विदेशबाट ग्वारग्वार्ती फर्किए भने…

विदेशबाट ग्वारग्वार्ती फर्किए भने…

३० लाख नेपाली एकैचोटी स्वदेश फर्कन खोजे भने कसरी व्यवस्थापन गर्छौं होला ?

नेपालमा कोरोना संक्रमण विदेशमा बस्ने नेपालीले नै भित्र्याएझैँ यदाकदा अर्थ लगाउन खोजिन्छ । तर, हिजोसम्म विदेशमा हाड घोट्ने त्यहि कामदारले पठाएको रेमिट्यान्समा राज्य रमाएको थियो । दुई दशकदेखि मुलुकको ठूलो खर्चको भरथेग त्यहि रेमिट्यान्स बन्दै आएको छ । लकडाउनको डेढ महिनामै त्यसको असर देखिन थालिसकेको छ । यस्तो अवस्थामा भोलि विदेशमा अलपत्र परेका वा फर्कन चाहने नेपालीलाई तत्काल स्वदेश ल्याउनुपर्यो भने हामीले कस्तो रणनीति बनाएका छौं ? अनि त्यस्तो अवस्थामा कति नेपाली स्वदेश भित्रिएलान् भनेर कुनै लेखाजोखा खै !

अहिले नीति निर्माण तहदेखि सबैले भारतसँगको सीमानाकामा रोकिएकालाई मात्र स्वदेश भित्रिन खोजेको नेपालीको रूपमा बुझेका छन् । हिजोका दिनमा खाडीलगायत विश्वका विभिन्न मुलुकमा उनीहरूले कठोर परिश्रम गरी प्राप्त रेमिट्यान्सबाटै अर्थतन्त्र चलायमान हुँदै आएको विषयलाई गौण बनाइरहेका छन् । मध्यपूर्व, अफ्रिका र मलेशियामा मात्र श्रमस्वीकृति लिएर गएका नेपालीको संख्या २० लाख भन्दाबढी छ । अनौपचारिक ढंगले अफगानिस्तान, इराक, लिबिया, जानेहरूको संख्या जोड्दा त्यो भन्दा धेरैबढी हुन्छ । कामको सिलसिलामा भारत गएका नेपालीको संख्या पनि ठूलो छ । युरोप, अमेरिका, कोरिया र जापानमा रहेकालाई उता भयावह भएमात्र स्वदेश फर्कनसक्ने अन्तिम सम्भावनामा राखिएको छ । त्यत्ति गर्दा पनि हामीले झण्डै ३० लाख नेपाली एकैचोटी स्वदेश फर्कन खोजे भने कसरी व्यवस्थापन गर्छौं होला ?

मलेसियाको सन्दर्भ अलि फरक छ । त्यहाँ श्रमस्वीकृति लिएका नेपालीको संख्या पाँच लाख भन्दाबढी छ । तीमध्ये अधिकांश सेक्युरिटी गार्डको काम गर्छन् । महामारीले अरु पेशालाई धेरै असर पुर्याएपनि सेक्युरिटीमा त्यत्ति देखिन्न । कम्पनी, होटल, रेष्टुरेण्ट, निजी आवास र बिग हाउसहरूले खर्च कटौती भन्दै कर्मचारीलाई अवकाश दिएका छन् । तर, ती सबैको भौतिक सुरक्षाका लागि सुरक्षाकर्मी आवश्यक भएकाले उक्त पेशाकाले तत्काल जागिरबाट हात धुनुपर्ने देखिँदैन । मध्यपूर्व र अफ्रिकी मुलुकहरूमा रहेका कामदारको हकमा भने ठीक उल्टो हुन थालेको छ ।

नेपालमा रहेका विदेशीलाई सम्बन्धित मुलुकले लगेजस्तो सजिलो हामीलाई छैन । किनकि यहाँबाट फर्केका विदेशी र तिनका मुलुक हामीभन्दा धनी र सम्पन्न छन् ।

विदेशमा रोजगारी गुमेका सबैलाई नेपाल ल्याउनैपर्ने अवस्था आएमा सबैभन्दा पहिले त्यो हाम्रालागि फलामको चिउरा सबित हुनेछ । कुबेतमा तीन हजार भन्दाबढी नेपाली कामदारलाई स्वदेश फर्कन रोजगारदाता कम्पनीले भनिसकेको छ । अन्य मुलुकमा पनि उक्त क्रम शुरु नहोला भन्न सकिँदैन । नेपालमा रहेका विदेशीलाई सम्बन्धित मुलुकले लगेजस्तो सजिलो हामीलाई छैन । किनकि यहाँबाट फर्केका विदेशी र तिनका मुलुक हामीभन्दा धनी र सम्पन्न छन् । विदेशी आफैँले महँगो टिकटको जोहो गरेर चार्टर्ड विमानमा उडे । तर, हाम्रा कामदारको त्यस्तो सामथ्र्य छैन । सरकारले पनि निःशुल्क विमान चार्टर गर्न सक्दैन । तर पनि एउटा सम्भावना चाँहि छ । श्रमस्वीकृति लिएकाको हकमा आउँदा र जाँदाको विमान खर्च सम्बन्धित रोजगार कम्पनीले ब्यहोर्ने सम्झौतामा उल्लेख छ । सो कारण रोजगारदाताले कामदारलाई हटाउँदा मुलुकसम्म जाने व्यवस्था गर्नैपर्छ । तर पनि त्यसपछिको व्यवस्थापन गर्न कति सक्षम छौं ? हामीले अहिलेसम्म कुनै योजना बनाएका छैनौं ।

वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली २० देखि ४० वर्ष उमेर समूहका छन् । ती सबै काठमाडौं विमानस्थलमा नियमित ओर्लिन थाले भने सबैभन्दा पहिले कम्तिमा दुई साता क्वारेण्टिनमा राख्नुपर्छ । त्यसको लागि आवश्यक भौतिक पूर्वाधार छैन । रोजगारी गुमेर स्वदेश फर्किएका र मुलुक छिर्नै महाभारत भएकालाई पुनः रोजगारी धेरै टाढाको विषय हुनेछ । तरपनि क्वारेण्टिनपछि आफ्नो थातथलो फर्कनेले रोजगारी खोज्न थालेपछि के दिने ? विदेशबाट फर्केका सबैलाई हाम्रो श्रम बजारले थेग्नसक्ने अवस्था छैन । अर्कोतर्फ, गैरआवासीय नेपालीको हैसियतमा विदेशमा रहेका नेपालीको फिर्ती र व्यवस्थापन पनि नयाँ चुनौतीको रूपमा थपिन सक्छ । उनीहरूको हकमा कतिपय कानुनी अड्चनसमेत देखापर्न सक्छ ।

क्वारेण्टिनपछि आफ्नो थातथलो फर्कनेले रोजगारी खोज्न थालेपछि के दिने विदेशबाट फर्केका सबैलाई हाम्रो श्रम बजारले थेग्नसक्ने अवस्था छैन ।

कोरोनाको कारण आगामी केही वर्ष नेपाली कामदार रोजगारीको लागि विदेश जाने सम्भावना क्षीण छ । त्यो बेलासम्म नेपालमै उनीहरूलाई राज्यले के काम दिन सक्छ ? विदेशबाट फर्किनेमध्ये धेरैजसोसँग केही सीप र व्यवसायको अनुभव हुन्छ नै । थोरै भएपनि उनीहरूसँग केही समयसम्म रकम पनि हुन्छ । त्यस्ता लाखौं जनशक्तिलाई राज्य निर्माणमा सहभागी गराउन सरकारले रातारात कार्यक्रम र योजना बनाउनुपर्नेमा त्यसो गरेको देखिएको छैन ।

टिप्पणीहरू