नेकपा नेताका दु:ख अनेक

नेकपा नेताका दु:ख अनेक

परिस्थिति यति निर्मम भइदियो कि, ब्यक्तिका भूमिका नै बन्धकमा ।

मानौँ न, घनश्याम भुषाल, योगेश भट्टराई, शक्ति बस्नेत, बर्षमानहरु मन्त्री थिएनन् भने यो सरकार, नेकपा राजनीति र अहिलेका कार्यभारबारे के भन्थे होलान् ? तर, उनीहरूका लागि दुनियाँमा केही नै नभएजस्तो सन्नाटा छ ।

पार्टीमा पद्धति हैन, पदमा सौदाबाजी शुरु भएपछि नेकपामा अरु थुप्रै बादल, इश्वर, लेखराज, घनश्याम र योगेशहरुको हालत यस्तै हुन्छ । त्यो पनि, कन्जुस साहुझैँ उधारो हैन, नगदी/हाताहातीको शैलीमा कुरा चलेको छ । उधारो उठ्ने जमाना त अहिले कहाँ छ र !

यस्तो हुँदा पनि नेकपा नेताहरू ‘कि तँ छैन, कि म  छैन’ भन्ने ढंगबाट गएनन् । नत्र पार्टी बिघटनतिरै जान्थ्यो । नेताहरुको बुद्धिमत्ताकै कारण नेकपा ठूलो दुर्घटनाबाट जोगियो ।

अचम्मैको आत्मालोचना

६९ बर्षको बाला जोवनमा केपी ओलीले नजानेको वा नचाहेको कुरा थियो, आत्मालोचना  । तर, यसपटक पहिलो घटना भयो, सचिवालय बैठकमा । उहाँले भएका कामका कारण कसैको मन दुखेको, पार्टी पंक्तिमा आलोचना, निराशा छाएको जस्ता कुरामा आत्मालोचना गर्नुभयो ।

बाध्यता बेग्लै बेग्लै

गृहमन्त्री रामबहादुर थापा (बादल) र रक्षामन्त्री ईश्वर पोखरेलहरुको बाध्यता घनश्याम, योगेशहरुको जस्तै छ ।

घनश्याम-योगेशहरु सरकारको नेतृत्वप्रति इमान्दार हुन आलोचनात्मक भूमिकामा प्रकट भएनन् । तर, बादल र ईश्वरको बाध्यता फरक छ । यी दुबै केपीपछि प्रधानमन्त्री हुने रहरमा लहरिएका छन् । घनश्यामहरुलाई त्यस्तो रहर छैन ।

माधवको मन

राष्ट्रपतिको सन्देश, प्रचण्डको सुझाव र आफ्नै सदाशयताले माधव नेपालले आफूलाई फेरि परिपक्व नेताका रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँले तेस्रो अध्यक्ष अस्वीकार गर्नुभयो । यदि प्रधानमन्त्री वा अध्यक्षको लोभ गरेको भए पार्टी असन्तुलन बनाउन अर्को अस्त्र चाहिदैनथ्यो ।

तर,भैसेपाटीमा बिष्णु र वामदेवको कुरा पत्याएर जीवनमा ऐतिहासिक भूल गर्नुभयो ।

प्रचण्डका दु:ख

अर्का अध्यक्ष प्रचण्डको दु:ख अलग्गै छ, भित्रियाबाटै घात ! एकबारको जुनीमा बादललाई ओलीको आश,जो प्रचण्डबाट पूरा हुँदैन । यसकारण केपीको भर । लेखराज भट्टसहितका नेता सरकार पुनर्गठन भए भर्खरै पाएको पद जाने चिन्तामा।

टिप्पणीहरू