बैंककमा भेटिएको तर बोल्न हच्किएको त्यो साथी

बैंककमा भेटिएको तर बोल्न हच्किएको त्यो साथी

होमनाथ न्यौपाने – बैंकक, थाइल्याण्ड

वर्षाैंअघिको कुरा हो, जब म म्यान्मार–भारत सीमा क्षेत्रको एउटा कम्पनीमा काम गर्थें । त्यहाँ चिनजानका अनेकौं इष्टमित्र र थुप्रै साथी–भाइ थिए । तीमध्ये एकजना असाध्यै निकट र प्रिय साथीसँग भेट्ने मौका मिल्यो ।

साथीसँग बिताएका ती पल र सम्झनाका यादहरू आज पनि झन्, ताजा भइरहेको महशुस गर्छु– म । त्यो बेला हामीहरूसँग न टिकटक, न फेसबुक, न मोबाइल नै थियो । थियो, केवल एउटा मीठो मित्रता ।

गाउँको जनजीवन साह्रै रमाइलो । जब हामी कम्पनीको ड्युटी सकेर बेलुकीपख सँगै घर फर्किन्थ्यौं– खाना खाइसकेपछि अर्काे साथीको घरमा भेला हुने गथ्र्यौं । एकआपसमा कथा–कहानी सुन्थ्यौं । जीवन भोगाइका अनुभवहरू बाँड्दै हाँसो र खुशीमा मस्त रमाउँथ्यौं । हामीबीच कुनै प्रकारको स्वार्थ थिएन, न त कुनै रिस–डाहा नै । आहा ! त्यो समय क्या रमाइलो थियो । साँच्चिकै रमाइलो थियो ।

तर, समय फेरियो । सपनाहरू फेरिए । हामीहरू नै फेरियौं । रमाइलो पल धेरैदिन टिक्न सकेन । बाध्यताले भनौं वा समयको हुरी ।

म जन्मभूमि म्यान्मारको कचिन राज्यस्थित मिचिनातर्फ फर्कनुपर्यो । मिचिनाको काम–व्यवसाय पनि सोचेजस्तो नहुँदा माता–पितालाई कुनै सुईंको नदिएर सुटुक्क थाइल्याण्डतिर लागेँ ।

दिन राम्रै रहेछन् । थाइल्यान्ड बसाइ सुन्दर छ । मनको इच्छा पूरा भएकै छन् । घर–परिवार खुसीका साथ रमाइरहेका छन् ।

स्मरण गर्छु– म्यान्मार–थाइल्याण्ड यात्राको क्रममा खासै दुःख–कष्ट भोग्नु परेन । प्रिय भाइ–बहिनीको सहयोगले कुशलतापूर्वक थाइल्याण्ड आइपुगेँ । यात्रा हो, तीता–मीठा पल त भइहाल्छन् नी !

रहरलाग्दो सहर, जताततै मन्दिर, थाइ खाना, थाइ संस्कृति, समुन्द्री तट देख्दा थाइल्याण्ड पनि म्यान्मार जस्तै–जस्तै लाग्यो । रमझम साँझ । स्वतन्त्र संसार । गोजीमा पैसा हुनुपर्छ जे पनि पाइन्छ– बैंककमा ।

चोक–गल्लीमा भेटिने छोटा–छोटा कपडाले बेरिएका थाइ युवती । खाइलाग्दो शरीर । वाह ! उग्र राजकुमारीहरू, भो तिनीहरूको कुरै नगरौँ । मानौं– बैंककमा हराउन चारैतिर घुम्नु पर्दैन, अनेक रंगका युवतीहरू हेरे मात्रै पुग्छ ।

त्यो बेला चिटिक्क परेको जीउडाल देखेर यस्तो लाग्थ्यो– हैट ! उहिल्यै आइपुग्नु पर्ने रहेछ, ढिला गरेछु । जेहोस्– भगवानको कलाकारिता न होला ! हृदयदेखि नै हजुरलाई मनमन नमन । जय भाग्य विधाता ।

थाइल्यान्डको बसाइँ झन्–झन् रंगीन र रोचक बन्दै थियो । एक दिनको कुरा हो– म बिहान सबेरै उठेँ । एउटा मनोरञ्जन कार्यक्रममा जान तयार भएँ । नुहाएपछि नास्ता खाएँ, अनि कार्यक्रमतिर लागेँ ।

हतार–हतार कार्यक्रमस्थलमा पुगेँ । नाचगान सुरू हुनै लागेको थियो । तयार पारिएको सीटमा थचक्क बसेँ । अनि कार्यक्रम पनि सुरू भइहाल्यो ।

एउटा व्यक्ति हातमा माइक समातेर मञ्चतिर आउँदै गरेको देखेँ । उसलाई देखेर छक्क परेँ । हँ…! ऊ त मेरो प्रिय साथी होइन र ? त्यो म्यान्मार–भारत सीमा क्षेत्रको कम्पनीमा एकताका सँगसँगै थियौं । हो– त्यहि साथी हो ! उसको त्यो बोल्ने शैली । त्यो जीउडाल, त्यो स्टाइल, मेरै प्रिय साथी हो ।

हामीहरू छुट्टिएको वर्षौं भएछ– झण्डै १२, १३ वर्ष । ऊ निकै फेरिए छ । हुनत म पनि फेरिएँ । साथीले कार्यक्रमको उद्घोषकको कार्यभार लिएको रहेछ । ऊ मञ्चमा उभिएर एकोहोरो बोलिरह्यो । तर के–के भन्यो मलाई थाहा छैन । साथीलाई देखेर मनमनै रमेँ । विगत सम्झेँ– सँगसँगै काम गरेको स्मरण गरेँ । सुख–दुःख याद गरेँ । म उही ठाउँमा पुगेँ, जहाँ हामीहरूको अन्तिम बिछोड भएको थियो ।

मेरो साथी एकदमै उत्साहित थियो । जोश र उमङ्गको तालमा माइक समातेर हाउभाउमा मस्किरह्यो । मैले हेरिरहेँ । हात हल्लाउँदै बोलिरह्यो, उ । कार्यक्रम बिसर्जनपछि सबैजना आ–आफ्नो बाटो लागे । कतिपय खानाका लागि भान्साघरतिर गए । म पनि उतै लागेँ ।

हिँड्दै थेँ– अघिअघि अर्काे मान्छे हिँडिरहेको पनि देखेँ । अरे… ऊ मेरै साथी थियो । पछ्याउँदै हिँडिरहेँ ।

सामुन्ने पुगेर सम्बोधन गरेँ– ‘नमस्कार साथी ।’

साथीले जवाफ दियो– ‘नमस्कार ।’

मैले सोधेँ– ’मलाई चिन्नुभयो ? के त एक पटक सँगसँगै बसेको ।’

ऊ बोल्न खोजेन । अर्थात् मेरो प्रिय साथी मलाई देखेर तर्कियो । छेउछाउ थुप्रै नातेदार र भाइहरू थिए । म्यान्मारबाट थाइ सहरमा काम खोज्दै आएका उनीहरू मजस्तै निर्दाेष देखिन्थे । तर उनीहरूकै अघि मेरो साथीले मलाई नै चिन्दिनँ भनिदियो ।

तर, उसका निर्दाेष आँखा बोल्थे– भनिरहेका थिए, त्यो तेरै साथी हो । जहाँ थुप्रै समय सँगै बसेर एउटा कम्पनीमा काम गरेका थियौं ।

आँखाले चिने पनि उसले चिन्न सकेन । भन्यो– ‘तपाईसँग मेरो भेट भएकै छैन।’

त्यसपछि मैले भने– ‘ए… माफि चाहेँ है । गल्ती भएछ ।’ अनि ऊ आफ्नो बाटो लाग्यो । म पनि हिँडे अन्तैतिर ।

होइन ! मै पो झुक्किएँ कि क्या हो । सोचिरहेँ । उसलाई हेरिरहेँ । ऊ सबैसँग हात मिलाउँदै, अँगालो मार्दै, नमस्कार गर्दै, हाँसीखुसी मस्तसँग रमाइरह्यो । यता मेरो मन भारी भयो । मेरो एउटा साथी वर्षाैंपछि भेटियो तर मलाई नै चिनेन । मानौं– ऊ बैंककमा हाइहाइ भइसकेको रहेछ ।

लगतै मैले एक–दुई जना साथीलाई सोध्दा झन् ढुक्क भएँ, उ त्यहि ठाउँबाट आएको रहेछ । उसको नाम … नै रहेछ । जहाँ उसलाई त्यहि नाउले नै चिनिन्छ । मैले मनमनै भनेँ ः ठीकै छ, साथी तिमी तिम्रै दुनियाँमा रमाउ । अबदेखि तिम्रो छेउछाउ मेरो साथी भनेर म कहिल्यै पनि आउदिनँ ।

पुरानो साथीलाई मैले साथी भनेँ । तर गल्ती गरेकै छुइनँ । भो! अब मेरो साथी भनेर कसैलाई चिनाउदिनँ । र, सुनाउँदिन पनि । तर, तिमी मेरो प्रिय साथी नै हौ । म तिमीलाई कहिल्यै भुल्न सक्दिनँ । तिमी अभावको साथी हौ । तिमी संकटको साथी हौ । तिमी त्यो बिरानो बस्तीको प्रिय साथी हौ ।

साथीको अर्थ के हो, त्यो मैले राम्रोसँग बुझेको छु । अझै पनि उसँग कहिलेकाहीँ भेट हुन्छ । मलाई देख्ने बित्तिकै मेरो साथी मलाई नदेखे झैँ गरी भाग्छ । ऊ ठूलो मान्छे भइसक्यो । मसँग बोल्न रूची देखाउँदैन । देख्यो कि दौडिन थाल्छ ।

ऊ थाइल्याण्डको थप प्रगतिले मातिएको छ । उसका नयाँ–नयाँ साथी छन् । बिगत बिर्सिसकेको छ । तर ऊ जतिकै क्रुर भएपनि उसको मन शान्त छ, कोमल छ, दृश्य निर्दाेष छ । किनकि ऊ मेरो साथी हो । उसको मनको कुना–कुना छामेको छु । मलाई राम्रोसित पत्तो छ ।

तर, प्रिय साथी! तँ मलाई अबुझ पनि नसोच । मैले तेरो बाटो कहिल्यै छेक्दिनँ । बरू बाटोका काँडाहरू पन्छाइदिनेछु । तेरो व्यवहार र बोली निकै माथि पुगेको छ । तँ नबोले पनि म खुशी छु । मेरो धेरै–धेरै शुभकामना छ ।

बैंककमा एउटा साथी छ । ऊ मलाई चिन्दैन । तर ’मेरो एउटा साथी छ, ऊ असाध्यै प्रिय छ ।’

टिप्पणीहरू