गठबन्धनका उम्मेदवारद्वारा खेताला खोज्न हिँडेका मास्टरको रामधुलाई
बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापकमाथि निर्घात कुटपिट गरेको छ ।
पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिडेका कार्यकर्ता वीरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी–५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।
कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दिपकराज जोशीले बताए । कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रमा लिएको छ भने उनीहरूलाई स्थानीयले दुई घण्टा घेराउ गरेका थिए ।
प्राध्यापक जोशीले स्वतन्त्र उम्मेदवार सन्तोष जोशीको प्रचार गरेको निहुँमा विवाद कुटपिटमा परिणत भएको बताइएको छ । शिक्षकले प्रचारमा हिँड्न नहुने भनेपछि विवाद भएको भनिए पनि गोरु जोत्ने मान्छे खोज्न हिँडेका बेला कुटेको पीडित पक्षको भनाइ छ ।
कुटपिटमा संलग्न गाउँपालिकाका अध्यक्षका उम्मेदवार राना नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन् भने उनी नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् ।
कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रमा लिएको छ भने पीडित पक्षबीच गोकुलेश्वर प्रहरी चौकीका छलफल भइरहेको छ ।
टिप्पणीहरू