तिलोत्तमा शतप्रतिशतलाई कोरोनाको खोप
१२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्ण खोपयुक्त बनेको छ । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चितता भएको स्थानीय तह बनेको नगरपालिकाको दावी छ ।
तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका एक लाख २८ हजार ५ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८ सय ८६ जना रहेका छन् । ९५ हजार ९ सय ६६ लाई खोप लगाउने लक्ष्य राखिएकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
नगरपालिकाभन्दा बाहिरका व्यक्तिहरुले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्यभन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ । परिवार सर्वेक्षण गरेर छुटेका सात हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोनाविरुद्धको खोप सुनिश्चितता भएको पालिका बनेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकअनुसार वडा नं. ३ मा सबैभन्दा बढी १२ हजार ६ सय ३० जनाले खोप लगाएका छन् । यस्तै वडा नं. ४ मा ११ हजार २ सय ७० जनाले खोप लगाएको नगरपालिकाको तथ्यांक छ ।
तिलोत्तमा नगरपालिकामा हालसम्म कोरोनाबाट आठ हजार ८ सय ३८ जना संक्रमित भएका छन् । कोरोनाबाट २ सय १ जनाको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा २०७७ माघ १४ बाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो । तिलोत्तमा नगरपालिकाले कोरोना महामारीबाट नगरबासीलाई बचाउन ६० बेडको अस्थायी कोरोना अस्पताल स्थापना गरेको छ ।
टिप्पणीहरू