हेर्दाहेर्दैमा उमागौरी सहकारी ठगीको मुद्दा, बाँकी बयान पर्सि

हेर्दाहेर्दैमा उमागौरी सहकारी ठगीको मुद्दा, बाँकी बयान पर्सि
सुन्नुहोस्

सार्वजनिक लेखा समितिका सभापति ऋषि पोखरेल पत्नी अञ्जला कोइरालासमेत २६ जना जोडिएको मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएपछि फरार अध्यक्ष शम्भुप्रसाद रौनियार अस्ति जिल्ला अदालत मोरङमा हाजिर भएपछि थालिएको बयान नसकिएपछि पर्सिसम्मलाई हेर्दाहेर्दैमा परेकोे छ ।

न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई प्रहरीको जिम्मा लगाएर मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आज र भोलि सार्वजनिक बिदा भएकाले प्रहरीले उनलाई पर्सि अदालतमा उपस्थित गराउनेछ । त्यसपछि मात्र उनलाई धरौटीमा छाडिन्छ या पुर्पक्षको निम्ति जेल चलान हुन्छन् भन्ने टुंगो लाग्नेछ । 

धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारीको रकम हिनामिना कसुरमा अध्यक्ष रौनियार र समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको थियो । मुद्दामा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

मुद्दाका सबै फरार प्रतिवादीहरु अदालतमा हाजिर भइरहेका छन । प्रहरीले अध्यक्ष रौनियारसहित २५ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । तर हालसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।

जिल्ला अदालतका सूचना अधिकारी हेम बुढाथोकीका अनुसार उक्त मुद्दामा हालसम्म २८ जनामध्ये आठ जना प्रतिवादीहरु अदालतमा हाजिर भैसकेका छन । तीमध्ये चार जना धरौटीमा छाडिएका छन् । एक जनालाई अदालतले पुर्पक्षको निम्ति कारागार पठाएको छ । 

यता अध्यक्ष रौनियारको बयान जारी छ । कोइराला पनि अदालतमा हाजिर भएकै दिन १० लाख धरौटीमा छाडिएकी हुन् । तर प्रहरीमा हाजिर भएका धनपालथान गाउँपालिका– ४ का सञ्चालक रोशन राजवंशीलाई मंसिर २८ गते पुर्पक्षका लागि अदालतले थुनामा पठाएको थियो ।

टिप्पणीहरू