कालिकाको चेपाङबस्ती पक्की सडकबाट जोडिँदै
चितवनको कालिका नगरपलिकाअन्तर्गतको चेपाङ बस्तीलाई कालोपत्रे सडकबाट जोड्न थालिएको छ । हालसम्म पक्की सडक नपुगेको एक मात्र ११ नम्बर वडा कार्यायलाई पक्की सडकबाट जोड्न पालिकाले आवश्यक स्रोतको व्यवस्था गरेको जनाइएको छ ।
संघीय सरकारको समपुरक अनुदानअन्तर्गत एक करोड ९० लाख र कालिका नगरपालिकाबाट एक करोड ९० लाख गरि कुल तीन करोड ८० लाख बजेट जोहो गरिएको छ । सिद्धि तीन दोभानदेखि ११ नम्बर वडा कार्यालयसम्म सडक निर्माण योजना कालिका नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरेको छ ।
उक्त योजना कार्यान्वयनको निम्ति चार करोड १५ लाखको लागत अनुमान स्वीकृत पश्चात् ठेक्का आह्वान गरिएको हो । टेण्डरमा सबैभन्दा कम कबोल गर्ने शक्ति शिव जिआरम जेभीलाई दुई करोड ८८ लाख ८५ हजारमा ठेक्का दिइएको छ । उक्त निर्माण कम्पनीसँगसम्झौता भएपछि निर्माण कार्यको शिलान्यास आजै नगर प्रमुख विनोद रेग्मीले गरेको बताइएको छ ।
उक्त सडक निर्माणमा एक हजार ७०० मीटर कालोपत्रे, २२३ मीटर ढलान सडक हुने छ । ११ नम्बर वडा कार्यालयबाट रन्तेस बजारसम्म एक हजार १०० मीटरको सडक पनि निर्माण हुने नगरापालिको जनाएको छ ।
सडक निर्माणसँगै पक्की नालीको लम्बाई दुई हजार ८०० मीटर हुने छ । सडक निर्माण आगामी असार १५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको नगर प्रमुख रेग्मीले बताए ।
टिप्पणीहरू