कताका वामदेव ? कताका माधव ? के गर्छन् प्रचण्ड ?

कताका वामदेव ? कताका माधव ? के गर्छन् प्रचण्ड ?

उपप्रधानमन्त्रीबारे मुद्दा पुग्यो र उसले बनाउन नमिल्ने व्याख्या गरिदियो भने बनिसकेका उपप्रधानमन्त्रीहरु नाकको चालले सरकारबाट फिर्ता हुनुपर्छ । त्यस्तो अवस्थामा जीवन र जवानी सुम्पिएर बनाएको राजनीतिक छवि कहाँ पुग्छ ? 

कोरोनाको कहरबीच सत्तारुढ नेकपाले राष्ट्रिय राजनीतिमा जसरी तरंग मच्चायो, वास्तवमा यो समयको बर्बादीसिद्ध भएको छ । नहुने तुरुप फ्याँकेर वामदेवलाई बजारभरि रमिताको पात्र बनाइयो । र, यो तरंगले घाटा पनि उहाँलाई नै लागेको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले १६ गतेको बैठकमा वामदेवलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने भनी फ्याँक्नुभएको अस्त्रले माधव–प्रचण्ड समूह त तितरबितर भयो नै, वामदेव पनि अब कताको हो भन्ने प्रश्न राजनीतिक बृत्तमा खडा भएको छ ।

वामदेवबाट भएको सबभन्दा ठूलो भूल हो,विश्वासको । आफू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको छु भन्ने कुरा त उहाँले महसूस गर्नुभएकै थियो । त्यस्तो स्थितिमा प्रधानमन्त्री टाढाको कुरा, उपप्रधानमन्त्री बन्न पनि सकिँदैन भन्ने कुरा समयमा नबुझिदिँदा ओलीको तुरुपमा बग्ने स्थिति भयो ।

वामदेवको हकमा मात्रै होइन, नारायणकाजी श्रेष्ठको हकमा पनि उपप्रधानमन्त्री बन्न संविधान बाधक छ । नबनाई नहुने अवस्थामा त उहाँहरुलाई उपप्रधानमन्त्री बनाइएला । तर, संविधानको व्याख्याताका रुपमा रहेको सर्वोच्च अदालतमा यदि यसबारे मुद्दा पुग्यो र उसले बनाउन नमिल्ने व्याख्या गरिदियो भने बनिसकेका उपप्रधानमन्त्रीहरु नाकको चालले सरकारबाट फिर्ता हुनुपर्छ । त्यस्तो अवस्थामा जीवन र जवानी सुम्पिएर बनाएको राजनीतिक छवि कहाँ पुग्छ ?

संविधानले मन्त्रीहरुको परिभाषा अलग–अलग किसिमले गरेको छ । धारा ७६ को उपधारा ९ मा ‘मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री’ भनेर उल्लेख छ । धारा ७५ को उपधारा ४ बमोजिम राष्ट्रियसभाको सदस्यमा चुनाव जितेर आए पनि उपप्रधानमन्त्री हुने कुरामा प्रश्न उठ्न सक्छ । प्रश्नको समाधान त हुनसक्ला । तर, प्रतिनिधिसभाको सदस्य हारेको मान्छे राष्ट्रियसभामा मनोनित हुन अर्को कानुनी झमेला छ । नारायणकाजी त मनोनित हैनन्,चुनाव जितेका हुन् । तर, उनलाई पनि उपप्रधानमन्त्री बनाइयो भने प्रश्न त उठ्छ । किनभने, उनी पनि प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेका नेता हुन् । यदि पहिला उपप्रधानमन्त्रीसमेत भइसकेको पुरानो बरियता बिर्सिएर मन्त्री खान्छु भन्ने हो भने अलग कुरा । नत्र, संविधानतः प्रतिनिधिसभामा पराजित भएको व्यक्तिले प्रधान वा उपप्रधानमन्त्री हुनमा संविधान नै बाधक छ ।

पूर्वएमालेहरुको झगडामा परेर अल्पमतको नेता हुनुभन्दा केपी ओलीसँग ‘लभ एण्ड हेट’ (प्रेम र घृणा) को सम्बन्धबाटै अघि बढ्दा फाइदा हुने ठम्याई प्रचण्डको छ ।

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विधि र पद्धतिविपरित काम गरेको विषयमा जसरी प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरु भैंसेपाटी गठबन्धनमा जुटे, नेकपा कार्यकर्ताको नजरमा त्यो मनासिव र जायज विषय रह्यो होला । तर, जब केपी ओलीले एउटालाई प्रधानमन्त्री र अर्कोलाई तेस्रो वरियताको अध्यक्षको कुरा निकाल्नुभयो, त्यसपछि भैंसेपाटी गठबन्धन नै तोडफोड हुने स्थिति बन्यो । वामदेवले प्रधानमन्त्री बनाउने कुरा पत्याउनु र माधवका कुरा फस्ल्याङफुस्लुङ पारिनु यसको उदाहरण हो ।

यी पूर्वएमालेहरुको झगडामा परेर अल्पमतको नेता हुनुभन्दा केपी ओलीसँग ‘लभ एण्ड हेट’ (प्रेम र घृणा) को सम्बन्धबाटै अघि बढ्दा फाइदा हुने ठम्याई प्रचण्डको छ । यो परिदृष्यलाई नियाल्दा ठूलो घाटा वामदेवलाई पुगेको छ । हिजो प्रचण्ड, माधव, झलनाथसँग केपीलाई आच्छु–आच्छु पार्ने उनै वामदेव । केपीले प्रधानमन्त्रीको तुरुप फ्याँकेपछि फेरि त्यतातिरको भुलभुलैयामा लाग्ने पनि वामदेव । यसो गर्दा अब माधवहरुले बुझ्ने भए कि, जब–जब निर्णायक अवस्था आउँछ, त्यसबेला फुटाउन खोज्ने विपक्षीको जालमा वामदेव पर्ने रहेछन् । अनि, केपीहरुले पनि बुझ्ने भए कि, दिइहाल्नु पर्दैन, दिन्छु–दिन्छु भनेरै वामदेवलाई टार्न सकिने रहेछ ।

हुनचाहिँ यो स्थिति भनेको वामदेवका हकमा चरम अन्याय भएको हो । किनभने, कस्ता–कस्ता मान्छे प्रधानमन्त्री बनेका छन् । एकचोटि वामदेव प्रधानमन्त्री हुँदा नेकपाको केही जाँदैन थियो । यो कोणबाट उहाँलाई हेरिएन । मात्रै, एकातिरको प्रहारबाट बच्न अर्कातिरबाट एउटा हतियार फ्याँक्ने । सबैलाई त्यसमा अलमलाएर आफ्नो स्थिति सुदृढ राख्ने चालबाजी भयो ।

त्यसैले अब माधव केपी ओलीसँग पनि कुनै हालतमा निकट नहुने अवस्था आयो । हिजो ओलीले कि माधव कि प्रचण्डलाई खेलाउनुभयो । झलनाथलाई तल पारेपछि माधव खुशी हुने, माधवलाई तल पारेपछि झलनाथ खुशी हुने स्थितिमा केपीले खेल्नुभयो । वामदेवलाई त राम्रैसँग खेलाइहालियो । प्रचण्डलाई कार्यकारी अध्यक्ष हुनुस्, म सरकार चलाउँछु भनेर ठिक्क पार्नुभयो । त्यो हैसियतमा एउटाभन्दा अर्को बैठक स्वयं प्रचण्डले राख्न सक्नुभएन । त्यसैले प्रचण्डका निम्ति ओलीसँग ‘लभ एण्ड हेट’ कै सम्बन्ध प्यारो हुन पुगेको छ ।

राजनीतिक दल भनेको व्यक्ति–व्यक्तिको व्यवस्थापन गरेर चल्ने चिज होइन । नीति, सिद्धान्त र विचारका आधारमा दल निर्माण र परिचालित हुन्छ । तर, नेपाली राजनीतिमा हावी भएको पदलोलुप चिन्तनको शिकार नेकपा पनि भएको छ । अन्तिम लसम्मै पद लिएर जाने मानसिकता रहँदासम्म न नेकपा, न कांग्रेस वा न कुनै दलमा केही राम्रा कुरा हुन्छन् ।

(पुरी प्रेस युनियन, १ नं. प्रदेश कमिटीका सचिव हुन् ।)

[email protected]

टिप्पणीहरू