ह्याकिङको समस्या सबैभन्दा धेरै फेसबुकमा

ह्याकिङको समस्या सबैभन्दा धेरै फेसबुकमा
सुन्नुहोस्

वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेका तनहुँका सन्दिप थापा गत साउनमा स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे । विदेशमा रहँदा साइबर अपराध गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीको साइबर ब्यूरोको भनाई छ । 

थापाले फेसबुक ह्याक गरेर पीडित महिला र उनका श्रीमानबीच म्यासेन्जरमा भएका कुराकानीलगायत सूचना संकलन गरेका थिए । ती मेसेजलाई सेभ गरी फेक आईडी बनाएर पीडितका आफन्तलाई पठाउँदै ‘ब्ल्याकमेल’ गरेका थिए । 

उनीविरुद्ध दायर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरको मुद्दा अदालतमा विचाराधीन छ । केही महिनाअघि प्रोफाइल ह्याक गरी ठगेको आरोपमा अर्का एक जनालाई पनि ब्युरोले इलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा समातेको थियो । 

अर्घाखाँचीको साविकको सन्धिखर्क गाविस–६ घर भएका ३३ वर्षीय कपिल गहतराजले ए महिलाको फेसबुक ह्याक गरेर उनका आफन्त र साथीहरुसँग रकम मागेका थिए । त्यसपछि नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३, अपराधअन्तर्गतको कसूरमा कारबाही अघि बढाइएको हो ।

सफ्टवेयरको सोर्स कोडमा अनाधिकृत पहुँच पुर्याएर कम्प्युटरको स्रोत संकेत चोरी गरेको अभियोगमा गत असारमा बाराका उमेशकुमार गुप्ता पनि समातिए । काठमाडौंको त्रिपुरेश्वरस्थित पावर ब्रेन कम्पनीमा कार्यरत उनले पीडितको बौद्धिक सम्पत्तिमा आघात पुर्याउने मनसायले कपिलले सो कार्य गरेको प्रहरीको आरोप छ । 

साइबर ब्यूरोले उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरेको हो । केही समयअघि एक युवती आफ्नो फेसबुक ह्याक भएको भन्दै ब्युरो पुगिन् । प्रहरीले उनलाई आफ्नो पासवर्ड कसैलाई दिइएको थियो वा कुनै लिंक थिचिएको थियो ? भनेर सोधेको थियो ।

ती युवतीले केही दिनअघि आफ्नो पुरानो साथीले एउटा लिंक पठाएको बताइन् । त्यसमा थिचेको केही बेरमै फेसबुक ह्याक भएको उनको भनाइ छ । प्रहरीका अनुसार कतिपय लिंकहरु खोलिहाल्दा पनि अकाउन्ट ह्याकरको नियन्त्रणमा जान सक्छ । ती युवतीको हकमा पनि यही भएको हो । लिंक थिच्नासाथ उनको फेसबुक ह्याक गरिएको थियो । 

तर, साथीले युवतीको फेसबुक ह्याक गरेको होइन । साथीको पनि फेसबुक ह्याक भएको अनुसन्धानको क्रममा खुलेको हो । यसबारे अनुसन्धान जारी रहेको छ । यी त केही उदाहरण मात्रै हुन् । सूचना प्रविधिको बढ्दो विकास र पहुँचसँगै पछिल्लो समय विश्वभर यस्ता घटना बढिरहेका छन् । 

ह्याकरहरु प्रयोगकर्ताको युजर नेम र पासवर्डको प्रयोग नै नगरी विभिन्न जुक्ति लगाएर अरुको गोप्य सूचनासम्म पुग्ने गर्छन् । सामाजिक सञ्जालका विभिन्न माध्यममध्ये अहिले ह्याकिङका लागि सबैभन्दा ठूलो समस्या फेसबुक बन्दै गएको छ। 

अकाउन्ड ह्याक गरेर पीडितका साथीभाई, आफन्तसँग विभिन्न बहाना बनाई पैसा माग्ने वा पीडितको अश्लिल तस्बिर पठाएर ब्याल्कमेलसँगै रकम ठगी गर्ने क्रम बढिरहेको छ । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु हैरान भएका छन् । 

ह्याकिङको शिकारमा पर्दा उनीहरु ठगिनु त परेको छ नै सँगै विभिन्न दुःख, कष्ट पनि भोग्नुपरिरहेको छ । ह्याकरले एटीएम, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्गलगायतमा पहुँच पुर्याएर रकम चोरी गर्ने सम्भावना पनि उत्तिकै हुन्छ । 

अर्कोतर्फ, अत्यावश्कीय डाटाहरु नष्ट वा चोरी गर्ने गरिन्छ । अहिले ह्याकिङलाई माध्यम बनाएर भाइरस फैलाइदिने क्रम पनि बढ्दो छ । तर, ह्याकिङको शिकारमा आम सर्वसाधारण मात्र नभई उच्च पदस्थ व्यक्तिहरु पनि पर्ने गरेका छन् । 

प्रधानमन्त्रीदेखि मन्त्री, न्यायाधीशसम्म यसबाट पीडित हुन पुगेका छन् । गत वर्ष पुसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ मनहरी तिमिल्सिनाको फेसबुक अकाउन्ट ह्याक भयो । त्यसपछि ह्याकरले उनी निकट व्यक्तिसँग पैसा माग्यो । 

त्यो कुरा थाहा पाएपछि तिमिल्सिनाले तत्कालै नयाँ अकाउन्टमार्फत आफ्नो प्रोफाइल ह्याक भएको जानकारी गराएका थिए । त्यसअघि चैतमा प्रधानमन्त्री प्रचण्डकै आधिकारिक ट्विटर ह्याक भएको थियो । ०७७ सालमा मधेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको  फेसबुक पेज ह्याक भयो । राउत र उनीसँग सम्बद्ध अन्य चार वटा फेसबुक पेज ह्याक गरिएको थियो । 

सरकारी वेबसाइटहरु पनि ह्याकरको कब्जामा 

व्यक्तिगत प्रोफाइल मात्र नभएर पछिल्लो समय सरकारी वेबसाइटहरु पनि ह्याकरको कब्जामा गएको घटना बढ्दो क्रममा छ । आइतबार मात्रै जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको हो । 
यस्तै, केही दिनअघि मात्रै राहदानी विभागको सिस्टममा भाइरसले आक्रमण गरेपछि पासपोर्ट सेवा ठप्प हुन पुग्यो । राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस छिरेपछि मंसिर ६ गतेदेखि ठप्प भएको पासपोर्ट सेवा बल्लतल्ल दुई सातापछि सुचारु भएको हो ।       

यसअघि पनि पटकपटक सरकारी निकायको वेबसाइटहरु ह्याकिङको शिकार बनिसकेका छन् । राष्ट्रपति कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, विभिन्न मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र, नेपाल कानून आयोग, सशस्त्र प्रहरी, राष्ट्रिय भूकम्प केन्द्र, रेडियो नेपाललगायत सरकारी वेबसाइट ह्याकरको कब्जामा परिसके ।
 
ह्याकरको टार्गेटमा फेसबुक प्रयोगकर्ता 

साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थी ह्याकरको टार्गेटमा विशेष गरी फेसबुक प्रयोगकर्ता पर्ने गरेको बताउँछन् । सामाजिक सञ्जालका विभिन्न माध्यममध्ये फेसबुकमा बढी प्रयोगकर्ता रहेकाले पनि ह्याकरले उनीहरुलाई टार्गेट गर्ने गरेको उनको भनाइ छ । 

यसरी अकाउन्ट ह्याक गरेर रकम माग्ने वा अरुका गोप्य तस्बिरमार्फत आफन्त, नजिकका मानिसहरुलाई ब्याल्कमेल गरी ठगी गर्ने क्रम बढ्दै गएको उनले बताए । प्रवक्ता अवस्थीका अनुसार सामाजिक सञ्जाल ह्याकिङमा युवायुवतीको संलग्नता बढिरहेको छ । 

नेपालीहरु कसरी फेसबुकलगायत सामाजिक सञ्जाल ह्याक गर्ने ? भनेर युट्युबमा खोज्नेमा पनि सबैभन्दा अगाडि रहेको उनले जानकारी दिए । ‘नेपालमा विकसित मुलुककै हाराहारीमा ह्याकिङ भएको पाइन्छ । सामाजिक सञ्जालमा बढी क्रियाशील हुनेहरु ह्याकिङको शिकारमा पर्ने गरेका छन्,’ उनले भने ।

पेशागत रुपमा व्यवसायीदेखि बैंकर, कलाकार, राजनीतिज्ञ र पत्रकारसम्म ह्याकिङको शिकारमा परेको प्रवक्ता अवस्थीले बताए । उनका अनुसार ब्यूरोमा दैनिक फेसबुकलगायत विभिन्न सामाजिक सञ्जाल ह्याकिङका ६० देखि ८० वटासम्म उजुरी आउने गरेको छ । 

ह्याकरको उद्देश्य अकाउन्टमा रहेका गोप्य सामग्रीसम्म पहुँच पुर्याउने वा आर्थिक लाभ लिने हुने उनी बताउँछन् । ‘कतिपय घटनामा ठगी गर्ने उद्देश्यले ह्याक गरिएको हुन्छ भने कतिपयमा पीडितको गोप्य सामग्रीसम्म पहुँच पुर्याउन,’ उनले भने । 

कसरी जोगिने ? 

प्रविधिको तीव्र विकाससँगै नयाँ चुनौती पनि भित्रिएका छन् । यससँग जोडिएर फरकफरक प्रवृत्तिका अपराध भइरहेका छन् । साइबर सुरक्षाका बारेमा सामान्य ज्ञान पनि नहुँदा यस्ता घटना बढ्दै गएको जानकारहरु बताउँछन् । 

त्यस्तै, अनावश्यक लाभ र भ्रममा पर्दा पनि अधिकांश मानिस यस्ता घटनाबाट पीडित हुन पुगिरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा साइबर ब्यूरोले साइबर सुरक्षाका निम्ति विभिन्न सुझाव समेत दिएको छ । 

आफुले प्रयोग गर्ने पासवर्ड गोप्य र अनुमान गर्न नसकिने नराख्न, पासवर्ड कम्तीमा एक महिनामा परिवर्तन गर्न, अपरिचित व्यक्तिबाट आएका फोन, म्यासेजको प्रतिउत्तर नदिन, सामाजिक सञ्जाल प्रयोग गरेपछि लगआउट गर्न, सार्वजनिक स्थलमा इन्टरनेट प्रयोग गर्दा पासवर्ड सेभ नगर्न ब्यूरोको अनुरोध छ । 

ब्यूरोले आफुले चिनेका व्यक्तिलाई मात्र सञ्जालमा साथी बनाउन, अनावश्यक पोष्टहरु अपलोड, सेयर, लाईक र कमेन्ट नगर्न, आफ्ना व्यक्तिगत सूचनाहरू पासवर्ड, क्रेडिट कार्ड नम्बर र पिनकोड कसैलाई नदिने पनि भनेको छ ।

टिप्पणीहरू