एम. अधिकारीको विषय चर्काएको खतिवडा र उनका ज्वाईंमाथि आरोप

एम. अधिकारीको विषय चर्काएको खतिवडा र उनका ज्वाईंमाथि आरोप

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी छद्म नामको प्रयोग गरेर एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको विषय अहिले सर्वाधिक विवादमा छ । सबैभन्दा चर्को ढंगले यो विषयलाई नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनले उठाएका छन् । माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारी र वाईसीएलले दिनहुँ प्रदर्शन गरेका छन् ।

तुलनात्मक रुपमा नेपाली काँग्रेसले उक्त विषयलाई त्यत्ति धेरै चर्काएको देखिँदैन । पार्टी महामन्त्री गगन थापा र नेता मीनबहादुर विश्वकर्माले संसद बैठकमा औपचारिकता निभाउँदै एम अधिकारीको विषय छुस्स उठाएका थिए । काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस युनियनको कार्यक्रममा बोल्दै तनहुँमा गभर्नरको विरोध गरेका छन् भने प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति बिहान बालुवाटारमा आयोजित सत्ता गठबन्धनको बैठकमा गभर्नरले राजीनामा दिए ‘राम्रो हुने’ बताएर टार्नुभएको बुझिएको छ ।

जबकी बालुवाटारको त्यहि कोठामा बिहीबार अर्थमन्त्रालयको जिम्मेवारी लिएको हैसियतले आफैँले बोलाएको छलफलमा प्रधानमन्त्रीले गभर्नर अधिकारीसँग खुलस्त कुराकानी गर्नुभएको बताइन्छ । जवाफमा गभर्नरले पनि साउनको पहिलो साता सार्वजनिक हुने मौद्रिक नीतिपछि मुलुकको आर्थिक, बैंकिङ र पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने धारणा राखेको छलफलमा सहभागी एक जना सचिवले बताए ।

पार्टीको विभाग सदस्यपछि अहिले महाप्रसाद अधिकारीलगायत केही एमालेको पार्टी सदस्य भएको विवरणको टुक्रो पनि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । यस्तो विवरण यसअघि यदाकदा नेपाली काँग्रेस र माओवादीको तर्फबाट पनि बाहिर आउने गरेको बताइन्छ । अहिले केन्द्रीय बैंकका अरु कर्मचारी समेत एमालेको पार्टी सदस्य भएको टुक्रे विवरण बाहिर आएको, एम. अधिकारीको विषयलाई चर्काएको सम्बन्धमा जनआस्थाले गरेको खोजीको यथार्थ संक्षेपमा यस्तो पाइएको छ :

बैंकका पूर्वगभर्नर, पूर्वअर्थमन्त्री तथा अमेरिकाका लागि पूर्वराजदूत डा. युवराज खतिवडा र उनका ज्वाईं डा. रामशरण खरेल नजानिँदो ढंगले महाप्रसादलाई अप्ठेरो पार्न उद्दत रहेको बैंकमा क्रियाशील एमाले युनियनका पदाधिकारीहरुले नै बताएका छन् । आफू अर्थमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र भएर सोझै गभर्नर बनेका अधिकारीसँग खतिवडा र ज्वाईं खरेल त्यतिबेलादेखि नै खुशी थिएनन् । उनले त्यसबेला गभर्नर नियुक्तिको निम्ति तत्कालीन राजश्व सचिवबाट प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको भूमिकामा रहेका लालशंकर घिमिरेलाई अघि सारेका थिए ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का सच्चा कार्यकर्ताको रुपमा खतिवडाले आफू जस्तै घिमिरेलाई अघि सार्नु अचम्म पनि थिएन । तर एमाले महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा डेपुटी गभर्नर र पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गभर्नर बनेपछि खतिवडा भित्रभित्रै मुरमुरिनु स्वाभाविक हो । यता, बैंकमा विशिष्ट भइसक्नुपर्ने ज्वाईं खरेल बल्लतल्ल निर्देशक भएर पोखरा कार्यालय पुगेका छन् । उनले बैंकभित्र ससुराविरोधी गतिविधिको सँधै रखवारी र खबरदारी गर्दै आएको एमाले समर्थक कर्मचारीहरु नै बताउँछन् ।

गत जेठमा एमाले युनियनले बैंकको केन्द्रीय कार्यालय परिसरमा केन्द्रीय परिषद् बैठकको उद्घाटन कार्यक्रम राखेको थियो । गभर्नर, डेपुटी गभर्नर र धेरै कर्मचारी उपस्थित सो कार्यक्रममा पहिलेका डेपुटी तथा अहिलेका बैंक सञ्चालक चिन्तामणि सिवाकोटीलाई पनि आमन्त्रण गरिएको थियो । उनी तीन दशकअघि उक्त संघको सहसचिव थिए ।

मन्तव्य राख्ने क्रममा सिवाकोटीले खतिवडा अर्थमन्त्री भएको बेलामा बैंकको स्वायत्ततामाथि छ दशकमै सबैभन्दा धेरै आक्रमण भएको कहालीलाग्दो अनुभव सुनाएका थिए । उनले बैंकका एउटा कर्मचारीमाथि दागा धर्नेदेखि अनेक षड्यन्त्र अर्थमन्त्रालयमा बसेर मन्त्री र उनका सल्लाहकार तथा ज्वाईं खरेलले रचेको यथार्थ पनि त्यसबेला बताएका थिए ।

आफ्ना ससुराको बद्ख्वाईं गरेको सुनेपछि बैंकको बजेट गोष्ठीमा गत महिना पोखराबाट काठमाडौं आएका खरेलले एमाले कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, उपाध्यक्ष पद्मराज जोशीलगायतलाई एकै ठाउँमा राखेर सिवाकोटीलाई युनियनको कार्यक्रममा निम्तो र बोल्न दिएको विषयमा कडा रोष व्यक्त गरेका हुन् । खरेलले र्याख्र्याख्ती पार्दै उक्त विषयलाई बैंकभित्रको एमाले कमिटीमा राखेर छलफल गर्ने बताएका थिए । स्मरणरहोस्, उनै खरेल एमाले सेल कमिटीमा ‘तिमाले’ छद्म नामले लेबी तिर्छन् । काभे्रपलाञ्चोकको तिमाल गाउँका खरेलले आफ्नो गाउँ र पार्टीको नाम मिलाएर उपनाम ‘तिमाले’ राखेका हुन् ।

अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएको एमालेको सदस्य लिएका केही कर्मचारीको विवरणको टुक्रामा तिमाले अर्थात् उनै खरेलको नाम नहुनुले पनि यो गाईजात्रामा ‘ज्वाईं’ को हात रहेको भन्नेहरु पनि निस्किएका छन् । त्यसअघि पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा रहेका भनिएका एम. अधिकारी गभर्नर महाप्रसाद नै हुन् भनेर अरुलाई उकेरा लगाउनेमासमेत उनको भूमिका धेरै रहेको स्रोतको दाबी छ ।

यता सेयर बजारप्रति सँधै नकारात्मक रहँदै आएका खतिवडाले अमेरिकाबाट फिर्ता बोलाएपछि आफू पुँजीबजारको सबैभन्दा ठूलो पक्षपाती भएको सन्देश दिन थालेका छन् । विगतमा डा. बाबुराम भट्टराईले झैं उनले पनि सेयर बजारलाई ‘जुवा’ र अनुत्पादक क्षेत्र भनेका थिए । अहिले आफूलाई साखुल्ये देखाउन सेयर बजारलाई उत्पादनशील क्षेत्रको संज्ञा दिन भ्याएका छन् ।

गत वर्ष राष्ट्र बैंकले सेयर बजारलाई काबु बाहिर जान नदिन सेयर कर्जामा ४ र १२ करोड रुपैयाँको सेयर कर्जा सीमा लगाइएकाे थियाे । सोही बेलादेखि उनले अधिकारीलाई अर्थतन्त्रको जानकारी नभएको आशयमा धारणा राख्दै आएका हुन् । पछिल्ला दिनमा खतिवडाले डा. रामशरण महतभन्दा पनि एक कदम अघि बढेर सेयर बजारको वकालत गर्नुले घटनालाई रहस्यमय बनाइदिएको हो ।

यसैबीच उनै खरेललाई हिजो कोरोना पुष्टि भएको छ । राष्ट्र बैंक पोखरामा कार्यरत खरेललाई कोरोना संक्रमण भएको बैंकको जनशक्ति व्यवस्थापन विभाग स्रोतले बताएको हो । ‘पछिल्लो दिनमा संक्रमण हुने उनी पहिलो कर्मचारी हुन्,’ स्रोतले भन्यो ।

टिप्पणीहरू