समाजवादी मोर्चाको गठनपछि प्रचण्डको ‘बार्गेनिङ पावर’ बढ्ने एमाले र काँग्रेसको निश्कर्ष

समाजवादी मोर्चाको गठनपछि प्रचण्डको ‘बार्गेनिङ पावर’ बढ्ने एमाले र काँग्रेसको निश्कर्ष

वामपन्थी दलहरुबीच एकता र कार्यगत एकता गर्ने विषयमा एमाले र माओवादी केन्द्रबीच बेग्लाबेग्लै ध्रुवीकरणको प्रयास भएको छ । आगामी निर्वाचन लक्षित उक्त प्रयासमा एमालेले सत्ता बाहिरका दलहरु र माओवादीले सत्ता गठबन्धनका दलहरुबीच उक्त मोर्चाको पहल गरेको हो ।

एमालेभित्र सत्ता गठबन्धनका वामपन्थी दलहरुबीच मोर्चा गठन गर्नुपर्नेबारे एकथरीको धारणा छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु सत्तामा नरहेका वामपन्थी र गैरवामपन्थी दलहरुलाई समेटेर जानुपर्ने मान्यतामा अडिग छन् । पहिलेका १० बुँदे पक्षधर अधिकांश नेताले सत्तामा रहेका वामपन्थी दलहरुलाई समेत समेट्नुपर्ने धारणा बनाएका छन् । तर अध्यक्ष ओलीका कारण उनीहरु छायाँमा परेका देखिन्छन् ।

यता,माओवादी केन्द्रभित्र पनि एकथरि नेता एमालेसँग कार्यगत एकता वा मोर्चा गठन गरेर अघि बढ्नुपर्ने धारणा राख्दैछन् । उक्त कार्यमा पूर्वमन्त्री वर्षमान पुन सबैभन्दा अगाडि देखिएका हुन् ।

अहिले एमालेबाट छुट्टिनुभएका नेता वामदेव गौतम पनि उक्त अभियानमा लाग्नुभएको छ । उहाँले एमाले र माओवादी केन्द्रका अध्यक्षसँग यसबीच धेरै पटक कुराकानी गरिसक्नुभएको छ । एमालेसँग पुनः एकता, कार्यगत एकता वा मोर्चा बनाउन नसकिने निश्कर्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नुभएको हो ।

उहाँले त्यस्तो प्रस्ताव बोकेर आउने नेताहरुसँग भन्ने गर्नुभएको छ, ‘एमालेसँग सम्भव छैन, एमाले हरप्रकारले धोकेबाज ठहरिएको छ ।’ विगतका धेरै वटा पक्ष र घटनाक्रमलाई हेर्न उहाँले ती नेताहरुलाई आग्रह गर्नुभएको बताइन्छ । प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले त के नै गरेको छु र,नेकपालाई ध्वस्त बनाउनेदेखि संसद र सरकारलाई छिन्नभिन्न पार्ने कार्य ओलीले नै गरेका हुन् ।’

यता,सत्ता गठबन्धनले समाजवादी मोर्चा बनाउने तयारी लगभग अन्तिम चरणमा पुगेको विषयलाई एमाले र नेपाली काँग्रेसले नजिकबाट नियालेको बताएका छन् । उनीहरुले उक्त कार्य माओवादी केन्द्र र उसका अध्यक्ष प्रचण्डको बार्गेनिङ पावर बढाउनेसँग सम्बन्धित रहेको निश्कर्ष निकालेका हुन् ।

सत्ताधारी प्रमुख दल काँग्रेससँग चुनाव र सरकारको विषयमा थप बार्गेनिङ गर्न समाजवादी मोर्चाको गठनपछि प्रचण्डलाई निकै सहज हुने काँग्रेसको बुझाइ छ । त्यसैगरी एमालेसँग पनि बार्गेनिङ गर्नुपरेको अवस्थामा उक्त मोर्चाको हात माथि पर्ने वाम विश्लेषकहरु बताउँछन् ।

मोर्चा गठनलगत्तै एमालेलाई ती दलसँग छुट्टाछुट्टै छलफल र बार्गेनिङ गर्न सम्भावनासँगै शक्ति पनि क्षीण हुने उनीहरुको निश्कर्ष हो ।

टिप्पणीहरू