वैठक बस्न विप्लवको टोली बन्दीपुर पुग्यो

वैठक बस्न विप्लवको टोली बन्दीपुर पुग्यो

झन्डै साढे दुई वर्षे राजनीतिक प्रतिवन्ध झेलेर एक वर्षअघि खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गाउँ केन्द्रीत संगठन विस्तार अभियानमा लागेको छ । गाउँ केन्द्रीत संगठन विस्तारमा जुटेको नेकपाले पार्टीका वैठकहरु पनि गाउँमै राख्ने गरेको छ ।

यसैबीच खुला राजनीतिमा आएपछि पहिलो पटक बसेको सो पार्टीको केन्द्रीय कमिटीको बैठक पनि गाउँमै शुरु भएको छ । पाँच दिनसम्म चल्ने केन्द्रीय कमिटीको नवौँ पूर्ण वैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको हो ।

बन्दिपुर गाँउपालिका-४ स्थित होटल माउण्ड रिसोर्टमा बसिरहेको बैठक असोज पाँच गतेसम्म चल्ने बताइएको छ । वैठकमा भाग लिन सो पार्टीका महासचिव विप्लवसहितका शीर्ष नेता आज बिहान साढे ९ बजे रिसोर्टमा पुगेका थिए । रिसोर्टमा अहिले विप्लवसंगै प्रवक्ता खडक बहादुर विश्वकर्मा प्रकाण्ड, सचिवालय सदस्य धमेन्द्र बास्ताेला कञ्चन, हेमन्त प्रकाश ओलि सुर्दसन, सन्तोष बुढा मगरलगायतका नेताहरु सहभागी भएका छन् ।

केन्द्रीय सदस्यहरु उमा भुजेल शिलु, अनिल शर्मा विरही, भरत बम रणवीर, ओमप्रकाश पुन ओम, सावित्री बुढा आशालगायतका नेताहरु पनि वैठकमा सहभागी हुन् बन्दीपुर पुगेका छन् । वैठकमा सो पार्टीको गण्डकी प्रदेशका जनसत्ता प्रमुख निरू थापा, तनहुँ जिल्ला इञ्चार्ज पुर्णजीत पुन, जिल्ला सेक्रेटरी राजु बि.क एटम सहभागी छन् ।

जनाइएअनुसार रिसोर्टमा १३० जनाका लागि कोठा बुक गरिएको छ । वैठकस्थलको सुरक्षाका लागि पूर्वजनमुक्ति सेनाका सदस्यहरु खटाइएको छ भने पत्रकारलाई प्रवेश निषेध गरिएको बताइएको छ ।

नेकपाले यसअघि मकवानपुरको एक गाउँमा अनेमसंघ (क्रान्तिकारी)को भेला गरेको थियो । उक्त भेलामा विप्लवसहितका नेकपाका नेताहरुले सहभागिता जनाएका थिए ।

खुला राजनीतिमा आएसँगै गाउँ केन्द्रीत गतिविधिलाई प्राथमिकता राखेको सो पार्टीका महासचिव विप्लवसहितका शीर्ष नेताहरुले हालै काठमाडौँमा विभिन्न पार्टीका शीर्ष नेताहरुसँग भेटघाट समेत गरेको थियो ।

टिप्पणीहरू