चुनाव चिन्हले मात्रै सधैं नगर्ने रहेछ चमत्कार
राजनीतिक दलहरु मूलत: विचारका आधारमा गठन हुन्छन् र विचारकै आधारमा छुट्टिन्छन् । अपवादबाहेक अहिलेसम्म पार्टीहरुको एकता र विभाजनको आधार विचार,राजनीति,नेतृत्व र सांगठानिक इस्यु नै हुन् । चुनावी राजनीतिमा पनि दलहरुले गरेका काम र त्यसले जनतामा पारेको प्रभावलाई नै हारजितको मुख्य कारण मान्ने गरिन्छ ।
तर,केही वर्षयता प्रमुख राजनीतिक दलहरुले विचार,राजनीति,नीति र कार्यक्रमलाई भन्दा आफ्नो चुनाव चिन्हलाई प्रधानता दिँदै आएका छन् । गत वर्ष तत्कालीन प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा हुँदै एमालेसम्मको विभाजनमा चुनाव चिन्हको बहसले प्राथमिकता पायो । माओवादीसँग एकता गर्दासमेत सूर्य नछोडेको एमाले नेतृत्वले त्यसलाई आफ्नो ब्राण्ड नै बनाएको छ । सूर्य चिन्ह भए चुनाव जित्न सजिलो हुने मनोविज्ञान एमालेमा माथिदेखि तलसम्म देखिन्छ ।
स्थापित र पुरानो चिन्ह भएकाले स्वभाविक रुपमा त्यसप्रति लगाव हुनु स्वभाविकै होला,तर विचार राजनीतिभन्दा प्राविधिक कुरा निर्णायक हुँदैन भन्ने ०६४ पछिका चुनावी परिणामले देखाइसकेको छ । ०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा (माओवादी) ले २४० को ठ्याक्कै आधा १२० सीट जित्यो ।
“पोखरा महानगर र हेटौँडा उपमहानगरमा सूर्यका उम्मेदवारलाई हराएर एकीकृत समाजवादीको कलम चिन्हले ल्याएको मत ‘ब्राण्ड’ का आधारमा आएको होइन ।”
भर्खरै खुला राजनीतिमा आएर पहिलो पटक चुनावमा गएको माओवादीको चुनाव चिन्ह उसका कार्यकर्तालाई पनि सायद राम्रोसँग याद थिएन । तर,स्थापित चिन्ह लिएर चुनाव लडेका काँग्रेस र एमाले माओवादीसामु निरिह देखिए । त्यहि चिन्ह लिएर चुनाव लडेको माओवादी ६ वर्षपछिको दोस्रो संविधानसभा निर्वाचनमा भने नराम्रोसँग पछारियो ।
यसपटकको चुनावमा एमाले नेताहरुले सूर्य चिन्हकै कारण जितिने दाबी गरेका थिए । पार्टी विभाजन, केपी ओलीको तीन वर्षे शासनकालमा कमाएको अलोकप्रियता,दुई-दुई पटक प्रतिनिधिसभा भंग गर्दाको बदनामी बोकेर चुनावमा जाँदै गर्दा एमाले नेताहरुमा जित्ने आत्मविश्वासका पछाडि सूर्य चिन्ह थियो । साथै जनता र मतदातामा केपी ओलीप्रतिको ‘क्रेज’ चुलिएको भन्दै त्यसलाई पनि जितको आधार मानिएको थियो ।
“चुनाव चिन्ह केही हो,तर सबैथोक होइन । यो चुनावसम्म आइपुग्दा चिन्ह सहायक हो भन्ने कुरा अझै बलियो गरी स्थापित भएको छ ।”
तर,परिणाम एमालेले सोचेजस्तो आएन । बरु अघिल्लो चुनावमा २९६ पालिका जितेको एमाले २०५ मा खुम्चियो । चुनावअघि गठबन्धनलाई एक्लै धुलोपिठो बनाउने बताएका एमाले नेताहरु अहिले गठबन्धनका कारण हार्नुपरेको र त्यो हार प्राविधिकमात्रै भएको जिकिर गरिरहेका छन् ।
लोकप्रिय मतका हिसाबले आफ्नो पार्टी अझै पहिलो नम्बरमा रहेको दाबीसहितका तथ्य तथ्यांक पेश गर्ने होडबाजीमा रहेका एमाले नेताहरुले धाँधली र अन्तर्घातलाई हारेको कारण बताएका छन् । तर,वास्तविकता भने सूर्य चिन्हबाहेक अरु केही हैन भन्ने मनोविज्ञान र केपी ओली क्रेजका नाममा गरिएका हल्ला जनताले अस्वीकार गरेकाले एमाले हारेको हो ।
पोखरा महानगर र हेटौँडा उपमहानगरमा सूर्यका उम्मेदवारलाई हराएर एकीकृत समाजवादीको कलम चिन्हले ल्याएको मत ‘ब्राण्ड’ का आधारमा आएको होइन । ०६४ कै चुनावमा माओवादीको गोलाकारभित्रको हँसिया हथौडासँग मिल्दोजुल्दो चुनाव चिन्ह ‘हँसिया तारा’मा अनपेक्षित मत खस्दा मालेले संविधानसभामा राम्रो उपस्थिति मात्र जनाएन,सीपी मैनालीका जोइपोइले मन्त्री र राजेन्द्र खेतानले सोही पार्टीबाट माननीय हुने अवसरसमेत पाए । पाल्पामा सीपीको पार्टीको बिउसमेत नहुँदा ३ हजार मत पाएको त्यहाँका नेताहरु अहिले पनि स्मरण गर्छन् । यस्तो अवस्था त्यतिबेला देशैभर थियो।
“नत्र,गठबन्धनका उम्मेदवारको यति धेरै मत बदर हुँदैनथ्यो र एमालेले अहिले जितेकामध्ये कम्तिमा पनि २० देखि २५ स्थानीय तह गुमाउनुपर्ने हुन्थ्यो । साथै एमाले पृष्ठभूमिका समाजवादीका अधिकांश मतदाताले कलम चिन्हका उम्मेदवार नभएका ठाउँमा सूर्यमा भोट हालेकाले पनि एमालेको मत बढेको हो । “
गत माघमा सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा सूर्य चिन्हधारी दुई उम्मेदवार पराजित हुनुले चिन्हमाथिको अतिरन्जित प्रचारलाई गलत सावित गरिदियो । प्रचार यसरी गरिएको थियो कि, दल,विचार,राष्ट्रिय राजनीति, उम्मेदवार सबै सहायक हुन्,जीतको प्रमुख निर्धारक सूर्य चिन्ह मात्रै हो । त्यसैले चुनाव चिन्ह केही हो,तर सबैथोक होइन । यो चुनावसम्म आइपुग्दा चिन्ह सहायक हो भन्ने कुरा अझै बलियो गरी स्थापित भएको छ ।
त्यसो त,टेक्निकल्ली यसपटकको चुनावमा एमालेलाई केही फाइदा भने भएको छ । सत्तारुढ पाँच दलले आ-आफ्नै चिन्हबाट चुनाव लड्ने गरी गठबन्धन गर्दा एमालेले राप्रपा नेपालदेखि परिवार दलसम्मलाई सूर्य चिन्ह दिएको थियो । प्राविधिकरुपमा त्यसको फाइदा एमालेलाई भएको देखिन्छ । गठबन्धन गरेर पनि सबैतिर सूर्य चिन्ह भएकाले एमालेको मत नगन्य मात्रै बदर हुँदा प्रमुख र उपप्रमुखमा भिन्नाभिन्नै दल र चिन्हका उम्मेदवार उठेकाले गठबन्धनमा खसेको धेरै मत बदर भयो ।
वीरगन्ज महानगरमा उपमेयरमा झन्डै ६० प्रतिशत भोट बदर भएको थियो । ललितपुर महानगरमा उपमेयरको उमेदवार नै नभएको रुखमा गठबन्धनका उम्मेदवारले पाएको जति नै मत परेका कारण सूर्यधारी उम्मेदवारलाई खुदो पल्टियो । त्यहाँ कांग्रेसकै उपमेयर उम्मेदवार भएको भए एमालेका उम्मेदवार पराजित हुने स्थिति थियो । यो स्थिति धेरै पालिकामा देखियो ।
“जब कुनै पार्टीको उम्मेदवार नै छैन भने त्यहाँ उसले भोट पाउने कुरा भएन । त्यस्तो अवस्थामा प्रमुखले पाएको भोट गनेर लोकप्रिय मतको हिसाब कसरी निस्कन्छ ?”
निर्वाचन आयोगले सूर्य चिन्ह मतपत्रको पहिलो लहरमा राख्दा त्यसको धेरथोर फाइदा एमालेलाई नै भयो । मतपत्र पल्टाई-पल्टाई चिन्ह खोज्न अल्छी मान्ने स्वतन्त्र खालका मतदाताले तेस्रो,चौथो र पाँचौं लहरको चिन्ह खोज्दैन,पहिलो या दोस्रोमै उसको हात पर्छ । अर्कोतिर गठबन्धन दलको उम्मेदवार नभएको चुनाव चिन्ह मतपत्रमा राखिँदा एमालेलाई फाइदा पुग्यो ।
नत्र,गठबन्धनका उम्मेदवारको यति धेरै मत बदर हुँदैनथ्यो र एमालेले अहिले जितेकामध्ये कम्तिमा पनि २० देखि २५ स्थानीय तह गुमाउनुपर्ने हुन्थ्यो । साथै एमाले पृष्ठभूमिका समाजवादीका अधिकांश मतदाताले कलम चिन्हका उम्मेदवार नभएका ठाउँमा सूर्यमा भोट हालेकाले पनि एमालेको मत बढेको हो ।
अहिले एमाले नेताहरुले अनेक तथ्य तथ्यांक जम्मा गरेर आफ्नो पार्टी लोकप्रिय भोटका आधारमा पहिलो भएको प्रचार गरिरहेका छन् । तर, त्यो अतिरन्जित प्रचार नै हो । उनीहरुका हिसाब किन पनि बस्तुनिष्ठ छैन भने एक त,बदर मतको अधिकांश हिस्सा गठबन्धनका उम्मेदवारलाई गएको छ । अर्को कुरा स्थानीय तह भागबण्डा गरेर उम्मेदवार उठाएका कारण गठबन्धनका सबै दलले सबै ठाउँमा उम्मेदवार उठाएका थिएनन् ।
कांग्रेसले प्रमुख उठाएको ठाउँमा माओवादी र समाजवादीका उम्मेदवार भएनन् । माओवादीले उठाएको ठाउँमा कांग्रेस र समाजवादीको हुने कुरा भएन । जब कुनै पार्टीको उम्मेदवार नै छैन भने त्यहाँ उसले भोट पाउने कुरा भएन । त्यस्तो अवस्थामा प्रमुखले पाएको भोट गनेर लोकप्रिय मतको हिसाब कसरी निस्कन्छ ?
टिप्पणीहरू