोरोना टेस्ट गरी रिपोर्ट ल्याउनु भनेका थिए । उनले आरडिटी गरेर कोरोनाको रिपोर्ट ल्याएर देखाउँदा देखाउँदै सुत्केरीलाई कोशी अस्पताल लैजान बाध्य तुल्याएका थिए । सो अस्पतालमा भर्ना गरेवापतको एघार सय रुपैयासमेत रौनियारले फिर्ता पाएका छैनन् ।

जबकि सुत्केरी महिलाहरुको विशेष अस्पतालको रुपमा नोबेल अस्पतालले सरकारबाट मान्यता पाएको देखिन्छ । गर्भवती रौनियारलाई सुत्केरी गराउनको निम्ति सो अस्पतालमा बैशाख १७ गते ५० नम्बरको बेड उपलव्ध गरिएको थियो । स्मरणीय छ, रौनियारले यस अघिको बच्चा पनि नोबेल अस्पतालमैं जन्म दिएकी थिइन् । सोही कारणले गर्दा यस पटक पनि सुत्केरी हुन नोबेल अस्पताललाई नैं रोजेर गएका थिए ।

स्मरणीय छ, उदयपुर अहिले नेपालको वुहानको रुपमा कहिए पनि समग्र उदयपुरमा कोरोना नफैलिएर त्रियुगा नगरपालिकाको वडा नम्बर ३ को भुल्केको एउटा टोलका १२ जना र त्यस टोलमा पाहुना आउने १२ भारतीय जमाती र ४ तिनका सुसारेसहित जम्माजम्मी २८ जना मात्र कोरोना संक्रमित भेटिएका छन् । उक्त गाउँ पुरै सिल छ र प्रत्येक घरलौरीमा सम्भावित २ जनाको गरी करिब ६ सय जनाको परिक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट देखिन्छ । तर उनीहरुलाई कोरोना संक्रमित जिल्लाबाट आएको भन्दै अमानवीय व्यवहार गरिएको दावी अधिकारकर्मीहरुले गरेका छन् ।

टिप्पणीहरू