राज्यसत्ताका सबै संयन्त्रसहित छिमेकी मुलुकलाई पनि काबुमा लिने दलालको दाबी

राज्यसत्ताका सबै संयन्त्रसहित छिमेकी मुलुकलाई पनि काबुमा लिने दलालको दाबी

सुरक्षा निकायका हतियार खरिद,राशन, ठूला परियोजनालगायतमा बिचौलियाको भूमिका निभाउँदै आएका दीपक भट्ट पछिल्लो पटक नयाँ काण्डमा मुछिएका छन् । नेपाल प्रहरीले खरिद गर्न लागेको ८४ करोड रुपैयाँको हतियारमा मतियार बनेको रहस्य उनकै मुखबाट खुलेको हो ।

अहिले विवादमा आएको उक्त हतियारलाई कसरी नेपाल भित्र्याउने,बीचमा आउने समस्यालाई कसरी समाधान गर्ने र त्यसमा छिमेकी मुलुक भारतको चासोलाई समेत मिलाउने उनको रणनीति बाहिरिएको छ । प्रहरीको हतियार खरिदनिम्ति माहौल प्रतिकूल भएकाले उनले सबैलाई आफूले व्यवस्थापन गर्ने आश्वासन दिएका छन् ।

मुलुकको सार्वभौमसत्ता सम्पन्न संसदको सार्वजनिक लेखा समिति र अर्को राज्य व्यवस्था समितिलाई आफूले ह्याण्डिल गर्ने सजिलो जवाफ समेत उनैले दिएका छन् । भट्टको उक्त जवाफले उक्त समितिको हैसियत र त्यसमा आवद्ध सांसदहरुको मर्यादा र क्षमतालाई समेत गिज्याएको छ ।

उनले भनेका छन्, ‘लेखा समिति र राज्य व्यवस्था समिति म ह्यान्डल गर्छु । मेरो त्यो हैसियत छ म गर्न सक्छु ।’ अननेसेसरी उनीहरुले दुःख नदिने कुरो विश्वस्तसँग भनेका दीपकको उक्त वाक्यले यसअघि पनि सेटिङमा काम फत्ते हुने गरेको सजिलै अनुमान लगाउन सकिन्छ ।

उनले संसदको विपक्षी दल एमालेसँगे सत्तारुढ दल काँग्रेसलाई पनि सजिलै मनाउन सकिने खालको धारणा राखेको पाइन्छ । उनले सांकेतिक रुपमा भनेका छन्, ‘अपोजिसन पार्टीमा लाजिम्पाट र सानेपा छ । त्यो दुईवटै म ह्यान्डल गर्न सक्छु ।’

मुलुकभित्रको सबै प्रपञ्च मिलाएपछि हतियार खरिदमा भारतीय संस्थापन पक्षको असन्तुष्टीलाई पनि उनले सजिलैसँग मिलाइदिने आश्वासन दिएको वार्तामा सुनिन्छ । उनको भनाइ छ, ‘भनेपछि अब मोदी मिलाउनुपर्ने भए मोदी र चाइना पनि मिलाउँला, त्यो पर्दैन ।’

त्यहि सन्दर्भमा उनले भारतीयहरुले नेपालले हतियार खदिर गर्दा सँधै हस्तक्षेप गर्ने गरेको उनै बिचौलियाको स्वीकारोक्ति छ । उनको भनाइअनुसार भारतीयले ‘इन्टरफेयर’ गरेर चाइनिज हतियार किन लिने ? भनेर सोध्ने गरेको उनको आशय छ । अहिले नेपाल सरकारले खरिद गर्न लागेको हतियार इटालीको भए पनि चीन हुँदै आउन लागेकाले चीन मुछिएको हो ।

चीनसँग हतियार लिनुको सट्टा भारतीयले आफ्नै हतियारको लागि अनुरोध गर्ने गरेको पनि भट्टको दाबी छ । उनले सञ्चार प्रविधि र हतियार छिमेकीसँग लिन नहुने कुरो समेत गरेका छन् । भारत र चीनसँग हतियार र प्रविधि खरिद गर्नुको सट्टा आवश्यकताअनुसार भवन बनाइदिन अनुरोध गर्नुपर्ने उनको सल्लाह छ ।
प्रहरीको हतियार खरिदको सन्दर्भमा छिमेकी मुलुकलाई विश्वस्त तुल्याउन चीनलाई हतियारको सट्टा पाँच वटा दंगा नियन्त्रण गणको पूर्वाधार बनाइदिन र भारतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाइदिन अनुरोध गर्नुपर्ने उनको सुझाव छ । सम्भवतः उनको यो सुझाव सरकारमा रहेका उच्च राजनीतिक नेतृत्वसँग भएको कुराकानीमा उल्लेख गरिएको अनुमान छ ।

यता भारतले पनौती नजिकै प्रहरी एकेडेमी बनाइदिन लागेको सन्दर्भमा उनले भारतलाई पूर्वाधार र यातायातको माग गर्नुपर्ने भनेका छन् । तर सञ्चार सेट वा हतियार माग्न नहुने उनको सल्लाह छ । यी सबै सन्दर्भ उल्लेख गरेपछि उनले संवादमा रहेकासँग सोधेका छन्, ‘यत्ति भएपछि काम हुन्छ कि हुँदैन ? अब त्यो सबैपछि एउटा के हुनुपर्छ भने मैले यति कुद्ने भनेपछि सबैको केही न केही आश त हुन्छ । भलै पैसा नमाग्ला । कसैलाई टिकट कनिदिनुपर्ला । कसैको छोरालाई भर्ना गरिदिनुपर्ला ।’

टिप्पणीहरू