निर्वाचन आयोगकी म्याडम जब आफै नाच्न,गाउन थाल्नुभयो …
निर्वाचन आयोगकी एक मात्र महिला आयुक्तले चुनावसम्बन्धी गीतमा स्वर दिँदै मोडलिङ गरेपछि विवादमा तानिनु भएको छ । ओली सरकारद्वारा नियुक्त जानकी तुलाधरले आयोगले बनाउन लगाएको एउटा चुनावी गीतमा पनि स्वर मिसाएको र नाचेको पाइएको हो ।
‘आयुक्त तुलाधरले आफ्नै स्वर हालेर गीत गाएपछि लफडा भयो,’ त्यहाँका एक जना उपसचिवले बताए । आयोगका अर्का आयुक्तले भने ‘गीतमा एक्सिडेण्टल्ली परेको स्वर हटाइयो,त्यो गीतको भुक्तानी पनि भएको छैन । अब नयाँ स्वर हालिएको छ ।’
निर्वाचन आयोगले तयार पारेको श्रव्यदृश्य सामाग्रीमा त्यहीँका नातेदारहरुको स्वर र अनुहार देखिएपछि चर्को विरोध भएको छ । आयोगले उक्त कामको निम्ति एउटा कम्पनीलाई जिम्मा दिए पनि कम्पनी र आयोगका ठूलाबडाका नातेदारलाई अनुहार देखाउने मेसो बनाइदिँदा भित्रैबाट आलोचना भएको हो ।
तुलाधरलाई आयोगले निर्वाचनसम्बन्धी श्रव्यदृश्य र मतदाता शिक्षासम्बन्धी मामिला (विज्ञापनसमेत) हेर्ने जिम्मेवारी दिएको छ । तुलाधरको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘गीत र भिडियो बनाउने कम्पनीले तपाईं नै गाइदिनोस् भनेर अनुरोध गरेपछि जोडिएकी हुँ । सोवापत पैसा लिएको छैन ।’
तर अहिले त्यो गीतको पुरानो स्वर सबै हटाइएको आयोगको दाबी छ । ‘नयाँ र महँगा कलाकार तथा गायकलाई पैसा तिर्न परेपछि बिचरो भिडियो बनाउने कम्पनी डुब्यो ।’ आयोगले सामान्य कमजोरी भए पनि दरभाउमा भने सरकारी निकायले भन्दा निकै सस्तोमा त्यस्ता सामाग्री तयारी पार्ने गरेको बताएको छ ।
नेपाल सरकारका अन्य निकायले तिरेको भाउ भन्दा आधा सस्तोमा आफूहरुले ती काम फत्ते गरेको एक जना आयुक्त बताउँछन् । तर, ‘सस्तो बेसाउँदा पेट लागेको’ सन्दर्भ कोट्याउँदा भने उनले कुनै प्रतिक्रिया जनाएनन् ।
आयोगको श्रव्यदृश्य सामाग्रीमा प्रयोग भएका केही अनुहारले बजारमा राम्रा गायक,गायिका र मोडल नै नभएको अवस्था देखिएको भन्ने बुझाउँछ । तर, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आफैँ राम्रा गीतकारमध्ये एक हुनुहुन्छ । तर उहाँले यसतर्फ कुनै रुची नदेखाएको आयोगका सहसचिवहरु बताउँछन् ।
टिप्पणीहरू