पहिलेका ती वामदेव, अहिलेका यी बाबुराम

पहिलेका ती वामदेव, अहिलेका यी बाबुराम

नेपालको वाम आन्दोलनका केन्द्रीय पात्रहरूको चर्चा हुँदा डा. बाबुराम भट्टराई र वामदेव गौतमको नाम आइहाल्छ । वाम राजनीतिका यी दुई हस्ती कुनैबेला राष्ट्रिय राजनीतिमै निकै प्रभावशाली थिए । ५० को दशकतिर सत्ता राजनीतिमा वामदेवको प्रभाव जति थियो, ६० को दशकमा बाबुराम पनि कम असरदार थिएनन् । तर, विविध कारणवश अहिले उनीहरू सत्ता राजनीतिको केन्द्रीय भूमिकामा त छैनन् नै, अस्तित्व रक्षाको संकटबाट समेत गुज्रिरहेका छन् ।

वामदेवलाई एमाले र माओवादीबीच वाम गठबन्धन हुँदै पार्टी एकताको एक सूत्रधारका रुपमा लिने गरिन्छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तिक्ततापूर्ण सम्बन्ध रहेकै बेला दुई पार्टीबीच एकीकरण सम्भव गराउन वामदेवले महत्वपूर्ण र निर्णायक भूमिका खेलेको दुबैतिरका नेता–कार्यकर्ता स्वीकार गर्छन् ।

तर, दुई पार्टीको एकता टुटेसँगै वामदेव पनि कर्नरमा परे । तत्कालीन नेकपामा चर्केको अन्तरसंघर्षमा तटस्थ रहँदै पार्टी विभाजनमा कतै नलागेका उनी ‘एकता अभियान’ चलाएर अदालतले फुटाएको पार्टी ब्युँताउने प्रयासमा केही समय सक्रिय रहे पनि त्यसले गति लिन सकेन । फलतः नयाँ पार्टी गठन गरी चुनावमा होमिने तयारी छ ।

माओवादी जनयुद्धको विरासतबाट राजनीतिक हाइट बनाएका बाबुराम माक्र्सवाद नै त्यागेर ‘वैकल्पिक शक्ति’ निर्माणमा लागेका थिए । तर, अहिले उनको पनि वामदेवकै जस्तो हालत छ । नयाँ संविधान जारी भएलगत्तै ‘राजनीतिक संघर्ष’ पूरा भएको उद्घोषसहित माओवादी छाडेर नयाँ शक्ति, संघीय समाजवादी हुँदै जसपामा पुगेका उनी ‘घर न घाट’ को स्थितिमा छन् । चुनावको मुखमा उपेन्द्र यादवले पार्टीबाट निकालेपछि उनको आगामी राजनीतिक यात्रा त्यति सहज देखिँदैन ।

१० वर्षअघिसम्म आफ्नो एउटा निर्णयले राष्ट्रिय राजनीतिको धार बदल्न सक्ने हैसियतमा रहेका यी दुई पात्र आफ्नै जीवनको उत्तरार्धमा आइपुग्दा किन कमजोर हुन पुगे ? उनीहरूको आगामी राजनीतिक यात्रा कसरी अगाडि बढ्ला ? राजनीतिक वृत्तमा चासो र चर्चा हुन थालेको छ ।

हालै मात्र ‘नेकपा एकता अभियान’ नामको पार्टी घोषणा गरेर वाम एकताका लागि ओली, प्रचण्ड र माधव नेपालसँग एकसरो कुराकानी सकेका वामदेव त्यताबाट पार नलाग्ने बुझेर दल दर्ताको तयारीमा जुटेको बताइन्छ । त्यसैका लागि अस्ति शनिवार निर्वाचन आयोगका एक पदाधिकारीलाई फोन गरेर उनले दल दर्ताको प्रक्रियाबारे सोधखोज गरेका थिए । निकटहरूका अनुसार चुनाव घोषणाअगाडि नै पार्टी दर्ता गराउने तयारीका साथ उनको दौडधुप बढेको हो । तर, मिति तोकिएपछि दल दर्ता नहुने हो कि भन्ने संशयका कारण फोन गरेका उनलाई बहादुर भवनले अहिले नै पार्टी दर्ता गरेर ढुक्क हुन सुझाव दिएको बताइन्छ ।

‘चुनावको मिति घोषणापछि दल अध्यावधिक सूचीसहितको सूचना निकाल्नुपर्नेलगायतका काममा आयोगका कर्मचारी व्यस्त हुने हुँदा त्यसअघि नै निवेदन लिएर आउन सुझाव दिएका छौँ’, वामदेवसँगको कुराकानी सुनाउँदै उनले भने । दल दर्ताका लागि आवश्यक कागजातबारे सोधेपछि आफूले इमेल ठेगाना मागेर सबै विवरण पठाइदिएको पनि उनको भनाइ छ ।

यता, केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत नपुगेपछि पुरानोमा दाबी गर्न कानुनी रुपमा नमिल्ने हुँदा जसपाबाट निकालिएका बाबुरामलाई पनि नयाँ दल दर्ता गर्नुको विकल्प छैन । अझ उपेन्द्रले चिठी लेखेर निर्वाचन आयोगलाई दिए त्यता लाग्ने सबैको सांसद पद जान्छ । त्यही बुझेर यसअघि बाबुरामको पक्षमा उभिएका राजकिशोर यादवहरू खुलेका छैनन् । त्यसैले एमसीसी अनुमोदनका बेला उपेन्द्रसँग विवाद चर्किंदा सुरक्षित अवतरणका लागि हिसिलाको नेतृत्वमा दल दर्ता गराएको पार्टीसँग एकता गर्नेगरी नयाँ दल दर्ताको प्रक्रियामा बाबुराम जुटेको बताइन्छ । स्रोतका अनुसार अहिले नै नयाँ दल गर्दा सांसद पद जाने भएकाले अन्तिम क्षणमा अप्ठ्यारो पर्नसक्ने अवस्थालाई समेत ध्यानमा राखेर यस्तो उपाय अपनाइएको हो ।

त्यसो त, पार्टीमा अप्ठेरो परेपछि विगतमा केपी ओली र माधव नेपालले पनि ‘डमी पार्टी’ दर्ता गराएका थिए । तत्कालीन नेकपाको सबै कमिटीमा अल्पमतमा परेपछि ओलीले महेश बस्नेतमार्फत सन्ध्या तिवारीका नाममा ‘अस्ताउँदो सूर्य’ चुनाव चिह्नसहित एमाले दर्ता गराएर सुरक्षित बसेका थिए । एमालेसँग अन्तरसंघर्ष ‘क्लाइमेक्स’ मा पुगेका बेला माधवले सुरेन्द्र पाण्डेमार्फत आफूनिकट विद्यार्थी नेता जीवन राईलाई पार्टी दर्ता गर्न अह्राए ।

एमालेबाट विद्रोह गरेर पछि एकीकृत समाजवादी बनेपछि राईको पार्टी त्यसैमा समाहित भयो । पाँच ६ महिनाअघि केही सामान्य व्यक्तिले आयोगमा दर्ता गरेर राखेको नेपाल कम्युनिष्ट पार्टी समाजवादीमा वामदेवलाई जोडेर हेरिएको छ । त्यो पार्टीबारे अहिले वामदेव निकटहरूले सोधखोज गरेपछि यस्तो अनुमान गरिएको हो । नयाँ दल दर्ताका लागि पार्टीको विधान र नियमावलीको ढाँचा, पाँच सय सदस्यको दस्तखत, ३३ प्रतिशत महिलासहित २१ सदस्यीय केन्द्रीय समितिको नाम निर्वाचन आयोगलाई बुझाउनुपर्ने हुन्छ । तर, चुनावको मिति घोषणा भैसकेपछि आयोगले नचाहे दल दर्ता नहुन पनि सक्छ ।

‘कानुनले निषेध चैं गर्दैन तर निर्वाचन आयोगले दर्ता नगरे पनि मुद्दा लाग्दैन’, निर्वाचन आयोगका एक पदाधिकारीले भने, ’वामदेवले सोध्नुभएको थियो । हामीले त्यही भनेका छौँ ।’ हिसिला यमी र फणिन्द्र देवकोटाले दल दर्ताका लागि बुझाएको निवेदनमा ‘३ः२ लम्बाई र चौडाइको अनुपातमा माथि सेतो, बीचमा रातो र तल हरियो रंग पृष्ठभूमि भएको, बीच भागमा निर्वाचन चिह्न अंकित दलको झण्डा र चुनाव चिह्न आँखा प्रस्ताव गरिएको प्रस्तावित पार्टीको २७ सदस्यीय केन्द्रीय कमिटीमा ११ जना महिला र १६ जना पुरुष छन् ।

अध्यक्षमा नुवाकोटको ककनी–३ का दीपक लामिछाने, दुई उपाध्यक्षमा तनहुँकी रुपी श्रेष्ठ र सर्लाहीका लालबाबुप्रसाद साह छन् भने महासचिवमा गोर्खा खोप्लाङकी सिर्जना पोखरेल छिन् ।

टिप्पणीहरू