१३ करोड नतिरेपछि एनसेलमा अन्धकार

१३ करोड नतिरेपछि एनसेलमा अन्धकार

डेढ दशकअघि विदेशी लगानी भन्दै थोरै रकम भित्र्याएर दूरसञ्चार व्यवसाय सञ्चालन गरेको एनसेल आजियाटाले वर्षको अरबौं डलर मुनाफा र लाभांशवापत विदेश लैजाने गरेको छ । यसअघि सेयर स्वामित्व बाँडफाँड तथा बिक्रीमा लाग्ने कर रकम नतिरेपछि विवादमा परेको एनसेललाई बिजुलीको शुल्क नतिरेपछि बत्तिको लाइन काटिएको छ ।

नेपाल विद्युत प्राधिकरण, लेखनाथ वितरण केन्द्र, कास्कीको विद्युत महशुलवापत १३ करोड ८० लाख ७० हजार ७ सय ४५ रुपैयाँ नतिरेपछि प्राधिकरणले आइतबार बिहान पौने एघार बजेदेखि लाइन काटिदिएको हो । उक्त रकम गत भदौ १६ गते लेखिएको पत्रबमोजिमको बक्यौता हो ।

चिनी कारखानाका मालिकले उखु किसानको वर्षौंदेखिको अरबौं रकमको बक्यौता रकम नतिर्ने हाम्रो पुरानो रोग हो । अनि मेरो पैसा पाउँ भन्दै पुसको चिसोमा राजधानीको सडकमा बिरोध प्रदर्शनकै क्रममा त्यहि किसान अन्तिम सास फेर्न बाध्य हुँदा सरकारसमेत रमिते बन्ने देश पनि यही हो ।

उता,असार र साउनमा आवश्यक पर्ने मलखाद र बिऊको लागि किसानले रोइकराई गर्दा पनि सरकारले धान भित्र्याएर गहुँ छरेपछि पनि मल ल्याएर बिक्री गर्न सकेको देखिँदैन । भनेको समयमा मलखाद नल्याउने व्यापारी तथा सप्लायर्सलाई कानुनबमोजिमको कारबाही पनि सरकारले गरेको देखिँदैन । व्यवसायको नाममा मज्जैले कमाउने तर सरकारी र सर्वसाधारणलाई तिर्नुपर्ने रकम देखेपछि अनेक बहाना खोज्नेलाई के भन्ने ? के कारबाही गर्ने ? अनि कसले कारबाही गर्ने ?

टिप्पणीहरू