विशेष अदालतको फागुन र चैतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

विशेष अदालतको फागुन र चैतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा भएका मुद्दाका फैसलामध्ये तीन वटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको जनाएको छ ।

घुस–रिसवत, झुटो बकपत्र र गैरकानूनी लाभहानी पुर्याएर भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो । जबरजस्ती करणी मुद्दाको जाहेरी दर्ता गराउन सहजीकरण गरिदिने भन्दै नौ हजार रुपैयाँ घुस बुझेको आरोपमा इलाका प्रहरी कार्यालय मिचैया, सिरहाका तत्कालीन प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो । 

तर, विशेष अदालतको गत चैत २५ गतेको फैसलाले उनलाई सफाई दिएको हो । सोही मुद्दामा सरकारी साक्षीको रुपमा अदालतमा पेश गरिएका उजुरीकर्ताले बयान फेरेपछि अख्तियारले उनीविरुद्ध पनि मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले उनलाई समेत सफाई दिएको आयोगले जनाएको छ । 

यस्तै, सर्लाहीको कविलासी–८, स्थित अधुरो रामजानकी मन्दिर निर्माण कार्यमा अनियमितता गरेको भन्दै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर रायसहित छ जनाउपर मुद्दा दायर गरिएको थियो । विशेष अदालतको गत फागुन २० गतेको फैसलाबाट प्रतिवादी सबैले सफाई पाएका छन् । अख्तियारले दुवै फैसला त्रुटिपूर्ण रहेको ठहर गर्दै बदर हुनुपर्ने मागसहित पुनरावेदन गरेको हो ।

टिप्पणीहरू