तास आयात गर्न दिइएकोमा केन्द्रीय बैंकका कर्मचारी भन्छन्…
सरकारले विदेशी मुद्रा सञ्चिती बढाउन गत बैशाख १३ गतेदेखि विलासिता र अनावश्यक विदेशी सामान आयातमा रोक लगाएको छ । तर,अहिले एकाएक केही सामानको आयात खुल्ला गरिएको छ । त्यसमध्ये तास पनि हो ।
जुवामा प्रयोग हुने तास नेपालले पछिल्लो तीन आर्थिक वर्षमा एक अर्ब रुपैयाँ बराबरको आयात गरेको छ । ती तास चीन,फ्रान्स,हंगेरी,भारत र अमेरिकाबाट ल्याइएका हुन् । अघिल्ला दुई वर्ष नेपालमा ९४ लाख दुई हजार एक सय सात प्याकेट तास भित्रिएको थियो ।
तर,अहिले त्यही तास आयातलाई खुल्ला गरिएपछि विदेशी मुद्राको कारोबार गर्ने केन्द्रीय बैंकका कर्मचारीले सामाजिक सञ्चालमा रमाइलो तर्क निकालेका छन् । दिपेन्द्र पोखरेलले, ‘तास आयात गर्न दिने तर त्यही तास खेल्ने वर्गलाई सँधै प्रहरी लगाएर हतोत्साही गर्न भएन नि सरकार,’ भनेर लेखेको स्टाटसमा अरु कर्मचारीले प्रतिक्रिया दिएका हुन् ।पोखरेललाई जवाफ दिँदै मनोज गुरुङ लेख्छन्,‘अब बाघचाल खेल्नुपर्छ । बाख्रा र बाघको गोटी धरानको ढुंगाबाट बनाउँदा हुन्छ ।’ त्यस्तै निर्देशक राजनविक्रम थापाले छोटो जवाफ लेखेका छन्, ‘मौलिक र मननीय विचार ।’
अवकाशप्राप्त कर्मचारी विनोदमान श्रेष्ठले सरकारले तास आयात गर्न दिएको सन्दर्भलाई गलत भनेका छन् । ‘यो त ठीक गरेन ! प्रयोग गर्न नमिल्ने वस्तु किन आयात गर्न दिनु ?’ श्रेष्ठले लेखेका छन् । पोखराका शालिकराम गौडेलले भूमिगत रुपमा खेलेर राज्यलाई सहयोग गर्नुपर्ने उपाय बताएका छन् ।
तर सरकारले तास आयात खुलाउनु मुलुकको प्रचलित कानुन विपरितको कार्य हो । जुवा ऐन २०२२ ले जुवातास आयातलाई निरुत्साहित गरेको छ । ऐनले जुवातास खेलाउन वा खेल्नमा प्रतिबन्ध लगाएको छ । सोही ऐनमा टेकेर प्रहरी प्रशासनले तास खेल्ने सर्वसाधारणलाई पक्री मुद्दासमेत चलाउने गरेको छ । यता सरकारले भने व्यापारीको दबाब र प्रलोभनमा दशैंको मुखमा तास आयातलाई खुल्ला गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
टिप्पणीहरू