जंगलमा जर्नेलको जोडीद्वारा अर्को जोडीमाथि ज्यादती

जंगलमा जर्नेलको जोडीद्वारा अर्को जोडीमाथि ज्यादती

जर्नेलको टोलीलाई जब रक्सीले ‘बलवान’ बनायो, तब शिवपुरी जंगलमा मध्यरात अशान्ति मच्चियो । जर्नेल त सन्किए–सन्किए, उनकी पत्नीले पनि अर्की महिलालाई जगल्ट्याउन थालेपछि स्थिति डरलाग्दो बन्यो । २ तारे जर्नेल सागरबहादुर थापा र पत्नी प्रनिताले केही दिनअघि शिवपुरी रिसोर्टमा देखाएको तमाशा हो यो । ‘गुड फ्राइडे’ का नाममा एक लाख ४५ हजारको खानपानपछि पैसा नतिरी हिँडेको जर्नेली टोली हुलहुज्जतमा उत्रिँदा रमाइलो गर्न गएको अर्को जोडी भने घाइते भएर रातारात फर्कियो । लामो समय दरबारको सेवा गरेका राजा वीरेन्द्रका एडिसी जर्नेल ताराबहादुर थापाका छोरा, बुहारी हुन्, सागर र प्रनिता ।

‘गुड फ्राइडे’ मनाउने कार्यक्रमसहित २६–२७ जनाको टोली शिवपुरी पुगेको थियो । प्रज्ज्वल सिंहको उक्त रिसोर्टमा त्यही दिन सामाखुशीका रोशन तिम्सिना जोडीसहित दिउँसो गएका थिए । जब जर्नेलपत्नीलाई रक्सीको नशाले मदहोस बनाउँदै लग्यो, तब उनको आँखा पति र आफ्नो टोलीका अरुतिर लागेन । नजिकै जोडीसहित बसेका रोशनतिर तन्किइन् । रोशनको टेबुलमा बियर लगेर राखिदिइन् । आफ्नो खुशीमा रमाइरहेको रोशनको जोडीले जब अरु नै महिलाले बियर राखेको देखे, त्यसपछि सोधे, ‘कसलाई सोधेर, किन यो बियर राख्नुभयो ?’ यहाँबाट शुरु भएको भनाभन अन्ततः जर्नेलका २६–२७ जनाकै टोली एकातिर, रोशनको जोडी अर्कातिर भएर घम्साघम्सी चल्यो । प्रनिताले रोशनकी पत्नीलाई जगल्ट्याइन् । अरुले रोशनलाई पिट्न थाले । कल्पना गरौं, २ दर्जनको हुलले २ जनामाथि हात हाल्दा के भयो होला तिनको हालत ?

दिउँसो ३ बजेदेखि नै अनेक ब्राण्डका मदिरा र सितनमा रमाएको जर्नेलको टोली त्यहीँ रात बिताउने योजनासहित पुगेको थियो । तर, जर्नेलपत्नीलाई साँझ ८–९ बजेपछि सनक चढ्दा त्यो टोलीले न त्यहाँ रात बितायो, न त खाएको पैसा नै तिर्यो । घुम्न गएका जोडीलाई घाइते बनाएर र लखेटेर आफूहरु पनि राति अबेला ओरालो लाग्यो । खाएको पैसाचाहिँ उनीहरुले पछि गएर तिरेको बताइन्छ ।

जर्नेलपत्नी प्रनिता उनै हिम्मतिली महिला हुन्, जसले १४-१५ वर्षअघि ललितपुर, बागडोलस्थित इनार चोकमा धादिङकी एक युवतीलाई सडकमा ल्याएर जगल्ट्याएकी थिइन् । पतिले ती युवतीलाई ‘बाहरवाली’ का रुपमा राखेको थाहा पाएपछि प्रनिता आक्रमणमा उत्रिएकी हुन् । बाबु दरबारको भित्रिया भएर पनि कुनै घमण्ड नदेखाउने भद्र स्वभावका सागर त्यसदिन किन त्यसरी बिच्किएका होलान् ? उनकै सहपाठीहरु चकित छन् । उनी भर्खर १ तारेबाट उक्लिएर जंगी अड्डाको समारोह, प्रबन्ध, ब्यारेकहरुका दैनिक स–साना झैझगडा, जंगी अड्डाको पेरिफेरि सुरक्षा, सैनिक अनुशासन, हिरासत हेर्ने जिम्मेवारी प्राप्त कार्यरथि अर्थात् एजीका रुपमा कार्यरत छन् ।

टिप्पणीहरू