राजधानीमा साइकल व्यापारीमाथि लछारपछार

राजधानीमा साइकल व्यापारीमाथि लछारपछार
सुन्नुहोस्

‘ठूलालाई चैन,सानालाई ऐन’ भन्ने भाष्य पछिल्लो समय काठमाडौं महानगरपालिकाको हर्कतसँग मेल खान थालेको छ । महानगरबासीको करमा मनोमानी चलाइरहेका मेयर बालेन्द्र (बालेन) साहको फौजले निमुखाहरुमाथि अत्याचार गरिरहेको पाइएको छ । फुटपाथमा व्यापार गर्न रोक लगाएको महानगरले साइकल व्यवसायीलाई पनि लखेटी रहेको छ ।

महानगर प्रहरीले एक साइकल व्यवसायीमाथि गरेको ज्यादती यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । साइकलमा केरा र अम्बा बेच्दै हिँडेका व्यापारीलाई महानगर प्रहरीले लछारपछार गरेको छ । पहिले दुई जना महानगर प्रहरीले व्यापारीलाई समात्छन् । त्यसपछि टोली नै आइपुग्छ । व्यापारीले आफ्नो सामान जोगाउन अथक प्रयास गर्छन् । 

एक महानगर प्रहरीले उनको टाउको समात्छन् त अर्कोले सर्टको कलर । उनले सर्टभित्र लगाएको प्वालैप्वाल परेको गन्जी पनि देखिन्छ । खुट्टामा चप्पलसमेत नभएका ती व्यापारीको सबै सामान भुइँमा लडाइन्छ र उनलाई पनि घिसारिन्छ । ती व्यापारीले हारगुहार गर्दापनि महानगर प्रहरीले सुन्दैन र साइकल लिएर जान्छ । सो भिडियो धेरैले हेरेका छन् । 

"एक महानगर प्रहरीले उनको टाउको समात्छन् त अर्कोले सर्टको कलर । उनले सर्टभित्र लगाएको प्वालैप्वाल परेको गन्जी पनि देखिन्छ । खुट्टामा चप्पलसमेत नभएका ती व्यापारीको सबै सामान भुइँमा लडाइन्छ र उनलाई पनि घिसारिन्छ ।"

सिके राउत नेतृत्वको जनमत पार्टीका नेता शरदसिंह यादवले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै लेखेका छन्,‘देश लुटिखानेलाई चैन, गरिखानेलाई ऐन !’ जगत स्याङतान तामाङ्ग भन्छन्,‘आफ्नै स्वास्नी, बालबच्चाहरुलाई राम्रोसंग खान लाउनलाई अनि पढाउनलाई भनेर होला भित्री कपडा पनि फाटेको लगाएको छ ।’

निमा शेर्पा सरोकारवालाको तानाशाह शैलीले विदेश जाने बढेको बताउँछिन् । ‘योचाँहि अत्याचार नै गरेउ । थुक्क मेरो देशको सरकार । एक पेट खानुको लागि केही गर्छु भनेर गर्दा त दिँदैन अनि हामी विदेश नगएर के गर्नु ?’,उनले गुनासो पोखेकी छन् । केही समयअघि महानगर प्रहरीले थर्मसमा चिया बेच्दै हिँडेकी एक महिलाको हात भाँचिदिएको थियो ।

टिप्पणीहरू