बादलले त्यसो भनेपछि ‘बिचरा’
‘ढिलोचाँडो त्यतैको बाटो हो, तपाईंहरू अहिल्यै गइहाल्नुस्, सुरक्षित भइहाल्नुस्…!’ ०७७ पुस ५ देखि अहिलेसम्म एमालेमै रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ ले आफू निकटस्थलाई यस्तो भन्ने गरेको पाइएको छ । अर्थात्, आफ्नो व्यवस्थापनको विषयमा कुरा गर्न जाने नेता–कार्यकर्तालाई माओवादीमै फर्किएर ‘सुरक्षित’ हुन भन्ने गरेका छन् ।
लामो समय प्रचण्डको साथमा रहेर अनेकन सुखभोग गरेका र ०७७ पुस ५ पछि खाइपाई आएको सत्ता छोड्न नपरोस् भनी केपी ओलीलाई साथ दिएका यी नेताले पार्टीभित्र कसैलाई पनि उचित व्यवस्थापन गर्न नसकेपछि माओवादीतिरै फर्किन लगाएका हुन् । बादल आफैँ पार्टी उपाध्यक्ष छन्, तर भूमिकाविहीन ।
पछि आफ्नो बाटो पनि त्यही, अर्थात् माओवादीमै जाने कारण उनले त्यस्तो भनेका रहेछन् । यस्तो भनाइ सुनेर फर्किने नेता हुन्, सल्यानका नेपबहादुर केसी र ‘क्षितिज’ भनेर चिनिने तिलकबहादुर मल्ल । यी दुबै त्यस्ता व्यक्ति हुन्, जो पहिला प्रचण्डसँग विद्रोह गरेर बादलसँगै वैद्यतिर लागे । ०७४ सालमा बादलहरूले फेरि वैद्यसँग विद्रोह गरी प्रचण्डतिर फर्किंदा यिनीहरू पनि सँगै रहे । बादल एमालेमा लागे, उनीहरू पनि त्यतै भए ।
तर, एमालेले उनीहरूको न्यायोचित व्यवस्थापन गरेन । क्षितिज सल्यान, बागचौरको मेयरमा एमालेबाट उठेका थिए । कांग्रेसले जितेको त्यहाँ उनी माओवादीको भन्दा कम मत ल्याएर तेस्रो भए । नेपबहादुरचाहिँ बादल गृहमन्त्री हुँदा सचिवालयमै रहेर काम गरेका व्यक्ति हुन् । उनले यसचोटिको चुनावमा प्रदेशसभाको सकेसम्म प्रत्यक्ष, नभए पनि समानुपातिकका लागि बन्दसूचीमा पारिदिन आग्रह गरेका थिए । तर, अनपेक्षित उत्तर पाए ।
बादलले नसक्ने भएपछि यी दुबै भाइ अर्का नेता टोपबहादुर रायमाझीकहाँ पुगे । उनले पनि त्यस्तै निरीहता प्रकट गरे । ‘अहिल्यै अलग समूह बनाऔँ, विद्रोहको सन्देश जाने भयो’, टोपबहादुरले भने, ‘हामी पूर्वमाओवादीलाई हेर्ने एमालेहरूको दृष्टिकोण आत्मीय छैन । हाम्रो बोलीको सुनुवाई पनि हुँदैन ।’
भर परेका नेताले नै यस्तो जवाफ दिएपछि विरक्त भएर उनीहरू प्रचण्डकहाँ पुगे । स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरू संसदीय चुनावसम्म आइपुग्दा यसरी भाँडिने स्थितिबाटै बुझ्न सकिन्छ, एमालेमा बादलहरू कुन अवस्थामा छन् भन्ने कुरा । कार्यकर्ता त संरक्षण गरेनन्, तर परिवारचाहिँ संरक्षित छन् । कसरी भने, बादल पत्नी नैनकला थापालाई एमालेले प्राथमिकतासहित समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ ।
टिप्पणीहरू