सिमरामा मजदुर अस्पताल निर्माण गरिने किसानको प्रतिबद्धता
नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधि सभाका लागि बारा–४ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले चुनावी एजेण्डाका रुपमा भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको बताएका छन् ।
नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडालाई व्यवस्थित सडक सञ्जालमा जोड्ने वाचासहित पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरेका हुन् । ‘आगामी पाँच वर्षमा सबै वडामा पक्की सडक विस्तार गरिनेछ,’ उनले भने ।
अमलेखगञ्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल सामाधान गर्ने, प्रत्येक गाउँमा खानेपानी पाइपलाइनबाट वितरण कार्यको शुरु गरिने उनको भनाइ छ । विश्रामपुर– इटियाही–प्रसौनी–खुटवा–बुनियाद–इनर्वासिरा–महेन्द्र लोकमार्गसम्म सडक सञ्जाल निर्माण गर्ने र छतवा–वतरा–फुलवरिया–फेटा–भर्वलिया–भलुही–बंजरिया–हरपुर इनर्वासिरा हुँदै महेन्द्र लोकमार्गमा जोडिने उनको रोडम्याप छ ।
राष्ट्रिय गौरबका योजनाहरु फाष्ट ट्रयाक, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने तथा वीरगञ्ज र सिमरामा रहेको औधोगिक करिडोरलाई विशेष आर्थिक क्षेत्र (सेज) को रुपमा सञ्चालन गराइने नेता श्रेष्ठको प्रतिबद्धतामा छ ।
निर्वाचन क्षेत्रमा व्यवस्थित बसोबासको प्रबन्ध मिलाउने, सडक बत्ति, सौर्य बत्ति तथा हरियाली प्रवद्र्धननका लागि सडकपेटीमा वृक्षारोपण अभियान अघि बढाइने पनि मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएका हुन् ।
औद्योगिक करिडोरमा मजदुरका लागि दुई सय शैयाको सुविधासम्पन्न मजदुर अस्पतालको निर्माण गरिने वचन पनि दिइएको छ ।
टिप्पणीहरू