अधिकारीले देखाए, नेपालले देखाएनन्

अधिकारीले देखाए, नेपालले देखाएनन्

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बैंक ऐनको दफा ३२ (४) अनुसार उनले आफ्नो सम्पत्ति देखाएका हुन् । तर,सोही व्यवस्थाबमोजिम निवर्तमान गभर्नर नेपालले वैशाख ५ गतेभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण कहिँकतै देखिएको छैन । उक्त दफामा गभर्नर तथा डेपुटी गभर्नरले पदमा नियुक्त भएको र पदमुक्त भएको मितिले एक महिनाभित्र आफ्नो एकाघर परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

अधिकारीको सम्पत्ति विवरणमा ललितपुरको भैंसेपाटीमा २७ आनामा बनेको २ हजार २ सय वर्गफिटको घर र छम्पि गाविसमा झण्डै १२ रोपनी जग्गा उल्लेख छ । उनले झापामा २ बिघा भन्दाबढी र मकवानपुरमा २ कठ्ठा जग्गा रहेको पनि देखाएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्था तथा जलविद्युत कम्पनीमा आफू र परिवारको नाममा झण्डै सवा करोडको शेयर, पाँच लाख जतिको सुन चाँदी रहेको बताएका छन् । विभिन्न बैंक खातामा अमेरिकी डलरसमेत गरी १२ लाख भन्दाबढी रूपैयाँ देखिन्छ भने उनले ५० लाख रूपैयाँ अग्रिम शेयर भुक्तानी वापत मध्यतमोर जलविद्युतमा लगानी गरेका छन् ।

आफूसँग १५ लाख रूपैयाँ मूल्यको दुईवटा मोटरसाईकल र एउटा कारसँगै १४ लाख भन्दाबढीको आन्तरिक सजावट, किचेन अप्लायन्स तथा सूचना प्रविधीका सामग्री रहेको विवरण देखाएका छन् । अब पाँच वर्षपछि उनले फेरी आफ्नो सम्पत्ति विवरणमा भएको थपघट यसैगरी सार्वजनिक गर्नुपर्नेछ । तर, अघिल्ला गभर्नर नेपालले भने उक्त काम गरेको देखिएन । तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारी, सार्वजनिक ओहोदामा बसेका वा सेवा निवृत अधिकारीलाई पाँच हजार रूपैयाँ जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

टिप्पणीहरू