‘र’ का हाकिमहरूको घरदैलो निरन्तर

‘र’ का हाकिमहरूको घरदैलो निरन्तर

एकातिर दक्षिणी छिमेकीको उत्तरी उडान बाक्लिँदो छ, अर्कातिर काठमाडौंमा ‘बा’ हरूसँग भन्दा तिनका भित्रियासँग बातचित उत्तिकै बढ्दो छ । भारतीय राजदूत नविन श्रीवास्तव आइतवार कैलाश एयरको हेलिकोप्टरबाट संखुवासभा उडे । बिहान १०ः३० मा काठमाडौंबाट उडेर साँझ ५ बजे फर्किए । त्यहाँ निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो परियोजना भारतीय कम्पनी सतलजले हेर्दैछ ।

राजदूत काठमाडौं उत्रिनासाथ साँझ पौने ६ बजे गुप्तचर संस्था ‘रअ’ का नेपालस्थित प्रमुख राघव भट्नागरलाई लिएर माओवादी अध्यक्ष प्रचण्डसँग भेट्न खुमलटार गए । र, साँझ सवा २ घण्टासम्म मज्जैले भलाकुसारी गरे ।

एकातिर राजदूत र ‘रअ’ कै स्टेशन चिफको यस्तो हिँड्डुल छ भने अर्कातिर लैनचौर दूतावासमा ‘र’ को दोस्रो हैसियतका अनिल गिरी मुख्य नेतासँग हैन, तिनकहाँ कुरा पु¥याउनेहरूसँग नियमित भेटघाटमा छन् । उनले केपी ओलीलाई ‘बा’ भन्दै भित्रसम्मै पुग्ने निरुदेवी पालसँग भेटे, बिजुलीबजार मुन्तिरको एक रेष्टुराँमा । प्रचण्डको भित्रिया भनिने वाइसिएलका हर्ताकर्तासँग पनि भेटे, नयाँबानेश्वरको मसला कटेजमा । यीबाहेक कांग्रेस महामन्त्री गगन थापा, उनैका चुनावी प्रतिस्पर्धी राजन भट्टराईहरू पनि सम्पर्कमा रहने भइहाले ।

अर्कातिर हालै काठमाडौं आएर फर्किएका भाजपा कोषाध्यक्ष राजेश अग्रवालसँग भेट्न बिहीबार बिहान माओवादी नेता नारायणकाजी श्रेष्ठ कमलपोखरीस्थित होटल मेरियट पुगे । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार अरुणकुमार सुवेदी, काठमाडौं– ५ बाट कांग्रेस उम्मेदवार रहेका युवा नेता प्रदीप पौडेलको पनि अग्रवालसँग भेट भएको छ । अहिले काठमाडौंमा एक अर्का भारतवादी देखा परेका छन्, विनय यादव । अरुण र प्रदीपसँगै गएर उनले पनि गत बिहीबार राजेश अग्रवाललाई पशुपति दर्शन गराए ।

चिनियाँ गतिविधिको उग्र विरोध गर्ने यादवले राष्ट्रिय एकता अभियान नाम राखेर एउटा संस्था खोलेका छन् । जसो गर्दा भारतभक्ति र चीनको विरोध हुन्छ, त्यसो–त्यसो गर्दै आएका छन् । लाजिम्पाटस्थित इयु (युरोपियन युनियन) को दूतावास जाने, ज्ञापन पत्र बुझाउने, कहिले माइतिघर मण्डलामा धर्ना बस्ने त कहिले हुम्लामा सीमा मिचियो भनेर वक्तव्य निकाल्ने गर्दछन् । ललितपुरको ज्वागलस्थित मधेस आयोगको कार्यालय आसपास बस्छन् ।

कात्तिक १९ गते ‘रअ’ स्टेशन चिफ राघव भट्नागरको घरमा पनि पुगे । करिव अपराह्न ४ बजेतिर गएका उनी त्यहाँबाट साँझ ७ बजे निस्किएका थिए ।

टिप्पणीहरू