सेनापति हुन्छ भन्ने, केही नगर्ने– बालेन ठोक् भनेर लुसुक्क बाटो लाग्ने

सेनापति हुन्छ भन्ने, केही नगर्ने– बालेन ठोक् भनेर लुसुक्क बाटो लाग्ने

– यादवलाल कायस्थ, संयोजक, सम्पदा संरक्षण महाअभियान

सम्पदा र संस्कृति जोगाउन निरन्तर कम्मर कसेर लागेका युवा हुन् यादवलाल कायस्थ । अघिल्लो साता अर्थात् नेवारहरूले मनाउने नेपाल संवत प्रारम्भ भएकै दिन सिनामंगल, पेप्सीकोला छेउ सेनाको संरक्षणमा रहेको क्षेत्र जहाँबाट ¥याली निस्कन्छ र जहाँ ऐतिहासिक धारा छ,मा झण्डै सेनाले गोली चलाएको । काठमाडौंका मेयर बालेन साहले जनमानसलाई ‘यो गेट अहिले नै भत्काउनुपर्छ’ भन्ने आदेश दिए । उनको आदेश मानेर जनमानस भड्किएको भए कोरोनाकालमा पाटनको रातो मछिन्द्रनाथको जात्रा देखाउँदाभन्दा सय गुणा बढी रक्तपात हुने थियो । कायस्थकै आग्रहपछि त्यहाँका सर्वसाधारण रोकिए र धन्न कुनै अप्रिय घटना हुन पाएन । १० वर्षसम्म नेपाली सेनाको जागिर खाएका र लगत्तै सम्पदा संरक्षण अभियानमा होमिएका कायस्थको नाम हिती (ढुंगेधारा) सँग जोडिएर आउने गर्छ । दरबारमार्ग क्षेत्रमा सात सय वर्ष अघिदेखि हराएको हिती उनकै सक्रियतामा फेला प¥यो, जहाँ अहिले पानी बग्न थालेको छ । मासिएका, पुरिएका, हराएका हिती संरक्षणमा कटिबद्ध उनै कायस्थले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।

तपाई संयमित नहुनुभएको भए नेपाल संवतको दिन नेपाली सेनासँग भयंकर भिडन्त हुनेरहेछ है ?

– सेना हातहतियारसहित तयारी अवस्थामा थियो । भीड संयमित नभएको भए त्यहाँ भयंकर भिडन्त र रक्तपात हुन सक्थ्यो ।

त्यस दिनको घटनाचाहिँ के हो ? अलि विस्तृतमा बताइदिनुहोस् न !

– ११४२ वर्ष अघिदेखिको एउटा ऐतिहासक स्थल छ सिनामंगलमा । त्यो संरक्षणतर्फ राज्यका कुनै निकायको ध्यान गइरहेको छैन । तीन वर्षदेखि प्रयास गरिरहेको छु । विभिन्न क्षेत्रका इतिहासविद्देखि पुरातत्वविद्लाई लगेर त्यो ठाउँ देखाइरहेको छु । बुझाइरहेको छु । नेपाल संवत शुरु भएदेखिको ढुंगा छ त्यहाँ जसलाई नेपाल भाषामा शिला : मुग भनिन्छ । सीमाना या मुग : को अर्थ ‘सीमानाको ढुंगा’ भनिन्छ । यो शिलालाई सीमानाको ढुंगा भन्नुको कारण यो काठमाडौं, भक्तपुर र ललितपुरको मध्य भाग हुनु हो । जसलाई जिरो किलो पनि भनिन्छ । शिला भनेको ढुंगा मुग भनेको स्तम्भ ।

कसैले केही कुरा घोषणा गर्दा सबैले देख्ने वा सुन्ने गरी गर्नुपर्छ । यही शिलामा नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाले आफूसँग अरूले लिएर गएको ऋण मुक्त गरेको किम्वदन्ती जोडिएको छ । त्यहीँ शंखधरको शालिक पनि थियो पहिला । अहिले त्यो पशुपतिमा जीर्ण अवस्थामा छ । तीन वटा जिल्लाको जिरो किमिमा बसेर राष्ट्रिय विभूति शंखधरले ऋण मुक्त भएको घोषणा गर्नुभएको ठाउँ । हाम्रो देश विश्वमा कहिल्यै उपनिवेश भएन । नेपालीले कसैको दास हुनु परेन ।

विश्वका कुनै पनि देशको आफ्नै संवत छैन तर शंखधरले यति ठूलो काम गर्दा आफ्नो, परिवार वा जातको नाम नराखी देशको नामबाट संवत राख्नुभयो । नेवारहरू नामको उतिबिघ्न भोका देखिँदैनन् भन्ने उदाहरण हो । जस्तो कि थापागाउँ, न्यौपाने टोल, मगरबस्तीलगायत अनेकन बस्ती र टोलहरू जातको नामबाट राखिएको देखिन्छ । नेवारहरूलाई उल्टै जातिवादीको आरोप लगाइन्छ तर त्यो ठाउँलाई अहिले सिनामंगल भनिन्छ । त्यसको नामचाहिँ शिलामुगबाट अपभ्रंश हुँदै सिनामंगल बनेको हो । सिनामंगलको कुनै पनि डिक्सनरीमा अर्थ छैन ।

बालेनले कुरै नबुझी जनतालाई सेनाको ब्यारेक भत्काउन उक्साएका हुन् त !

– कात्तिक ९ गते नेपाल संवत शुरु भएको अर्थात् म्ह पूजाको दिन । बालेन साह मेयर भएपछि यो घटना हुनुभन्दा १० दिनअगाडि लगेर त्यहाँको महत्व बुझाएँ, आफैंले त्यो ठाउँ घुमाएँ । बीचमा केही काम भएन । त्यहाँको गेट नेपाली सेनाले अघिल्लो दिन नै खोलिसकेको थियो । गेट काट्न मेसिन लिएर आएको भिडियो मसँगै सुरक्षित छ । तर, बीचैमा तुरुन्तै कसको फोन आयो थाहा भएन, गेट बन्द गरियो । हामीले बाहिरै मञ्च बनाएर कार्यक्रम ग¥यौँ ।

योजना थियो– बिहान ८ बजे मेयर आएपछि कार्यक्रम शुरु गर्ने । उनी आठ बजे आइपुगेनन् । पहिलेदेखि नै आएका नगरपालिकाका एसपी राजु पाण्डेहरूको गतिविधिचाहिँ शुरुदेखि नै शंकास्पद देखिन्थ्यो । कुना–कुनामा गएर कहिले कोसँग कहिले कोसँग मोबाइलमा गफिरहेको देखिन्थ्यो । यदि, भत्काउने नै भए सम्बन्धित निकायसँग समन्वय गरेर मात्र भत्काऔं भनी मैले शुरुदेखि नै भनिरहेकै थिएँ । ९ बजे कार्यक्रम सकियो । त्यसपछि बल्ल मेयर आइपुगे । र, यो गेट अहिले नै भत्काउनू भन्ने आदेश दिए । त्यहाँ स–सना बालबच्चादेखि बूढापाकासम्म थिए । भर्खरै भत्काइदेऊ भन्ने उनको अभिव्यक्ति अत्यन्त गैरजिम्मेवारपूर्ण थियो । मैले तत्काल रोकेँ । भत्काउने भए अघिल्लो दिन वा नयाँ वर्षको भोलिपल्ट भत्काएको भए पनि हुन्थ्यो ।

त्यहाँ जनतालाई यसरी नै उक्साइरहेको दुई वर्षअघि कोरोनाकालमा पाटनको रातो मछिन्द्रनाथको जात्रा देखाउँदा भएको भन्दा सय गुणा बढी रक्तपात हुन्थ्यो । उनीहरू सुनियोजित ढंगले त्यहाँ आएका थिए । सेना हतियारसहित पोजिसनमा थियो । दर्जनौं सशस्त्र प्रहरी, नेपाल प्रहरी तैनाथ थिए । चार चार वटा सुरक्षा निकाय तैनाथ भएको ठाउँमा जनतालाई सुरक्षा दिने कि उल्टै तोडफोडका लागि उक्साउने ? केही बिघ्न भएको भए मेयरलाई गाडीमा राखेर सुरक्षासहित लगिहाल्थ्यो । कसैले समातेर लैजाने होइन । हदै गरिए मेयरसँग स्पष्टीकरणसम्म सोधिन्थ्यो होला । यो मेरो क्षेत्रमा पर्दैन भनेर वा आयोजकलाई देखाएर उनी उम्किन्थे । त्यहाँ हताहत भएको भए धेरै सोझासिधा र आयोजक पर्ने सम्भावना थियो ।

नेपाली सेनाले धेरै साँस्कृतिक ठाउँमा हस्तक्षेप गरेको छ भन्ने सुनिन्छ । यहाँले कहाँ–कहाँ त्यस्तो देख्नुभएको छ ?

– सेनाले धेरै ठाउँमा अतिक्रमण गरेको छ । यद्यपि, केही स्थानमा त्यसको संरक्षण पनि गरेको छ । विश्वसम्पदा सूचीभित्र पर्ने हनुमानढोकाभित्रै पनि सेनाको अतिक्रमण छ । भन्न त सेना सुरक्षाको नाममा बसिरहेको भनिन्छ तर त्यसलाई सुरक्षा कम, र कब्जा धेरै भन्न मिल्छ । निषेधित क्षेत्र भनेर जहाँ सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ त्यही ठाउँमा सेनाले मनलाग्दी सम्पदाको विनाश गरिरहेको प्रमाण देखाउन सक्छु । मल्लकालीन फल्चामा सेनाले दुई ठाउँमा चकलेट बेचेर बसिरहेको छ । अहिले पनि उसले टेलरिङ चलाइरहेको छ ।

स्वयम्भूकाे ठ्याक्कै मुनि सेनाकाे बारूदखाना छ । ड्वाङ ड्वाङ बम पड्काइन्छ । उनी रिसाएर केही फरक पर्दैन । फुटपाथमा बस्ने सर्वसाधारणलाइ नरूवाइकन हटाउने एजेण्डा मेरै हाे ।

ठिमीको गठ्ठाघर ब्यारेकमा उसैगरी पानीको मुहानकै विनाश गरिरहेको छ । त्यहाँ ब्यारेकभित्र पानीको प्रकृतिमैत्री पाइप छ । त्यसको संरक्षण गर्न खोज्दा कर्णेल राजेश सिंहले हामीलाई उल्टै दुव्र्यवहार गरे । प्रधानसेनापतिसमक्ष यो विषयमा भेटेरै जाहेर पनि ग¥यौँ । उहाँसँग भेट्दा १ महिनाभित्रै यो समस्या समाधान गर्छु भनियो तर ६ महिना भइसक्दासमेत बोली कार्यान्वयन भएन । अर्काे नमीठो दृश्य देखिन्छ स्वयम्भूमा । विश्व शान्तिको कामना गर्दै स्वयम्भू बनाइएको छ । त्यसको ठ्याक्कै मुनि सेनाको बारुदखाना छ ।

शान्तिस्थल मुनि बारुदखानामा ड्वाङ ड्वाङ बम पड्काइन्छ । यस्ता विषय कसैले उठाउँदैन । कसैलाई चासो पनि हुँदैन । स्वयम्भूमा नेपाली सेनाको ब्यारेकै ब्यारेक छ । मान्यता छ कि काठमाडौं अष्टमातृका राखेर स्थापना गरिएको हो । त्यसमध्येको एउटा फिबो अजिमा भनिने मातृका नेपाली सेनाको मुख्यालयभित्र छ । त्यो सर्वसाधारणको पहुँचमा हुनुपर्ने होइन र !

तपाईंको यो अभियानका सारथिहरू को–को छन् ?

– म संयोजक, अरु कोही छैनन् । जो–जो भेटिन्छन् तिनैलाई टिममा ल्याउने हो । कुनै पदाधिकारी नियुक्त गरिएको छैन । कुनै संगठन छैन । जो जसरी आउँछन् तिनैलाई एकाकार गरेर लैजाने हो । ५/६ जना साथी बोक्ने– पुरातत्व विभाग जाने, कराउने हो ।

सरकारी निकाय पुरातत्व विभागबाट कत्तिको साथ÷सहयोग पाउनुभएको छ ?

– पुरातत्व विभागमा सर्टिफिकेटधारी धेरै छन् । मैले उनीहरूकहाँ सयौं मुद्दा लगेको छु तर एउटै काम भएको छैन । दरबारमार्गजस्तो अत्याधुनिक भइसकेको ठाउँमा सात सय वर्ष पुरानो पुरिसकेको, अस्तित्व नै छोपिएको हिती खोजेर पानी निकाल्ने मै हुँ । त्यसमाचाहिँ पुरातत्व विभागले बजेटबाट सहयोग गरेको थियो ।

अहिले टुकुचाको लफडा निस्किएको छ । यसलाई कसरी लिनुभएको छ ।

– पुरातत्व विभाग भन्छ, यो एक सय ३० वर्षअघिको संरचना हो । बालेनले त्यसलाई खोलेका हुन् । तर, एयरपोर्टकै ११४२ वर्ष पुरानो संरचनाको संरक्षण ती गर्दैनन् । त्यो कुनै सरकारी निकायको चासोमा किन पर्दैन ? त्यो संरक्षण गरेर एयरपोर्ट प्रशासनलाई केही घाटा लाग्ने पनि होइन । विमानस्थल पर्यटकका लागि हो । यसको संरक्षण गर्न सके पर्यटन प्रवद्र्धन हुने हो ।

अस्ति लफडा निस्किएको एयरपोर्ट अगाडिको समस्या समाधान भयो त ?

– हामी त सर्वसाधारण, अरु केही अधिकार छैन । विषय उठान भएको छ । पुरातत्व विभाग, सेना, मेयरलगायत सरोकारवालालाई त्यहाँ लगेर देखाएको छु । उहाँहरूले सर्वसाधारणलाई साथमा लिएर त्यसको संरक्षण गर्ने हो अब ।

लफडा परेपछि मेयर बालेन साह त्यहाँबाट के भनेर निस्किए ?

– आफ्नो आदेश पालना नभएको भनी रिसाएर हिँडे । तर, उनी रिसाएर केही फरक पर्दैन । उनले गैरजिम्मेवार अभिव्यक्ति दिएका हुन् । त्यो अभिव्यक्ति सुनेर मात्र बसेको भए त्यहाँ रक्तपात हुने थियो । मैले अनुशासनमा बस्नुपर्छ भनेपछि उनी भित्र छिरेनन् । हेर्नुपर्ने ठाउँ हेरेनन् । सबैभन्दा महत्वपूर्ण ठाउँ यो हो । यहाँबाट ¥याली निकाल्नुपर्छ भनेर भाषणचाहिँ गरे ।

तपाई र बालेनबीच अकस्मात कसरी कुरा बिग्रियो त ?

– म अहिले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार । यदि, मैले जितेँ भने बालेन साहका एजेण्डा सकिन्छन् । आज उनले जे–जे विषय उठान गर्दै छन् त्यो मैले पाँच/सात वर्षदेखि गरिरहेको छु । यही देखेरै होला निर्वाचन अघिदेखि नै मेरो सम्पर्कमा थिए । मैले धेरै कुरा सिकाएँ पनि । उनले बोल्ने धेरै, बोलीमा मेरै आवाज छ । हारेको खण्डमा उनको एजेण्डा स्थापित हुन्छ । फुटपाथ हटाउने काम मैले पहिलेदेखि गरिरहेको हो । फुटपाथमा बस्ने सबैलाई खुशी बनाएर सर्वसाधारणलाई नरुवाइकन हटाउने एजेण्डा मेरै हो । यी सबै काम गर्ने म तर मेरो पहुँचमा मिडिया भएन ।

सांस्कृतिक सम्पदा बचाऊ अभियानमा लाग्न खर्चचाहिँ कसरी जुटाइरहनुभएको छ ?

– नेपाली सेनामा १० वर्ष सेवा गरेँ । जागिर छाडेर रेस्टुरेण्ट खोलेँ । चार वटा रेस्टुरेण्ट चलाएँ । आर्मीबाट आएको पैसा लगानी गरेर सम्पदा बचाउमा लागेको छु ।

टिप्पणीहरू