भाँडो घोप्ट्याएपछि लागिरहने भोक

भाँडो घोप्ट्याएपछि लागिरहने भोक

– श्याम रिमाल

एउटा प्रजातान्त्रिक मुलुकमा एउटा मूर्ख सरकार चुनियो भने यसबारे सबभन्दा राम्रो कुरा तिमी मुलुकका मूर्ख मानिसहरूको बारे जान्न पाउन सक्छौ: मेमट मुरात इल्दान

प्रजातन्त्र भनेको निर्वाचन मात्र होइन, जीवन पद्धति हो भनेर कतिपटक भनियो, लेखियो । नेतृत्व भनेको आगामी चुनावलाई हैन, भावी पुस्ताका लागि भनेर कति भट्याइयो । अहिले प्रचण्ड, माधव, उपेन्द्र र चित्रबहादुरलाई चुनाव चाहिएको छैन । बिजुक्छेलाई पनि चाहिएको छैन, जो सरकारमा कहिल्यै गएको छैन, जाने कुरा गर्दैन । त्यसैले ती चुनावबारे चुप छन् । छट्पटी सत्ताच्युत भएकाहरूलाई छ । कमल थापाहरूलाई चाहिएको छ जो हिन्दू राज्य र राजतन्त्रको सपना देखिरहेका छन् । सिके राउतहरूलाई चाहिएको छ जो जनमतको परीक्षण गर्न चाहन्छन् । अहिले बेला न कुबेला जति खेर पनि चुनाव चुनावको ट्याउँट्याउँले जनतालाई कति झिँजो लाग्दो हो, जो फेरि घाम वा पानी वा चिसोमा लाम लाग्न पर्ने चिन्ताले ग्रस्त छन् । अनि भेडाको राष्ट्रमा ब्वाँसाकै सरकार जन्मने न हो !

मुलुकमा आगामी निर्वाचन स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका हुने छन् । यसअघि स्थानीय तहका निर्वाचन २०७४ वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा भएका हुन् भने प्रदेश र संसदीय निर्वाचन सोही साल मङ्सिर १० र २१ गते दुई चरणमा भएका थिए । आगामी स्थानीय तहको निर्वाचन हुन करीब सात महिना तथा प्रदेश र संसद्का निर्वाचन हुन करीब १२ महिना बाँकी नै छन् । विभिन्न दल र तिनका नेताहरूबाट ‘अहिले नै हामी नै बहुमत ल्याउँछौँ, हाम्रो पार्टी नै पहिलो हुन्छ, फलानो दल पत्तासाफ हुन्छ’ भन्ने जस्ता मन्तव्य एकपछि अर्काेगरी आइरहेको छ । तथापि तीन सभाका कार्यकाल बाँकी नै हुनु, मिति घोषणा नहुनु र मनोनयनको कुरा धेरै पछि हुनाले अहिले नै निर्वाचन प्राथमिकतामा पर्ने विषय होइनन् । दलहरूको महाधिवेशन बाँकी हुनु, ध्रुवीकरण चलिरहनु, टुटफुट र दलबदलु तथा एकीकरणजस्ता प्रक्रिया चलिरहनु अहिलेका प्रवृत्ति हुन् । निर्वाचन नजिक हुँदा यस्ता श्रृंखला अझै झन् चलिरहन्छ । दलहरूको एउटा चाल वा नेताहरूको एकै वचनले पनि जनताले तिनप्रति हेर्ने दृष्टिकोणमा आनका तान फरक पर्छ ।

जस्तोसुकै आकारका दलले पनि सधैँ आफूले जित्ने कुरा गरेको सुन्दा र पढ्दा स्रोता वा पाठक हाँसेरै पो मर्छन् । महामारी र खोप, जनजीविका, चाडपर्वमा हुने अभाव, महँगी र अनियमितता, योजना–परियोजनामा भइरहेका ढिलासुस्ती, न्यायिक क्षेत्रमा मौलाइरहेको विकृति, संसद्मा भइरहेको अवरोध, विद्यार्थीका अध्ययन, परीक्षा र भर्ना मिति सराइ, वैदेशिक रोजगारीमा आएको अल्झन, व्यापार–व्यवसायमा छाएको सुस्तता, हत्या–हिंसा–बलात्कार जस्ता अनगिन्ती विषय छँदाछँदै अहिले नै प्राथमिकतामा नपर्ने चुनावका कुरा बेमौसमका बाजा हुन् । अनि संसद् बचाउन आएको सरकारले अर्ली इलेक्शन गर्ने कुरा सोच्दै नसकिएको विषय हो ।

छँदाखाँदाको झण्डै दुई तिहाइको नेकपा सरकारले प्रतिनिधिसभा विघटन गरेर फेरि बहुमत ल्याउने कस्तो चिन्तन राखेको ? सरकार के भन्नु, तत्कालीन सरकारका प्रमुखको बुद्धि के भाको’ ? आफ्ना समकालीन, समकक्षी, दलका नेतालाई देखाइदिन विघटन रे , लौ खा भनी भाँडो नै घोप्टाइदिएपछि न आफूले न त अर्काले खाने पाउने । रिस खा आफू, बुद्धि खा अर्काे । दुई तिहाइ पाउँदा सत्ता चलाउन नसक्नेले बहुमत आउँदा चलाउन सक्ला ? बहुमत माग्न पनि कुन मुखले जाने ? उखान टुक्का, गाली, आरोपप्रत्यारोपका भरमा अर्काे दल हार्छ ? भीडको एकछिनको तालीले चुनाव जितिन्छ ? अनि चुनाव हुने बेला हो यो ? स्थानीय तहको चुनाव नसकिई किन प्रतिनिधिसभाको कुरा गरेको ? के पाँचवर्षे अवधि सकियो ? सत्यमोहन जोशीले ९५ वर्षमै शतायु वर्ष पाएको भनेर हल्ला गरेजस्तो राजनीतिमा चार वर्षमै पाँच वर्ष आउँछ र ? जुवामा हारेको जुवाडेले साउँ उठाउन बोट वा ठिनी बढाउन चाहन्छ नै । दुईदुई चोटि संसद् विघटन गर्दा अदालतले हराएको कुरा बिर्सेर ‘मेरो गोरुको बाह्रै टक्का’ भनी उफ्रिरहनु कति जायज हो ? घर जलाएर खरानी बेच्न हिँड्ने ? हरे बुद्धि !

खै समाज बदल्ने कुरा गरेको ? समाज बदल्ने चिन्तन प्रणाली खै ? उत्पादन प्रणाली बदल्ने सोच खै ? सरकार बदलेर समाज बदलिने हो र ? राजनीतिक चिन्तक रामलाल श्रेष्ठ भन्छन्, ‘चिन्तनशून्य राजनीतिक नेतृत्व र कार्यकर्ता अनि चिन्तनशून्य शहरिया बुर्जुवा (बुद्धिजीवी) एउटै वर्गका हुन् । यिनले समाज बदल्ने होइन, सरकार बदल्ने मात्र काम गर्दछन् । सरकार बदल्ने हैन, समाज बदल्ने बहस गरौँ, राजनीतिमा दार्शनिक चिन्तनको हस्तक्षेप गरौँ ।’

अनि चुनावमा जित्नु वा हार्नु ठूलो कुरा हैन जति राष्ट्रलाई बलियो बनाउनु राजनेता, राजनीतिज्ञ, राजनीतिकर्मी वा राजनीतिको कर्तव्य हो । पुष्पलालले चुनाव हारे, कृष्णप्रसादले पनि धेरै चोटि हारेकै हुन् । माधवकुमार, झलनाथ, केपी, रामचन्द्र, अर्जुननरसिंह, प्रदीप गिरी (रि?), रामराजा–यिनले पनि हारे, हारेका थिए । हारको कुरा गर्दा अब्राहम लिङ्कनको उदाहरण धेरै चोटि दिइन्छ । जित्नेभन्दा हार्ने समाजमा अझ बढी सम्मानित भएको हामीले देखेका छौँ । जित्नेले के–के गरे, हार्नेलाई रातदिन ‘हरूवा’, ‘हरूवा’ भनी चिच्याए । कति पटक संसद्मा किनबेच गरिए, पुरुषले सुत्केरी भत्ता लिए, महिलाले पतिलाई पिए बनाए, पिए र चालक खर्च आफैँले लिए, रातो पासपोर्ट बेचे, दिउँसो भट्टी र राति कोठीतिर भेटिए ।
निर्वाचन– खर्च गर्ने तरिका तिनलाई थाहा छ, कहाँकहाँ गर्ने थाहा छ, क–कसलाई पैसाको जिम्मा लाउने थाहा छ, माइण्ड, म्यान, मसल, मनी, मेशिनको उपयोग थाहा छ, हारे धाँधली, जिते जनताको जीत । निर्वाचन आयोगमा आफ्ना छन्, अदालतमा तिनकै छन् । भ्रष्टाचारबाट कमाएको पैसा जोगाइदिने अख्तियार आयोग तिनकै गोजीका हुन् । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले ठीकै भनेनन् र– ‘गरिने व्यवहार बदलिनु पो त ! सिमसिमे राजाको जस्तो व्यवहार प्रदर्शन गरेर के रुपान्तरण गर्छाै र कमरेड, तिमी बदलिएर समाज बदलिन्न ।’

टिप्पणीहरू