डेढ महिने लकडाउनको चिरफार आज

डेढ महिने लकडाउनको चिरफार आज

पछिल्लो सात हप्तादेखिको लकडाउन (बन्दाबन्दी) को समग्र समीक्षा गर्न आज कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठक बस्दैछ । लकडाउनलाई कसरी अझ बढी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बुझिएको छ । आगामी बिहीबारसम्म घोषणा गरिएको देशव्यापीभन्दा त्यसपछिको लकडाउन नयाँ चरणमा नयाँ ढंगले प्रवेश हुने पनि स्रोतले बताएको छ ।

अब कोरोना संक्रमित क्षेत्रको आधारमा विभिन्न किसिमले भौगोलिक क्षेत्रको वर्गीकरण हुनेछ । सामान्य, सम्भावित जोखिम, जोखिम र उच्चजोखिम गरी चार भागमा क्षेत्र विभाजन हुनेछ । उच्चजोखिमको आधारमा खास खास क्षेत्रमा झन् कडाई गर्दै त्यस्ता क्षेत्रलाई थप व्यवस्थित गर्ने उपायको खोजी गरिनेछ । हालसम्म संक्रमण नदेखिएको क्षेत्रमा जनजीवन सामान्य बनाउन आवश्यक प्रोटोकल निर्धारण गर्ने तयारी रहेको बुझिएको छ । समितिले भारतसँगको खुल्ला सीमामा थप कडाई गर्ने विषयमा पनि छलफल गर्नेछ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने मानिसको चारैतिरको नाकामा अझबढी स्क्रिनिङ्ग र कडाई गर्ने विषयमा पनि छलफल हुनेछ । साथै, जोखिम नबढेको अवस्थालाई दृष्टिगत गरी उपत्यकामा लकडाउन खुकुलो बनाउने विषयमा छलफल र प्रोटोकल निर्धारण गरिनेछ । समितिले खास खास क्षेत्रलाई उच्चजोखिमको आधारमा अझ कडाई र कोरोना संक्रमण देखिएका क्षेत्रलाई थप व्यवस्थित गर्नेबारे पनि छलफल गर्नेछ । त्यसैगरी, हालसम्म संक्रमण नदेखिएको मुलुकका विभिन्न क्षेत्रमा पनि जनजीवनलाई सामान्य बनाउने सम्बन्धमा प्रोटोकल तयार गर्ने सम्भावना रहेको छ ।

टिप्पणीहरू