राजतन्त्र अन्त्यको प्रस्थानविन्दु : २०६१ माघ १९

राजतन्त्र अन्त्यको प्रस्थानविन्दु : २०६१ माघ १९

-शरद अधिकारी

२०६१ माघ १९ गते नेपालको इतिहासमा कालो दिनका रुपमा अंकित छ । अर्को हिसाबले भन्दा हामीले माघ–१९ लाई नेपालबाट राजतन्त्र अन्त्यका लागि तत्कालीन राजाले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेको दिन हो भन्न सक्छौं । त्यसरी आफैंले खुट्टामा बञ्चरो हानेको १७ वर्ष भएछ ।

इतिहासमा त्यो घटना नेपालको प्रजातन्त्रका लागि ‘कु’ गरिएको दिनका रुपमा लिपिबद्ध भइसकेको छ । नेपालको राजनीतिक इतिहासमा २०६१ माघ १९ को घटना सजिलोसँग बिर्सन सक्ने घटना होइन । नेपाल राजनीतिक रुपमा जति परिवर्तनको यात्रामा अघि बढोस् या जति सम्बृद्ध होस त्यो माघ १९ लाई बिर्सनै मिल्दैन । त्यो दिन वा त्यो समय धेरैका लागि सम्झनामा रहेको छ । कतिपयलाई त्यो समय आफू शक्तिमा गएको दिनका रुपमा सम्झनामा होला । कतिलाई राजतन्त्र अजर अमर हुन्छ भन्ने लागेको थियो होला । तर राजतन्त्रका लागि त्यो दिन आफैंले खनेको खाडलमा खस्ने विन्दु बन्यो ।

इतिहासले के सिद्ध गरेको छ भने जनताको अघिल्तिर कुनै पनि बादशाह टिक्न सक्दैनन् । जनताले चाहे भने जस्तोसुकै बलशाली शासकलाई पनि घुँडा टेक्न बाध्य बनाउँछन् भन्ने कुरा प्रमाणित गरिदिएको छ १७ वर्ष अघिको घटनाले । राजनीतिक दलहरुलाई प्रतिबन्धित गराएर, सञ्चार माध्यममाथि सेन्सर लगाएर, कतिपय माध्यमहरु बन्द गराएर तत्कालीन सत्ताले जसरी आफूलाई टिकिरहनका लागि प्रपञ्च रचेको थियो । त्यो सबै घटनाको शुरुवात माघ १९ बाटै भएको थियो । एउटा हिसाबले भन्ने हो भने राजतन्त्र अन्त्यको दिनको शुरुवात थियो माघ १९, २०६१ ।

समय परिवर्तनशील छ । १७ वर्ष अघिको त्यो घटना सम्झना गर्दा हिजै जस्तो लाग्छ । वास्तवमा नेपालको राजनीतिक इतिहासमा त्यो घटनाले धेरै शिक्षा दिएर गएको छ । माघ १९ भन्दाअघि २०५९ असोज १८ गतेको दिनलाई सम्झनु पर्छ । नेपालका अन्तिम राजा ज्ञानेन्द्रको सक्रियता बढेको दिन २०५९ असोज १८ गते थियो । त्यो दिन सक्रिय शासनमा उदय भएका ज्ञानेन्द्रले जब २०६१ सालमा आफूलाई थप सक्रिय बनाए तब २०६३ बैशाख ११ गतेभन्दा पछि जान सकेनन् ।

त्यसैले माघ १९ गतेको दिन इतिहासबाट कुनै पनि हालतमा मेटिने छैन । तत्कालीन क्रुर शासनविरुद्ध आवाज उठाउनेहरुका विरुद्धमा तत्कालीन सत्ता कसरी प्रस्तुत भएको थियो र त्यसबाट नागरिक कसरी प्रताडित भएका थिए भन्ने कुराको उदाहरण भएकाले उक्त घटनालाई भुल्न सकिँदैन ।

माघ १९ गतेका दिन तत्कालीन राजाले देशबासीका नाममा सम्बोधन गर्दैछन् भन्ने कुरा पहिला नै चर्चामा आएको थियो । उनले आफूले टेलिभिजनबाट दिने भाषण पहिले नै रेकर्ड गरिसकेका थिए । पछि दृष्य हेर्दा पनि त्यो थाहा पाइन्थ्यो । राजा ज्ञानेन्द्रले केही घोषणा गर्दैछन् भन्ने कुराको जानकारी नेपाली सञ्चारकर्मीलाई केही समय पहिले नै अनुभूत भइसकेको थियो ।

माघ १९ गतेको घोषणा विगतको भन्दा फरक थियो । फरक यस मानेमा थियो कि विगतका घोषणा रातको समयमा भएका थिए । २०६१ साल माघ १९ भन्दा पहिले नेपालमा ठूला घटना शुक्रबारका दिन हुन्थे । त्यो पनि रातको समयमा । तर २०६१ माघ १९ को घटना बिहान भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले राजा भएपछि धेरै पटक सम्बोधन गरे । कहिले आफू दाजु जस्तो चुप लागेर नवस्ने घोषणा गर्दथे । कहिले तत्कालीन प्रधानमन्त्रीलाई असक्षम भन्दै घोषणा गर्दथे । यसरी ज्ञानेन्द्रले सक्रियता जनाइरहेका थिए । जसको निरन्तरताका रुपमा माघ १९ गतेको सम्वोधन थियो ।

त्यो दिनको घटना मलाई बारम्बार सम्झना हुन्छ । त्यो दिन बिहान मलगायत केही घोराहीमा राप्ती साहित्य परिषद्ले आयोजना गरेको एउटा कार्यक्रममा पुगेका थियौं । हामी कार्यक्रममै रहेको अवस्थामा भएको शाही घोषणालाई कार्यक्रम रोकेरै सुनेका थियौं । शाही घोषणा गर्दै राजा ज्ञानेन्द्रले अबको तीन वर्षका लागि शासन आफ्नो हातमा लिएको कुरा गरे । निर्वाचनका माध्यमबाट जनताको विरासत जनतामा फर्काउने कुरा पनि गरेका थिए । मन्त्रीमण्डल भंग गरेर सम्पूर्ण अधिकार आफ्नो हातमा लिएको कुरा थियो ।

शाही घोषणा सुनिसकेपछि हामीले पनि कार्यक्रम सक्यौ र आफ्नो निवासतर्फ फर्कियौं । राजाको घोषणासँगै देशभरका टेलिफोनहरु काटिएको थियो । त्यतिबेला अहिलेको जस्तो प्रशस्त मोबाइल थिएन । पुच्छरे फोन प्रयोग गथ्र्यौं । सञ्चारकर्मीका हातमा कर्डलेस थियो त्यो पनि बेकामे भएको थियो । राजाले गरेको शाही घोषणामा सबैभन्दा ठूलो आक्रोशको तारो बनेका थिए राजनीतिक दलका नेताहरु, अनि सञ्चारमाध्यमहरु । राजाले बहुदलीय व्यवस्था यथावत राखेको कुरा गरे तर सबै ठूला दलका नेतालाई नजरबन्दमा राख्ने काम गरेका थिए । अनि सबै सञ्चारमाध्यममा सेन्सर लगाएका थिए । फोनहरु बन्द, सञ्चार बन्द, पत्रिकामा सेन्सर, रेडियोमा समाचार बन्द गरेर राजाको शाही कालको प्रारम्भ भएको थियो ।

२०६१ साल माघ १९ गतेको घटनापछि राजनीतिक दलले त गाह्रो भोगे त्योभन्दा अझ बढी पीडा हामी सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नु परेको थियो । सञ्चार माध्यमहरु सबै बन्द भएकाले के गर्ने, कता जाने ? को सँग कुरा गर्ने केही अलमल थियो । त्यस दिन दिउँसो दाङको एक मात्र दैनिक पत्रिकाका रुपमा रहेको नयाँ युगवोध दैनिकमा केही साथीहरु जम्मा भइयो । दिउँसोको समय थियो हामी नारायण गुरुको कोठामा बसेर शाही घोषणापछिको अवस्थाका बारेमा कुरा गरिरहेका थियौं ।

तल मुन्तिर तत्कालीन शाही नेपाली सेनाका केही अधिकृतहरु आइसकेका रहेछन् । ‘तपार्इंहरुलाई थाहै छ आज १० बजेबाट सेन्सरशीप लागू भयो । समाचार प्रकाशित गर्नुअघि अनुमति लिएर मात्र गर्नु होला ।’ ती सैन्य अधिकृतले भनेको उक्त कुरा मेरो कानमा अहिले पनि ठोक्किइरहेको छ । उनले भन्दै गए, ‘राजाको वक्तव्यविरुद्ध वा विषयमा कुनै पनि खालका टीका टिप्पणी नगर्नुहोला ।’

यो कुरा दिउँसो डेढ बजे तिरको हो । त्यो समयमा नेपालमा टेलिभिजन च्यानलका रुपमा नेपाल टेलिभिजन मात्र थियो । उसले केही पनि प्रशारण गरिरहेको थिएन । निजी च्यानलका रुपमा च्यानल नेपाल मात्रै थियो । निजी रुपमा खुलेको च्यानल नेपालले गीत मात्र बजाएको थियो । नेपाल टेलिभिजनले आफ्नो प्रशारणलाई बन्द गरेको थियो । राजाको वक्तव्यपछि उसले प्रशारण बन्द गरेको थियो । नेपाल वान भन्ने च्यानल जो भारतबाट प्रशारण भइरहेको थियो उसले पनि गीत मात्रै बजाइरहेको थियो ।

रेडियोको कुरा गर्दा दाङ क्षेत्रमा रेडियो स्वर्गद्वारी मात्र थियो । युगवोधमा पुगेर धम्की दिएको सेनाको टोलीले रेडियोमा पुगेर पनि त्यस्तै कुरा गर्न भ्याएछन् । समाचार प्रशारणमा नै रोक लगाउने काम सेनाको त्यो टोलीले ग¥यो । नयाँ युगवोध दैनिकले अदालतमा मुद्दा लडेपछि मात्रै केही समयपछि प्रकाशनको अनुमति पाएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार नेपालले युगवोध र गाउँघर सात दिनेलाई एक÷एक वटा पत्र पठाएर बन्द गर्न आदेश दिएका थिए ।

त्यतिबेला नै करिब ३० वर्षको इतिहास बनाइसकेको युगवोधलाई रोक्ने काम शाही घोषणापछि गरियो । कतिसम्म भने अब पत्रकारिता गर्न सकिँदैन कि भन्ने अवस्थामा हामी पुगेका थियौं । अब के गर्ने, कसरी गर्ने ? बाहिरको कुरा केही पनि थाहा भइरहेको थिएन । विदेशी च्यानल हेर्ने र नेपालको समाचार सुन्नु पर्ने बाध्यता उत्पन्न भएको थियो । बेलुकी बीबीसी नेपाली सेवा सुनेर काठमाडौंमा भएका मुख्य कुराहरु थाहा भयो । जतिबेला जिल्लामा पनि कहाँ के भइरहेको छ भन्ने बारेमा थाहा पाउन गाह्रो परेको थियो ।

माघ १९ गतेको घटनापछि राजनीतिक दलहरुले पनि के गर्ने भन्ने बारेमा निर्णय लिन सकेका थिएनन् । माघ १९ गतेको घटनापछि बीबीसी नेपाली सेवाको माध्यमबाट राजाको कदमको बिरोध गर्ने काम गर्ने कामसम्म राजनीतिक दलहरुले गर्न सकेका थिए । नजरबन्दमा नपरेका बाहेकका नेताहरु अर्धभूमिगत अवस्थामा थिए । केहीलाई जेल नै हालिएको अवस्था थियो । एवम् रितले दिनहरु बित्दै गए ।

चैत १ गतेका दिनलाई भने राजनीतिक दलहरुले केही विशेष बनाउन खोजेका थिए । देशभर राजाको कदम विरुद्ध सडकमा उत्रिएर सांकेतिक बिरोध गर्ने योजनाअनुरुप दलहरु सडकमा उत्रिएका थिए । त्यसै क्रममा नेपालभर धरपकड पनि गरिएको थियो । दाङ जिल्लामा पनि करिव ३० जना जतिलाई घोराही बजारका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । यसरी पक्राउ पर्ने मध्य म पनि यौटा थिएँ । पक्राउ परेकामध्ये पाँच जनालाई हिरासतमा राखेर अरु सबैलाई छाडिएको थियो ।

भोलिपल्ट बिहान हामी सवैलाई तीन महिने पुर्जी दिएर तुलसीपुरको कारागार चलान गरियो । कारागारको बसाई पनि अविस्मरणीय नै रहेको छ । यद्यपि हामीलाई कारागारमा हाल्दा पनि बाहिर विरोध मत्थर भएन । देशदेखि विदेशसम्म ज्ञानेन्द्रको कदमको बिरोध भइरह्यो । राजाले राजनीतिक दलहरुको हातमा रहेको अधिकार खोसेर आफ्नो हिसाबले चल्न खोजेकाले २०६२ चैत २४ गतेदेखि निर्णायक आन्दोलनको घोषणा भयो । जुन १९ दिने जन आन्दोलनका नामले चर्चित छ ।

माघ १९ गतेपछिको राजाको शासनलाई १९ दिने जनआन्दोलनले पाखा लगाइदियो । जे भए पनि आज देश गणतन्त्रमा पुगेको छ । गणतान्त्रिक देशका नागरिक भएका छौं हामी । त्यसअघि पुस्तकमा मात्र पढ्ने विषय भएको थियो गणतान्त्रिक देशको कथा ।

नेपालको राजनीतिक इतिहासमा धेरै त्यस्ता दिनहरु छन जसको सम्झना वर्षौं पछिसम्म भइरहनेछ तिनै दिनहरुमध्ये एउटा दिनका रुपमा माघ १९ ले धेरैको मनमा नकारात्मक बास पाइरहेको छ । अब पनि माघ १९ फेरि कुनै पनि हिसावले नदोहोरियोस् भन्नेतर्फ राजनीतिक दलहरु चनाखो बन्नुपर्छ ।

एउटा राजालाई फालिसकेका छौं तर राजा बन्न चाहनेहरुको लर्को देखिन्छ यहाँ । माघ १९ को यो दिनले कम्तीमा पनि निरंकुशता टिक्दैन भन्ने कुरा प्रमाणित गरेको छ भन्ने बुझ्नुपर्छ । त्यो बेलामा आएको कालो दिनलाई हामीले तत्याएका छौं । जनताको बलले कालो हटाएका छौं । संविधान सभाले संविधान बनाएको छ । संविधानका आधारमा मुलुकमा तीन खालका सरकार बनेका छन् । पहिलो संघीय सरकार, दोस्रो प्रदेश सरकार र तेस्रो स्थानीय सरकार बनेका छन् । संविधान सभाबाट संविधान जारी भएपछि नयाँ संविधानअनुसार सरकार बनेको चार वर्ष पुगेको छ । स्थानीय निकायहरु करिव पाँच वर्ष पार गरेर निर्वाचनको मुखमा पुगेका छन् । अब हामी सबैको चासो र चिन्ता देशलाई कसरी समृद्ध बनाउने भन्ने रहेको छ ।

जनताको हातमा आएको शासन सत्ता कुनै पनि शर्तमा राजतन्त्र वा व्यक्तिको निरङ्कुशतातर्फ फर्काउने कुरा कल्पनाभन्दा बाहिरको कुरा हो । अब कुनै पनि शर्तमा निरङ्कुशता दोहोरिनु हुँदैन र नेपालमा निरङ्कुशताका लागि कुनै स्थान छैन । पुनः निरङ्कुशता झेल्नका लागि नागरिक तयार छैनन् । राजनीतिक दलहरु पनि तयार नबनुन् । राजनीतिक दलका बीचमा देखिएको तिक्तताले उत्पन्न गरेको रिक्ततालाई कसैले पनि दुरुपयोग गर्न नसकोस् भन्नेतर्फ सचेत हुनैपर्छ ।

टिप्पणीहरू