राजा वीरेन्द्रको शालिक विवादले नेपालगञ्जमा मारामारी

राजा वीरेन्द्रको शालिक विवादले नेपालगञ्जमा मारामारी

स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्ने विषयलाई लिएर बाँकेको नेपालगञ्ज तनावग्रस्त भएको । प्रशासनको अनुमति बेगर शालिक राख्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप हुँदा धम्बोजीचोक तनावग्रस्त बनेको हो।

दोस्रो जनआन्दोलनका क्रममा हटाइएको वीरेन्द्रको शालिक आज दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले राख्न खोजेका थिए । तर, प्रहरीले उनीहरुलाई रोकेपछि आक्रोशित स्थानीय प्रहरीमाथि नै जाइलागेपछि झडप भएको हो ।
स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन् ।

धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो । जनआन्दोलनका क्रममा हटाइएको शालिक राख्न आज केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता-कार्यकर्ताहरु पुगेका थिए । उनीहरुले त्यहाँ रहेको राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राख्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

उनीहरुले जबरजस्ती राखेको शालिक अहिले प्रहरीले हटाएको छ । प्रहरीको हस्तक्षेपविरुद्ध आक्रोशित भएर विरोधमा उत्रिएकाहरुले सेतु विक चोकमा राखिएको शहीद सेतु विकको शालिक पनि हटाएका छन् ।

टिप्पणीहरू