नेपाली युवती बेचिने कोठीका कथा

नेपाली युवती बेचिने कोठीका कथा

– जीवन डाँगी

मायानगरी मुम्बईमा अनगिन्ती ‘कथा बोल्ने’ कैयौँ गुमनाम र चर्चित रेड लाइट एरिया छन् । पश्चिम बंगालको कोलकाता र महाराष्ट्रको मुम्बईभित्र दर्जनौँ ठुल्ठूला ‘यौनगृह’ छन् । कोलकाताको सोनागाछी, मुम्बईको कमाठीपुरा र भिवन्डी भारतीय यौन बजारका सबैभन्दा ठूला रेड लाइट एरिया हुन् ।

त्यसो त सोनागाछी दक्षिण एशियाको सबैभन्दा ठूलो र कमाठीपुरा भारतको दोस्रो ठूलो रेड लाइट एरियाको दर्जाभित्र पर्छन् । कमाठीपुरामा करिब चार हजार र भिवन्डीमा एक हजार यौनकर्मी महिला बस्छन् ।

भलै, दुई वर्षअघिसम्म यहाँ दोब्बर देहकर्मी बस्थे । विश्व महामारी कोरोना भाइरसले उनीहरूको संख्यामा कमी आएको छ । एउटा जीवनमा अनेकौँ समस्याबाट गुज्रिन बाध्य भएको यौनकर्मी महिलाहरू बताउँछन् । भारतीय समाजमा उनीहरूको कुनै पहिचान छैन । न अस्तित्व जोगाउने कागज–पत्र नै छन् । बरू यौनकर्मीसामु नयाँ–नयाँ चुनौती उभिएका छन् ।

महामारीले कमाइ खाने ‘यौन–थलो’लाई थला पारेको छ । कमाठीपुरा र भिवन्डी रेड लाइट एरियाका अधिकांश महिलाको दैनिकी थप खस्किएको छ । भिवन्डीका कतिपय यौनकर्मीसँग बैंक खाता छ । तर, प्रायःसँग छैन । खाता खोल्नका लागि बैंकले आधार कार्डलगायत अन्य कागजात मागेको उनीहरूको गुनासो छ । ती कागज–पत्र यौनकर्मीसँग छैनन् । उनीहरूका लागि बैंकको सेवा लिनु सधैं चुनौतीको विषय बनेको छ ।

रेड लाइट एरिया स्रोतका अनुसार यौनकर्मी महिलालाई सहयोग गर्न भिवन्डी रेड लाइट एरियामा सन् २०१८ तिर एउटा सहकारी बैंक स्थापना गरिएको थियो तर कोरोनाले निम्त्याएको संकटले यी सबै संरचना ध्वस्त पारेको उनीहरूको प्रष्टीकरण छ । आर्थिक अभावका कारण भिवन्डीको बैंक गत दुई वर्षअघि नै बन्द भइसकेको छ । त्यसअघि सन् २००७ मा अमेरिकी संस्थाको कोषमार्फत कमाठीपुरामा ‘संगिनी महिला सहकारी बैंक’ स्थापना गरिएको थियो । तर त्योबेला पनि आर्थिक अभाव हुँदा सन् २००९ मै बन्द गर्न बाध्य भएको अधिकारीहरूको गुनासो छ ।

कतिपय यौनकर्मीसँग बैंक खाता छ । तर, आधार कार्डलगायत अन्य कागजपत्र छैनन् ।

संगिनी बैंकमा एउटा फोटोका आधारमा यौनकर्मीको बैंक खाता खोलिएको कमाठीपुराका स्थानीय रामचन्द्र चौहानले बताए । ‘आजकल रेड लाइट एरियामा पहिलेझैँ ग्राहक आउँदैनन् । मुम्बई ज्याँदै महँगो छ । पैसाको चिन्ता छ,’ भिवन्डी रेड लाइट एरियामा यौनकर्म गरेर बाँचिरहेकी ३४ वर्षीया रमिलाले बताइन् ।

उनी चार वर्षअघि भारतको मध्यप्रदेश–भोपालबाट भागेर मुम्बई आएकी हुन् । घर–परिवारसँग टाढिएको वर्षौं भयो । भोपालले अहिलेसम्म रमिलालाई खोजेको छैन । गाउँ–घरप्रति उनको पनि मन भाँचिएको छ । उनीजस्ता कैयौंका यस्तै पीडा छन् । रहरलाग्दो सपना र आशाले थिचिएका छन् ।

आजभोलि काम पाउनै मुश्किल छ । कमाएको पैसा जोगाउनै कठिन छ । नानी–बाबुको पेट पाल्नुपर्ने अर्को जिम्मेवारी पनि छ । मुम्बईले यौनकर्मीहरूको सुधारात्मक उपाय खोजिरहेको अधिकारकर्मी तथा पत्रकार प्रवीण सिंह बताउँछन् । बाध्यताले यौन कर्म रोजेका कैयौँ चेली परिवर्तनको पक्षमा छन् । कोठी उनीहरूको रुचि होइन, बाध्यता हो । भिवन्डीको कोठीमा यौनकर्मीहरूको बसाइ पनि व्यवस्थित छैन । एउटा कोठामा १० देखि १४ जनासम्म बस्छन् । आफूहरूका लागि खोलिएको बैंक बन्द भएपछि समस्या झन् बढेको यौनकर्मी ललिता बताउँछिन् ।

‘पाँच सयदेखि पाँच हजारसम्म पैसा ओछ्यानमा राख्नु परेको छ, कसैले लैजान्छ कि भन्ने डर छ, लुकाएर राख्नुपर्छ,’ उनी भन्छिन् । ‘लत्ताकपडा र भाँडाकुँडा समेत चोरी हुने ठाउँबाट कसरी पैसा जोगाउने ?’ उनीहरूमा ठूलो चिन्ता छ । दुई वर्षसम्म कमाठीपुरा र भिवन्डीका यौनकर्मी महिलालाई ज्यान पाल्न संकट थियो । तर अहिले भविष्यको चिन्ता लाग्न थालेको छ । कथन थियो– मुम्बई कहिल्यै सुत्दैन । मुम्बईले सपना उजागर गर्छ । तर मुम्बई आजकल मस्तले सुतिरहेको छ । मनभित्रका सपना मरिरहेका छन् ।

टिप्पणीहरू