माधव नेपाल घाती कि जाति ?
‘माधव नेपाल घाती छन् । भर पर्दा नेता हैनन् । यत्रो वर्ष हामीले उहाँलाई झेल्यौँ, के–के भोग्यौँ, त्यो तपाईंलाई के थाहा छ र ?’
यसो भन्दै बालुवाटारको दूतका रुपमा खुमलटार पुगेका नेताबाट प्रचण्डसामु एउटा शव्दजाल त फ्याँकियो, तर त्यसबापत प्रचण्डबाट उल्टै माधवकै बढाइ–चढाइका कुरा गरिएपछि बाटो अलग पारौँ भन्नेतिर कुरा पुग्यो । पछिल्लो समय कर्णाली प्रदेश सरकारविरुद्ध यामलाल कँडेलहरुले तयार पारेको अविश्वासको प्रस्तावबाट बिष्फोटित नेकपा विवादको पृष्ठभूमिमा दुई अध्यक्षको संवादहीनता तोड्ने प्रयासअन्तर्गत यस्ता कुरा चलेका हुन् । माधवबारे अनेकन कुरा भएपछि प्रचण्डले बालुवाटारका दूतलाई भन्नुभयो, ‘तपाईं यस्ता कुरा गर्दै नगर्नुस् । कर्णालीको विवाद माधव कमरेडहरुले चर्काएको होइन । बरु, मैले मेरा तीनजना मान्छेलाई फर्काउन सकिन । उहाँले आफ्ना सातैजनालाई इन्ट्याक्ट राख्नुभयो । कर्णालीको सरकार कसैले जोगाइदिएको हो भने त्यो माधव कमरेडले नै हो । अहिले यसरी माधव कमरेडलाई विश्वास नगर्नुस्, उहाँले दोहोरो भूमिका खेल्नुभएको छ भनेर अविश्वास सिर्जना गर्ने, स्थितिलाई भड्काउने काम नगर्नुस् ।’
खुमलटारमा आफ्ना निकटस्थहरुलाई प्रचण्डले सुनाउनुभयो, ‘कर्णाली विवादको चुरो ओलीजी नै हो । उहाँले नै चर्काउनुभएको हो । माधव कमरेडले चाहनुभएको भए सरकार ढलिसक्थ्यो । तर, उहाँले त्यस्तो गर्नुभएन ।’
प्रधानमन्त्रीका तर्फबाट सम्झाउन खुमलटार पुग्नुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रचण्डले यसरी माधव नेपालको बचाव गर्दै आफ्नो पोजिसन क्लियर गर्नुभएको हो ।
हुन पनि दुई अध्यक्षबीच संवादविहीनताको स्थितिमा दिनहुँ अनेक रुप र रंगका मान्छेहरुको प्रचण्डलाई घेराबन्दी गर्न, सम्झाउन र फकाउन आइतबारसम्म पनि अहोरात्र कुदाकुद जारी थियो ।
यस्तोबेलामा केन्द्रीय कमिटीको बैठक कसरी बस्न सक्ला भनेर अघिल्लो सोमबार कुरा गर्दागर्दै त्योभन्दा अघि नै बैठक स्थगनको सूचना जारी गर्ने काम केपी पक्षबाट भएको माधव नेपालको आरोप छ । प्रचण्डलाई के लागेको छ भने, केपीले जसरी आफ्नो पक्षका नेताहरुलाई चोर्ने र मन्त्री बनाउने तयारी गर्दै हुनुहुन्छ, यसलाई ल्याप्चे लगाइयो भने स्वीटरको धागो फुत्किएजस्तो हुन्छ । र, प्रचण्ड भन्ने मान्छेको हातमा केही पनि बाँकी रहेनछ, एउटा मान्छेलाई मन्त्री बनाउने शक्ति रहेनछ, यसले चाहेर कोही हट्न र बन्न पनि नसक्ने भएछ भन्ने ठाडो अर्थ लाग्छ । बादल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, प्रभु साह, मणि थापाहरु अलिअलि किनारा लागेर केपीबाट मात्रै पार लाग्छ भन्नेमा पुगेका छन् । उनीहरुमा अब प्रचण्डबाट हुँदैन भन्दै निराशाको स्थिति आएको बताइन्छ । यस्तो स्थितिमा केपीको हात माथि हुने गरी मन्त्रिपरिषद् पुनर्गठन हुँदा झन् खतरा देखेकै कारण प्रचण्ड बरु, मन्त्रिपरिषद् विस्तार ढिलो भए होस् भन्नेमा पुग्नुभएको थियो । हुन पनि केपी कहिले टोपबहादुर र मणिलाई ‘तपाईं क्षेत्री, म पनि क्षेत्री’ भन्दै फकाउनुहुन्छ । कसैलाई जागिर, नियुक्ति, आकर्षक पदको अफर दिने काम पनि भएकै छ ।
प्रचण्डले आफूलाई प्राप्त अधिकार सदुपयोग गर्न नसक्नुभएको पात्र भनिँदै छ । पार्टी एकताका लागि गत असारमा गठित कार्यदलले उहाँलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दियो । तर, एउटा पनि बैठक राख्न सक्नुभएन ।
यसरी प्रचण्ड अहिले इतिहासकै सबभन्दा कमजोर, निरीह पनि हुनुभएको छ । उहाँका निम्ति पार्टी एकता निल्नु न ओकल्नु भएको छ । एक आदेशमा मान्छे मर्न र मार्न तयार हुने स्थितिका प्रचण्ड आज दाह्रा–नङ्ग्रा झिकिएको बाघजस्तो बन्न पुग्नुभएको पूर्वमाओवादीहरुकै ठहर छ ।
यसबीच, कर्णाली विवादमा माधव पक्षका सात जनाले हस्ताक्षर फिर्ता लिए । तर, पूर्वमाओवादीका तीनजना उताको उतै भए । बचनमा इमान्दारिता माधव पक्षले देखायो भन्ने प्रचण्डलाई लागेको छ ।
टिप्पणीहरू