अल्पसंख्यक शिखहरुको नेपालमा पनि सदाशयता
नेपालसहित विश्वभरको शिख समुदायले हिजाे शक्रबार गुरु नानक जयन्ती मनाएका छन् । शिख गुरु नानक साहब जन्मेको दिन कात्तिक पूर्णिमामा भव्यताका साथ यो पर्व मनाउने गरिन्छ ।
गुरु नानक देवको सम्मानमा मनाइने यो पर्वलाई 'प्रकाश पर्व'को रुपमा पनि लिने गरिन्छ । हिजाे शिख धर्मावलम्बीहरुले गुरुद्वारा पुगेर गुरुग्रन्थ साहिबको पाठ गरेका छन् । त्यहाँ हुने भजन कीर्तनमा सामेल हुँदै गुरु नानकको प्रवचन गरिन्छ । यसैबीच गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष सरदार प्रितम सिंहको नेतृत्वमा कुपण्डोलस्थित गुरुद्वारामा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
धार्मिक संस्थाका रुपमा अघि बढाईएको उक्त संस्था अहिले परोपकारी संस्थाका रुपमा पनि चिनिन्छ । उमेरले ९० वर्ष पुगेका प्रितम सिंहले त्यसको नेतृत्व गरिरहेका छन् । ७० वर्षदेखि नेपालमा रहेका उनी बुढ्यौली उमेरमा पनि उत्तिकै सक्रिय देखिन्छन् ।
प्रितम २० वर्षको उमेरमा भारतको जम्मु-कश्मिरबाट नेपाल छिरेका थिए । नेपालमा पहिलो पटक ट्रक भित्र्याउने यी सरदारले यहाँको आर्थिक विकासमा पनि चर्चायोग्य योगदान गरेका छन् । सन् १९५९ मा झण्डै चार सय ट्रक नेपाल ल्याएर हिमाल, पहाड, तराई सबैतिर दौडाएका उनलाई कतिपयले 'यातायात क्षेत्रका पिता' समेत मान्ने गरेका छन् । उनको नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनीलाई नेपालकै पहिलो ट्रान्सपोर्ट कम्पनी मानिन्छ ।
प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ का रुपमा पनि लिने गरिएको छ । राजा महेन्द्रका पाइलटसँग चिनजानका माध्यमबाट दरबारले बोलाएपछि बाबुसँगै कलिलो उमेरमा नेपाल आएका थिए उनी । त्यसपछि भारतले सहायतास्वरूप दिएको चामल रक्सौलबाट काठमाडौं ल्याइदिन राजा महेन्द्रले अनुरोध गरेको प्रसंग उनले सुनाउने गरेका छन् । नेपालमा खाद्य संकट परेको यो सन्दर्भ सन् १९६१ को हो ।
राजाको अनुरोधअनुसार प्रितमले त्यतिबेला खाद्यान्न ढुवानी गर्दा लाग्ने शुल्कभन्दा निकै सस्तोमा ल्याइदिएका थिए । त्यसबाट प्रसन्न राजा महेन्द्रले उनलाई दरबार बोलाएर एक हजार रुपैयाँ बक्सिस दिँदै सरदारहरु साहसी र इमान–जमानका पक्का हुँदा रहेछन् भनी प्रशंसा गरेको उनले गर्वका साथ सुनाउने गरेका छन् ।
त्यसबेलादेखि सरदार प्रितम सिंह नेपालको विकास यात्राको निरन्तर सारथी बनेका छन् भन्दा अतिशयोक्ति नहोला । जसकारण नेपालका सबैजसो शासकहरूसँग उनको घनिष्ठ सम्बन्ध रहँदै आयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले भूमिका खेलेको समेत बताएका थिए ।
प्राकृतिक विपद् तथा दुर्घटनाजन्य घटनाका बेला उद्धार तथा पुर्नस्थापनामा पनि प्रितमको विशेष योगदान रहँदै आएको छ । २०७२ सालको महाभूकम्प, कोरोना महामारी, बाढीपहिरोले संकट निम्तिएका बेला बहादुरीपूर्वक सक्रिय रहने उनले भारतलगायत विश्वका विभिन्न मुलुकमा रहेका शिख समुदायका उपकारी व्यक्ति तथा संस्थाबाट सहयोग जुटाएर पीडितलाई राहत तथा पुनर्स्थापनामा मद्दत पुर्याएका थिए ।
भूकम्पका बेला महिनौंसम्म काठमाडौं उपत्यकासहित प्रभावित जिल्लाका पीडितलाई निःशुल्क खाना खुवाउने, लत्ताकपडा बाँड्ने, खाद्यान्न वितरण गर्ने तथा दैनिकी चलाउन आवश्यक सामग्रीहरु उपलब्ध गराएको बिर्सन सकिंदैन । त्यसबेला उनले भूकम्प प्रभावितका लागि हजारौं टहरासमेत बनाइदिएका थिए ।
सयौं ट्रक खाद्यान्न दिल्ली, अमृतशहरलगायत भारतबाट नेपाल ल्याएका प्रितमले विश्वका अन्य शिख परोपकारी खाल्सालाई समेत नेपाल बोलाएर सहयोग जुटाएका थिए । अहिले पनि हरेक शनिबार गुरुद्वारामा हुने प्रार्थना सभामा सहभागी हुनेलाई निःशुल्क लंगर (भोजन) गराउने परम्परालाई उनले जारी राखेका छन् । गुरुद्वारा गरिब, दुखी, असाहायका लागि आश्रयजस्तै बनेको छ ।
यतिमात्र होइन प्रितमले गुरुद्धारामा आउने बेसाहारालाई निःशुल्क बास बस्ने व्यवस्था पनि मिलाएका छन् । जनआस्थासँग कुरा गर्दै उनले भने, ‘नेपालमा पैसा पनि कमाइयो, मान र सम्मान पनि पाइयो । यसबाट म सन्तुष्ट र खुशी छु’, चम्किलो अनुहारमा उनले भने ।
गुरु नानक पाँच सय ५५ वर्षअघि नेपाल आएका थिए । उनी काठमाडौंको बालाजुस्थित एक ठाउँमा छ महिनासम्म ध्यानमा बसे । उनको आश्रमको क्षेत्रफल निकै ठूलो थियो । तर, अहिले ती सबै जग्गा अतिक्रमित भैसकेका छन् । त्यहाँ पनि प्रितम सिंहले गुरु नानकको गुरुद्धारा बनाउने इच्छा रहेको बताएका छन् । जग्गा अभावले तत्काल सम्भव नभएपनि अदालतको आदेशले सम्भव हुने उनको विश्वास छ । जग्गा अतिक्रमणविरुद्ध अदालतमा विचाराधीन मुद्दा जितिने आश उनले मारिसकेका छैनन् ।
न्यायालयबाट न्याय पाए विशाल र भव्य गुरुद्धारा बनाउने उनको योजना छ । त्यसले नेपालको धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान पुर्याउने प्रितमको विश्वास छ । 'अदालतले हाम्रो पक्षमा फैसला गरिदियो भने हामी ठूलो गुरुद्वारा बनाउछौँ, र विश्वभर छरिएर रहेका शिख समुदायलाई नेपाल भित्र्याएर धार्मिक पर्यटनको हव बनाउन सकिन्छ', उनले सुनाए ।
प्रितमले नेपालको यातायात क्षेत्रमा पुर्याएको योगदान र नेपालसँगको सम्बन्धबारे उनकी छोरी किरणदीप सिंहले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’मा धेरै कुरा उल्लेखित छन् ।
टिप्पणीहरू